काठमाडौं । गत डिसेम्बर अन्तिममा चीनको हुवेइ प्रान्तको वुहानबाट आउटब्रेक भएको कोभिड–१९ को संक्रमणबाट विश्व प्रभावित भइसको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म २०३ देश÷क्षेत्र÷भुगोलमा कोभिड–१९ को संक्रमण फेला परेको छ । विश्वभर फैलिएको कोभिड–१९ को संक्रमणपछि विश्व स्वास्थ्य संगठनले कोरोनालाई मार्च ११ मा पाण्डेमिकको रुपमा घोषणा र्गयो ।
त्यस्तै संगठनले कोभिड–१९ विश्वव्यापि विस्तार हुँदै गर्दा जनवरी ३० मा अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको थियो । यति हुँदाहुँदै पनि युरोप र अमेरिकासहित विश्वका अन्य देशहरुले यसप्रति सर्तकर्ता देखाएनन् । मार्चको पहिलो हप्तासम्म चीन र चीनका आसपास देखिइरहेको कोभिड–१९ मार्चको दोस्रो हप्ता पुग्दा नपुग्दै युरोप र अमेरिकामा महामारीका रुपमा फैलिन थाल्यो ।
योसँगै विश्व स्वास्थ्य संगठन डब्लएचओले पाण्डेमिकको रुपमा घोषणा गर्यो । विभिन्न चरण पार गर्दै कोभिड–१९ ले पाण्डेमिकको रुप धारण गर्दैगर्दा विश्व नै प्रभावित बनिरहेको छ । सोमवार बिहानसम्म सात लाख २२ हजार बढी मानिसमा कोभिड–१९ को संक्रमण पुष्टि भएको जोन हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टमस् साइन्स एण्ड इन्जिनियरिङको डाटावेसमा उल्लेख छ ।
यो अवधिमा अमेरिकामा एक लाख ४२ हजार बढीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । इटालीमा ९७ हजार ६८९ संक्रमित छन् । त्यस्तै चीनमा ८२ हजार जना संक्रमित भएका छन् । स्पेनले पछ्याउँदै ८० हजार बढी संक्रमितको रेकर्डमा छ । जर्मनी ६२ हजार बढी र फ्रान्समा झण्डै ४१ हजारको हाराहारीमा हुँदा इरानमा ३८ हाजार संक्रमण पुष्टि भएका छन् । चीन पछि महामारी देखिन थालेको दक्षिण कोरियाले संक्रमणलाई ९ हजार ७०० को हाराहारीमा नै रोकेको छ ।
अमेरिकामा दुई हजार ५०६ जनाले ज्यान गुमाइसकेका छन् । इटालीमा मात्र १० हजार ७७९ जनाको मृत्यु भइसकेको छ जुन चीनको भन्दा तीन गुणा बढी हो । चीनमा तीन हजार ३०८ जनाको मृत्यु भएको छ । स्पेनमा ६ हजार ८०० तीन जनाको मृत्यु भइसकेको छ । जुन चीनमा भन्दा दुई गुणा बढी हो । दक्षिण कोरियामा जम्मा १५८ जनाको मृत्यु भएको छ । एक हजार ८६६ जना संक्रमित भएको जापानमा जम्मा ५४ जनाको मृत्यु भएको छ ।
कोभिड–१९ को ट्रान्समिसनका चरण
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमण ट्रान्समिसनका चारवटा चरणलाई उल्लेख गरेको छ । संक्रमणको ट्रान्समिसन प्याटर्नलाई हरेर सोही अनुरुप राष्ट्रिय तथा स्थानीयस्तरमा तयारी गर्न विश्व स्वास्थ्य संगठनले भनेको छ ।
यी हुन चार चरण
१. ‘नो केस’ – यस चरणमा देश वा क्षेत्रमा कुनै पनि केस पुष्टि नभएको अवस्थालाई जनाउँछ ।
२. स्पोराडिक केस ‘छिटपुट घटना’ – यो चरणमा एक वा एकभन्दा बढी केसहरु जुन ‘इम्पोर्टेड’ वा स्थानीय स्तरमा पत्ता लागेका हुन्छ । विशेष गरी संक्रमित क्षेत्रबाट फर्किएका व्यक्तिहरुमा पुष्टि भएसँगै त्यस्तो क्षेत्रलाई विश्व स्वास्थ्य संगठनले स्पोराडिक केसमा वर्गीकरण गरेको छ ।
३. क्लस्टर केस (समूहगत घटना) – त्यस्ता देश तथा क्षेत्र जहाँ केसहरु समूहगत रुपमा देखिँदै छन् र भुगोलमा एकसाथ एकै प्रकारले देखिँदै छ भने त्यस्तो क्षेत्रलाई डब्लुएचओले क्लस्टर केसमा राखेको छ ।
४. कम्युनिटी ट्रान्समिसन – यस्तो अवस्था महामारीको रुप हो । यस्तो क्षेत्रमा अधिकमात्रामा संक्रमितको संख्या स्थानीय रुपमा फैलिँदै जानु हो । संक्रमणको ट्रान्समिसन चेन पनि जोडिएका हुँदैन । त्यस्तै, ल्याव परीक्षणबाटै मात्र संक्रमित पुष्टि हुन सक्छ, लागेको शंका पनि हुँदैन । असम्बन्धित समूहगत केसहरु विभिन्न क्षेत्रमा फैलिन्छन् ।
नेपाल कुन चरणमा त ?
