सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर : इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

कोरोना भाइरसको विश्वव्यापी महामारीले सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका अधिकांश देशमा फैलिएको छ । यसमध्ये इटाली कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित देश हो । यहाँ धेरैको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएपछि इटालीमा मृत्यु हुनेको कुल आँकडा १० हजार भन्दा माथि गएको हो । अहिलेसम्म कुल १० हजार २३ जनाको इटालीमा कोभिड–१९ का कारण मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश उत्तरी क्षेत्र लोम्बार्दीका छन् । लोम्बार्दीसहितका इटालीको उत्तरी क्षेत्रमा संक्रमण भयावह रुपमा फैलिएको छ । यस्तै देशको दक्षिणी क्षेत्रमा पनि यो बिस्तार हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

इटालीमा संक्रमितको संख्या अमेरिकामा भन्दा कम छ । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार भन्दा बढी पुगेको छ र मृत्यु हुनेको संख्या २२ सय भन्दा बढी छ । भाइरसको सुरुवात भएको चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४३९ तथा मृत्यु हुनेको संख्या ३३ सय पुगेको छ । युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ ।

संक्रमित तथा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढी रहेको छ । स्पेनमा पाँच हजार ९८२ जनाको ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७३ हजार २३५ रहेको छ । विश्वभर अहिलेसम्म ६ लाख ६२ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये मृत्यु हुनेको संख्या ३० हजार ८४७ रहेको छ । अहिलेसम्म एक लाख ४१ हजार ९५१ जना निको भएर घर फर्किएका छन् ।

बेलायतमा एक हजारको ज्यान गयो

बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप २६० जनाको मृत्यु भएसँगै बेलायतमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या एक हजार १९ पुगेको हो । बेलायतमा संक्रमतिको संख्या १७ हजार ८९ मात्रै छ । तर ज्यान गुमाउनेको संख्या भने हजारबाट उकालो लागेको हो ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण एक हजार भन्दा बढी मानिसको मृत्यु हुने देशको संख्या सात पुगेको छ । सबैभन्दा धेरै इटालीमा १० हजार २३ जनाको ज्यान गएको छ । यस्तै स्पेनमा पाँच हजार ९८२, चीनमा ३३ सय, इरानमा २५ सय १७, फ्रान्समा २३ सय १४ तथा अमेरिकामा २२ सय ११ जनाको अहिलेसम्म मृत्यु भएको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या दुई दिनमा दोब्बर

अमेरिकामा कोरोना भाइरसका कारण हुने कोभिडि–१९ बाट ज्यान गुमाउनेको संख्या पछिल्लो दुई दिनमै दोब्बर भएको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण दुई हजार २११ जनाको मृत्यु भएको छ । शनिबार बेलुका अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्याले दुई हजारको आँकडा पार गरेको हो ।

अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि भएदेखि मृत्यु हुनेको संख्या एक हजार पुग्न एक महिना लागेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै वासिङ्गटन पोस्टले उल्लेख गरेको छ । तर पछिल्लो दुई दिनमै ज्यान गुमाउनेको संख्या दोब्बर भन्दा बढीले बढेको हो । पछिल्लो केही दिनयता अमेरिकामा संक्रमण दर अत्याधिक तीव्र गतिमा बढेको छ र मृत्यु हुनेको संख्या पनि लगातार बढ्ने क्रम जारी छ ।

स्वास्थ्य अधिकारीले यो भन्दा खराब अवस्था आउन बाँकी नै रहेको भन्दै चेतावनी दिएका छन् । विश्वव्यापी महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास भएको अमेरिकामा पछिल्लो २४ घण्टामा संक्रमितको संख्या १९ हजारभन्दा बढीले थपिएपछि कुल संक्रमितको संख्या अमेरिकामा एक लाख २३ हजार ३५१ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी प्रभावित भएको न्यूर्योकमा मात्रै ५२ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा पाँच सय १५ जना भन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गएको छ । हरेक दिन अमेरिकामा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

न्यूजिल्याण्डमा एकजनाको मृत्यु

न्यूजिल्याण्डमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । न्यूजिल्याण्डमा आइतबार नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट पहिलो व्यक्तिको ज्यान गएको हो । कोभिड–१९ का कारण मृत्यु हुने न्यूजिल्याण्डको पहिलो व्यक्ति ७० वर्ष पुगेकी महिला रहेको न्यूजिल्याण्ड हेराल्र्डले जनाएको छ ।

उनको ग्रेमथ हस्पिटलमा ज्यान गएको हो । गएको शुक्रबार बिहान ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान निधन भएको हो । प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोभिड–१९ का कारण भएको ती महिलाको मृत्युले मर्माहत बनाएको बताएकी छन् ।

न्यूजिल्याण्ड अहिले सेल्फ आइसोलेसनमा छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप पूरै देश आइसोलेसनमा गएको हो । कोरोना भाइरसविरुद्धको युद्ध जारी रहेको बताउँदै प्रधानमन्त्री ज्यासिन्डाले सबै नागरिकलाई घरभित्रै बस्न आग्रह गरेकी छन् । न्यूजिल्याण्डमा अहिलेसम्म ५१४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतवार ०७:५६