सूचनाको शक्ति - The Power Of Information

        

दुई विश्वयुद्ध झेलेका इटलीका १०१ वर्षका वृद्धले कोरोनालाई हराए

एजेन्सी । संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणको त्रासबीच इटलीबाट आशाको खबर पनि आएको छ । यहाँको रेमिनी शहरमा १०१ वर्षका वृद्धले कोरोना भाइरससँगको युद्धमा जीत हासिल गरेका छन् । संक्रमित भएपछि पूर्णरुपमा ठिक हुने उनी संसारकै उमेरदार पुरुष हुन् ।

विभिन्न रिपोर्टमा सार्वजनिक भए अनुसार यी वृद्धले दुई पटक विश्वयुद्धको सामना पनि गरिसकेका छन् । यद्यपि, वृद्धको नाम भने गोप्य राखिएको छ तर मानिसहरुले उनलाई मिस्टर पी भनिरहेका छन् । रिपोर्टका अनुसार मिस्टर पीमा गत हप्ता कोरोना संक्रमण देखिएपछि इन्फर्म अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि मिस्टर पीकी आमा स्पेनिश फ्लूबाट संक्रमित भएपछि बचेकी थिइन् । स्रोतका अनुसार मिस्टर पीकी आमा सन् १९१८ मा स्पेनिश फ्लूबाट संक्रमित भएपछि निको भएकी थिइन् । स्पेनिश फ्लूले इटलीमा करिब ६ लाख व्यक्तिको ज्यान लिएको थियो । त्यसपछि सन् १९१९ मा मिस्टर पीको जन्म भएको थियो । शिन्ह्वा न्यूज एजेन्सीका अनुसार बुधबार उनको परिवारले उनलाई घर ल्याएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार ०८:१२