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ९१७ जनाको नमुना परीक्षण गरिएको छ अहिलेसम्म । जसमध्ये ९१२ नेगेटिभ केस भेटिए । पाँच जनामा पोजेटिभ टेस्ट भएको छ । जसमध्ये एक जना निको भएर फर्किएका छन् । चीनको वुहानबाट नेपाल आएका एकजना गत माघमा नै कोभिड–१९ को पहिलो संक्रमण देखिएको थियो । त्यसपछिको चैतमा आएर चारवटा कोभिड–१९ का संक्रमण देखिए । फ्रान्सबाट फर्किएकी एक किशोरीमा दोस्रो केस देखियो ।
त्यस्तै खाडी मुलुकबाट फर्किएका दुई युवामा पनि कोभिड–१९ संक्रमण फेला र्पयो । त्यस्तै, दोस्रो केस देखिएको युवतीसँग एउटै विमानमा फर्किएकी बाग्लुङकी एक किशोरीमा पनि कोभिड–१९ को संक्रमण देखियो । उनी बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्युआर ६५२ मा नेपाल आइपुगेकी थिइन् । यस आधारमा नेपाल ट्रान्समिसनको दोस्रो चरण ’स्पोराडिक केस’मा छ । अहिलेसम्म नेपालमा स्थानीय संक्रमण देखिएको छैन ।
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ रोकथामका लागि स्ट्राटेजिक प्रिपियर्डनेस एण्ड रेस्पोन्स प्लान तयार पारेको छ । संक्रमण पहिचान र नियन्त्रणलाई विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेको छ । संक्रमण सर्भिलेन्सका लागि केसहरुलाई विश्वस्वास्थ्य संगठनले परिभाषित गरेको छ । चार वर्गमा विभाजन गरेर डब्लएचओले केसहरुलाई परिभाषित गरेको छ ।
शंकास्पद केस
विश्व स्वास्थ्य संगठनले शंकास्पद केसलाई पनि तीन वर्गमा विभाजन गरेको छ । पहिलो शंका श्वासप्रस्वास सम्बन्धी समस्यालाई राखेको छ । रुघा खोकी र ट्राभल हिस्ट्री अथवा कोभिड–१९ प्रभावित क्षेत्रमा पछिल्लो १४ दिनमा गए नगएको हेरेर शंकास्पद केसलाई पहिलो चरणमा राखिएको छ ।
त्यस्तै, शंकास्पद केसको दोस्रो भनेको स्वासप्रस्वास सम्बन्धी गम्भीर रोग देखिएमा र कोभिड–१९ को संक्रमण कन्फर्म भएका विरामीसँग सम्पर्कमा गएका व्यक्तिलाई यो चरणमा राखिएको छ । त्यस्तै, तेस्रो वर्ग हो श्वास प्रस्वास सम्बन्धी समस्या भएका र स्वास्थ्य परीक्षण भइ रोग पत्ता नलागेका व्यक्तिलाई यो समूहमा राखिएको छ ।
सम्भावित केस
कोभिड–१९ को परीक्षण शंकास्पद देखिएका वा यसको परीक्षण कुनै कारणले परीक्षण गर्न नसकिएका केसलाई सम्भावित केसका रुपमा राखिएका छन् । उदाहरणका लागि नेपालमा अहिले लकडाउन गरिएको छ । उपत्यका बाहिर रहेका केसहरुको स्वास्थ्य परीक्षण गर्न समस्या हुँदै आएको छ । यस्तो अवस्थामा ती केसहरु सम्भावित केसहरु हुन् ।
पुष्टि भएका केस
प्रयोगशालाबाट कोभिड–१९ को संक्रमण पुष्टि भएकाहरु यस केसमा पर्छन् ।
सम्पर्क
यस्तो केसमा कुनै पनि व्यक्ति सम्भावित संक्रमित वा पुष्टि भएका संक्रमितहरुसँग सम्पर्कमा रहेका व्यक्ति पर्छन् । उनीहरु प्रत्यक्षरुपमा एक मिटरभन्दा कमको दुरीमा १५ मिनेटभन्दा बढी निकट रहेका थिए भने त्यस्तोम उनीहरु यस वर्गमा पर्छन् । उनीहरुलाई लक्षण नदेखिए पनि यस समूहमा राखेर अध्ययन गर्न आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनले केसका आधार र ट्रान्समिसनका चरणका आधारमा परीक्षण गर्दै रणनीति तयार गरेर नियन्त्रण रोकथामको काम गर्न भनेको छ ।
कसरी नियन्त्रण गर्ने ?
