वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा कम्तिमा एक लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले अबको दुई हप्ता निकै जोखिमपूर्ण र कठिन हुने भन्दै सबै अमेरिकीलाई अनिवार्य रुपमा सामाजिक दूरी कायम गर्न अपिल गरेका छन् ।
शीर्ष स्वास्थ्य विज्ञले दिएको सल्लाह अनुसार कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सावधानी अपनाउन उनले आग्रह गरेका हुन् । यसअघि कोरोना भाइरस मात्रै फ्लू रहेको र यसलाई छलको शंज्ञा दिएका ट्रम्प अहिले आएर कोरोना भाइरसबाट ‘त्रसिए’ को देखिएको छ । उनले केही दिनअघिसम्म अमेरिकी जनजीवन सामान्य अवस्थामा चाँडै फर्किने बताएका थिए । तर अहिले उनी सामाजिक दूरी कायम गर्ने पक्षमा लागेका छन् ।
‘अबको ३० दिन अमेरिकीले सुझाइएका सबै नियमहरु पालना गर्नु आवश्यक छ । यो जीवन र मृत्युको कुरा हो । अबको दुई हप्ता अति पीडादायी हुनेछ,’ उनले चेतावनी दिँदै भने, ‘हामी सबै अमेरिकी कठीन दिनका लागि तयार हुन् भन्ने चाहन्छौँ ।’ ह्वाइट हाउसका कोरोना भाइरस कोअडिनेटर डेबोराह बक्सले पत्रकार सम्मेलनमा कोरोना भाइरसका कारण अमेरिकामा अबको दुई हप्तामा हुनसक्ने मृत्युको संख्या आँकलन गरिएको विश्लेषणात्मक तथ्यांक प्रस्तुत गरेका थिए ।
जसमा अमेरिकामा अबको दुई हप्तामा अमेरिकामा एकदेखि दुई लाख मानिसको कोरोना भाइरसका कारण मृत्यु हुने चेतावनी दिइएको छ ।.कुनै पनि सावधानी नअपनाइएमा २२ लाख मानिसको ज्यान जाने जोखिम रहेको ट्रम्पले बताए । त्यसो त कोरोना भाइरसको संक्रमणले अमेरिकामा थप गति लिएको छ । नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट हुने मृत्यु पनि लगातार बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको हालको इपिसेन्टर अमेरिकामा नयाँ संक्रमण तथा मृत्युले मंगलबार नयाँ उचाई लिएपछि चिन्ता थप सघन बनेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ८६७ पुगेको छ । अमेरिका मृत्यु हुनेको संख्यामा पनि चीनभन्दा अघि लागेको छ । यस्तै थप २३ हजार ९४१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ८७ हजार ७२९ पुगेको छ । इटाली र इटालीमा क्रमशः थप ८३७ र ७४८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या क्रमशः १२ हजार ४२८ र ८ हजार ४६४ पुगेको छ ।
इटालीमा एक लाख पाँच हजार ७९२ तथा स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा भने नयाँ संक्रमित तथा मृत्यु हुने थपिएका छैनन् । चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५१८ तथा मृत्यु हुनेको संख्या ३३ सय पाँच रहेको छ । विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म ४२ जहार ११४ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८ लाख ५७ हजार २९९ रहेको छ ।
अहिलेसम्म एक लाख ७७ हजार १४१ जना निको भएर घर फर्किएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कोरोना भाइरस संक्रमणलाई पहिलो पटक अति गम्भीर रुपमा लिएको देखियो । उनले कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा उनले अमेरिकामा एक लाखदेखि दुई लाख मानिसको मृत्यु हुने चेतावनी दिएका छन् । विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार हजार ३४१ जनाको मृत्यु भएको छ । यस्तै ७२ हजार ५६१ संक्रमित थपिएका छन् ।
सत्यपाटी ।