सूचनाको शक्ति - The Power Of Information

        

गैससको आडमा ‘लकडाउन’ उल्लङ्घन, प्रहरीमाथि दुर्व्यवहार

बाँके । सुशासन र पारदर्शीताका क्षेत्रमा काम गर्ने बागेश्वरी असल शासन क्लब (बास) नामक गैरसरकारी संस्थाको आडमा यसका अध्यक्ष रमेश सिटौलाले सुरक्षामा खटिएका प्रहरीलाई नै गालीगलौज गरी दुर्व्यवहारको प्रयास गरेको खुलेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले नेपालगन्जसहित देशभर लकडाउन घोषणा गरेको अवस्थामा सरकारको नीति र निर्णय नै अटेर गरी दादागिरी पारामा सडकमा उत्रिएका सिटौलालाई प्रहरीले घरभित्र बस्न भनेपछि उनले उल्टै प्रहरीलाई ‘त को होस् मलाई घर जाँ भन्ने’ भन्दै दुर्व्यवहार गरेका थिए ।

पटकपटक प्रहरीले सम्झाउदा समेत अटेरी गरि ‘म बासको अध्यक्ष हो मलाई चिनेको छस् के गर्छस् तैले । मैले चाहे भने तलाई जे नि गर्न सक्छुजस्ता शब्द बोलेर प्रहरीमाथि नै जाइलागेपछि सुरक्षामा खटिएको उक्त प्रहरीले उनलाई लाठी हानेको प्रत्यक्षदर्शीले बताएका छन् । ती प्रत्यक्षदर्शीका अनुसार उक्त घटनामा प्रहरीको कुनै दोष देखिँदैन ।

बास नामक गैससको निहुँमा सिटौलाले सरकारको लकडाउन र बाँके प्रशासनको जनता कफ्र्यू उल्लघन गरेको र प्रहरीमाथि नै गलत आरोप लगाएको बाँके प्रहरीले बताएको छ । आइतबार बेलुका ६ बजे नर्सिङ नजिक लकडाउन उल्लघन गरी सडकमा भेटिएका सिटौलालाई प्रहरीले किन तपाई यहाँ आएको हो ? पास कार्ड छ ? भनेर सोधेको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रहरीले यसरी सोध्दा सिटौलाले उल्टै प्रहरीलाई गाली गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरी बस्नेतले बताए । व्यक्तिगत सुरक्षाबिनानै नागरिकको सेवामा हामी प्रहरी अहोरात्र खटिनुपर्ने अवस्था भएकोले देशमा ठुलो महामारी हुन न दिन प्रहरी र नागरिकले नियमको पालाना गर्नु ठूलो शक्ति हुने वडा प्रहरी निरीक्षक बस्नेतले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार ११:४०