सूचनाको शक्ति - The Power Of Information

        

सिडियोकै निर्देशनमा बाँकेमा ‘लकडाउन’ तोडियो, जोखिममा प्रहरी (फोटोफिचर)

बाँके । कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले मुलुकलाई नै ‘लकडाउन’ गरिरहेका बेला बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडियो) कुमारबहादुर खड्काले ‘लकडाउन’कै खिलाफ गरेका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बाँकेमा अघोषितरुपमा ‘लकडाउन’ हटाएर सिडियो खड्काले ‘लकडाउन’ हटाउनु राम्रै भएको प्रक्रिक्रिया दिएका छन् ।

‘नेपालगन्जमा ‘लकडाउन’ हट्दा राम्रै भयो,’ प्रजिअ खड्काले भने, ‘बाँकेका बासिन्दालाई चिन्ता छैन, मैले के गर्ने ?’ उनको यो अभिव्यक्तिले बाँकेबासी थप आक्रोशित भएका छन् । सिडियो खड्काले दिएको अभिव्यक्तिले बाँकेमा कोरोना संक्रमण भए पनि बेवास्ता हुने निश्चित छ । यसको जिम्मेवार सिडियो नै बन्नुपर्ने बाकेबासीको आक्रोश छ ।

माथिको आदेश आउनुपर्छ भन्दै जिम्मेवारीबाट पन्छिने सिडियो खड्काकै कारण बाँकेमा कोरोना संक्रमणको जोखिम उच्च रहेको बाँकेबासीहरुको भनाई छ । नेपालगन्जका एक जना स्थानीयले भने, ‘सिडियोकै कारण कोरोना भाइरस बाँकेमा भित्रिने भयो । बाँकेमा कोरोना संक्रमण फैलिएपछि यसको जिम्मेवारी सिडियोले लिनुपर्छ ।’

यद्यपी सिडियो खड्काको आदेश विपरित बाँके प्रहरीले कोरोना भाइरसको संक्रमण रोक्न आफ्नो बलबुताले काम गरिरहेको छ । प्रहरीले चेकजाँचमा कडाई गरेको छ । घर बाहिर ननिस्किन नेपालगन्जबासीलाई आग्रह गरिरहेको छ । ‘जिल्लाकै सरकार प्रमूख भनेर चिनिने सिडियो भने मस्त निन्द्रामा छन्,’ एक जना नेपालगन्जबासीले भने ।

बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीका अनुसार प्रहरीले माथिल्लो निर्देशन कुरेको छैन । ‘यतिबेला हरसम्भव भएका स्रोत साधनलाई प्रयोग गरेर काम गरिरहेका छौं । प्रहरीले कोरोना भाइरसको संक्रमण हुन नदिन हरसम्भव प्रयास गरिरहेको छ । स्वास्थ्य सुरक्षाबिनै प्रहरीले जोखिममा काम गरिरहेको छ,’ ओलीले भने ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार २१:००