सूचनाको शक्ति - The Power Of Information

        

कोरोना आशंकित दुई जना क्वारेन्टाइनमा

बाँके । नेपालमा कोरोना संक्रमित भेटिएकी किशोरीसँगै हवाई यात्रा गरेका बाँकेका दुई जना युवालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा पुर्‍याइएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया ती किशोरीसँगै आएका चार जनाको प्रहरीले पहिचान गरेपछि दुई जनालाई क्यारेन्टाइनमा ल्याइएको हो ।

किशोरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि सोही उडानमा रहेका बाँकेका चार जनाको खोजी गर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएलगत्तै दुई जनालाई फेला पारेर क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीले जनाएको छ । ‘एक जना नेपालगन्ज आउने बित्तिकै भारत पसेको बुझिएको छ,’ बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले भने ।

जयसपुर नजिकै पहिचान भएका ती युवालाई खोज्दै पुगेको प्रहरी खाली हात फर्किएको छ । १५८ मध्ये जानकी गाउँपालिका–३ साई गाउँका एक युवा र बैजनाथ वनकटवाका अर्का एक जनालाई प्रहरीले एम्बुलेन्समा हालेर नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो । दुबै जना कतारमा मजदुरी गर्दै आएको बुझिएको छ ।

त्यससँगै क्याम्पस क्वारेन्टाइनलाई आवश्यक पूर्वाधार थप्न लागिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलका अधिकारीहरु त्यसका लागि स्थानीय सरकारको सहयोगमा जुटेका छन् । पूर्वाधार अभावमा क्वारेन्टाइन बस्न नमानेपछि चिकित्सकसहितको क्वारेन्टाइन पूर्वाधार बनाउन लागिएको बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार १९:१७