बाँके । शनिबार विहान ११ बजे नेपालगन्जमा चलेको तीब्र हावाका कारण नेपाल बायु सेवा निगमको राष्ट्रिय ध्वजाबाहक जहाज दुर्घटना भएको छ । काठमाडौंबाट नेपालगन्जका लागि उडेको राष्ट्रिय ध्वजाबाहक जहाज नेपालगन्ज जहाजस्थलमा दुर्घटनामा भएको जहाजस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
कल साइन ९ एन एकेयू भएको टुवीनअटर जहाज नेपालगन्ज जहाजस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको उनले जानकारी दिए । उनकाअनुसार जहाज विहान ११ः३५ बजे धावन मार्गबाट चिप्लिएर ७३ मिटर दक्षिणतर्फको झाडीमा पुगेको छ । उक्त जहाज कोरोना आशंकित विरामीहरुको स्वाब लिनका लागि नेपालगन्ज आएको थियो ।
दुर्घटनामा मानवीय क्षति भएको छैन् । जहाजमा भने सामानय क्षति पुगेको ठाकुर बताउँछन् । उनकाअनुसार जहाजमा चालक दलका तीन सदस्य र दुई डाक्टर गरी पाँच जना सवार थिए । जहाजमा पाइलट केबी लिम्बु, को–पाइलट महेश पाण्डे, एयरहोस्टेस किरण आचार्य, डाक्टर प्रवेश पन्त र डा.सन्देश देवकोटा रहेको उनले जानकारी दिए । उनकाअनुसार जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट घस्रिएर घाँसे मैदानमा पुगेको थियो ।
जहाजभित्र रहेका सवैको उद्दार गरिएको र सबै सकुशल रहेका छन् । जहाज अवतरणका क्रममा धावनमार्ग नजिकै पुग्ने बेला आकाशमै अनियन्त्रितजस्तो देखिएको स्थानीयहरुले बताए । जहाज दुर्घटना भएकाले भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेजमा संकलन गरिएको स्वाब पनि कोरोना चेकजाँचका लागि अब काठमाडौं समस्या हुने देखिएको छ ।
नेपाल लकडाउनका कारण जहाज र यातायात सवै बन्द भएकाले नेपाल सरकारको निर्णय अनुसार कोरोना आशंकित विरामीहरुको स्वाब लिन नेपाल एयरलाइन्सको नेपालगन्ज आएको थियो । जहाजले मेडिकल सामग्री ल्याएर आएको थियो । ती सामग्री पनि सुरक्षित नै रहेका छन् । जहाज दुर्घटना परेपछि नेपालगन्जमा रहेको कोरोना आशंकितहरुको स्वाब काठमाडौं लैजान समस्या भएको अस्पतालहरूले बताएका छन् । तर, नेपाल नागरिक उडड्यन प्राधिकरणले नेपालगन्जमा रहेको कोरोना आशंकितहरूको स्वाब काठमाडौं लैजान अर्को व्यवस्था गर्ने बताएको छ ।
यसैबीच, जहाज दुर्घटनाको समाचार संकलनका क्रममा जहाजस्थल पुगेका बाँकेका पत्रकारलाई जहाजस्थलमा रहेका प्रहरीले घटनास्थलमा प्रवेशमा रोक लगाएका थिए । समाचार संकलन र फोटो खिच्न समेत जान नदिएपछि पत्रकारले सूचना संकलनमा प्रहरीले अवरोध गरेको गुनासो गरेका छन् । दुर्घटनास्थलमा पुगेर फोटो खिच्न दिनुपर्ने पत्रकारहरूले माग गर्दा त्यहाँ रहेका प्रहरी र विमानस्थलका प्रमुख ठाकुरले पत्रकारमाथि दुर्व्यवहारको प्रयाससमेत गरेका थिए ।
विमानस्थलका प्रमुख ठाकुरले पत्रकारसँग झण्डै १५ मिनेट बाझबाझ गर्दै समाचार संकलनमा रोक लगाउने प्रयो गरेका थिए । अन्नतः बाँकेका प्रहरी प्रमुख बीबहादुर ओली र बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्कासँग नेपाल पत्रकार महासंघका सहसचिव काशीराम शर्मा र सद्भाव दैनिकका कार्यकारी सम्पादक कमल न्यौपानेले समाचार संकलनको वातावरण बनाइदिन आग्रह गरेपछि विमानस्थलको मुख्यद्धारबाट जहाज दुर्घटना भएको स्थलसम्म पुग्न पत्रकारलाई घटनास्थलसम्म जान दिइएको थियो ।
सत्यपाटी ।