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ रोकथामका लागि भनेको छ, ‘परीक्षण, परीक्षण र परीक्षण’ । हाल युरोप र अमेरिकाका अधिकांश मुलुकहरुमा ट्रान्समिसनको अन्तिम चरण छन् । हामी दोस्रो चरणमा छौं । भारतमा पनि तेस्रो चरणमा पुगेको छ । संख्याका आधारमा जापान र दक्षिण कोरिया पनि तेस्रो चरणमा छन् ।
युरोपेली मुलुकहरु र अमेरिकामा भन्दा पहिला दक्षिण कोरिया र जापान दोस्रो र तेस्रो चरणमा अगाडि पुगेका हुन् । उनीहरुले यसलाई नियन्त्रण गरे । क्लस्टर चरणमा पुगेको ट्रान्समिसनलाई दक्षिण कोरियाले ट्रेसिङ र ट्र्या्किङ गर्दै सामाजिक दुरीको नीति सहित परीक्षणलाई तीब्र रुपमा अगाडि बढायो । सोमवारसम्म दक्षिण कोरियमा नयाँ केसहरु कम भए पनि क्लस्टर र इम्पोर्टेड केसहरु देखिएका छन् ।
आइतवार दक्षिण कोरियामा ७६ केस देखा परे जुन अघिल्लो दिन १०५ थियो । यससँगै दक्षिण कोरियामा नौ हजार ६६६ पुगेको छ । यो लगातार १८ औं दिन हो यहाँ नयाँ संक्रमण एक सयको आसपास छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ विरुद्ध ‘असहिषुण’ नीतिका साथ अगाडि नियन्त्रण अभियानलाई अगाडि बढाएका छन् ।
दुई सातासम्मको सेल्फ आइसोलेसनलाई बाध्यकारी बनाइएको छ । उल्लंघन गर्नेलाई कारवाही गरिएको छ । इम्पोर्टेड केसहरु बढ्दै जाँदा कोरियाले सरकारले तोकेको स्थानमा कोरिया प्रवेश गर्नेलाई क्वारेन्टाइनमा राखेको छ । यहाँ पाँच हजार २२८ संक्रमितको उपचार पछि निको भएका छन् । अझै चार हजार २७५ जना उपचारकै क्रममा छन् ।
दक्षिण कोरियामा गत जनवरी ३ बाट तीन लाख ९५ हजार १९४ जनाको परीक्षण भएको छ । दक्षिण कोरियामा पहिलो पटक जनवरी २० मा संक्रमण देखिएको थियो । उस्तै समयमा नेपालमा पनि कोभिड–१९ को पहिलो केस देखापरेको हो । तर, नेपालले यसबीच परीक्षणलाई हजारमा पुर्याउन सकिरहेको छैन । न त कोरियाले जस्तै नियन्त्रणको अभियानलाई अगाडि बढाउन सक्यो ।
‘स्पोराडिक केस’ (इम्पोर्टेड केस)हरु देखिँदै गर्दा नेपालले सम्भावित संक्रमितहरुलाई अनिवार्य आइसोलेसनमा राख्नुपर्ने हो । तर, पनि सम्भावित केसहरुलाई ट्रेसिङ गर्नमा नै नेपालले विलम्व गरिरहेको छ । संक्रमितहरु नेपाल प्रवेश गर्दा प्रयोग गरेका विमानका यात्रुहरुको ट्रेसिङ गर्दै आइसोलेसनमा राख्नुपर्नेमा त्यस्तो गरिएको छैन । यसले नेपाललाई ट्रान्समिसनको तेस्रो चरण क्लस्टर चरणमा पुर्याउँदैछ ।
यस्तै भारतमा पनि भएको हो । पछिल्लो पटक इम्पोर्टेड केससँग सम्बन्ध नभएका सम्पर्कमा नगएकामा पनि कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै क्लस्टर ट्रान्समिसनको चरणमा प्रवेश गर्दै गएको बताइएको छ । सुरुवातमै यसलाई नियन्त्रण गर्न तदारुकता नदेखाउँदा भारतमा क्लस्टर ट्रान्समिसनदेखि ‘कम्युनिटी’ ट्रान्समिसनको सम्भावना बढ्दै गएको छ । यस्तोमा नेपालले नजिकैको उदाहरण हेरेर सतर्कता अपनाउन जरुरी छ ।
सत्यपाटी ।