सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जलाई सेनिटाइज गर्ने पूर्वमन्त्री राईको अभियान

बाँके । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन यहाँस्थित नेपाल–भारत जमुनाह नाकाबाट किटनाशक औषधि छर्केर नेपालगन्ज सहरलाई सेनिटाइज गर्ने कार्य मंगलबार शुरु गरिएको छ । बाँके क्षेत्र नम्बर २ का सांसद तथा पूर्वसहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नै लगानीमा ट्यांकर मगाएर ट्ंयाकरमा औषधी भरेर नाकामा आफैँ औषधी छर्केर सो कार्यको शुभारम्भ गरे ।

कोरोना संक्रमणको जोखिमबाट नेपालगञ्जबासीलाई सुरक्षित राख्नका लागि सिमानाबाट शुरु गरेर सहरभरि औषधि छर्कनु अतिआवश्यक देखेर आफैँले सो काम शुरु गरेको उनले बताए । भारतबाट मानिसहरु आउने क्रम अझैं पनि जारी रहेकाले सो संक्रमण भित्रिने अत्याधिक जोखिम देखिएपछि सहरलाई नै सेनिटाइज गर्ने कार्य गर्नुपरेको पूर्वमन्त्री राईको भनाइ छ ।

राष्ट्रिय संकटको घडिमा हरेक जनप्रतिनिधिले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै उनले आफ्नो व्यक्तिगत लगानीमा आफूले नगरभरि ८ ट्यांकर औषधि छर्किने जानकारी दिए । नेपालगन्जलाई सेनिटाइज र डिसइन्फेक्टेन्ट गर्ने अभियान अन्तर्गत यसअघि उनले सोमवार नेपालगन्जका विभिन्न अस्पताल, विमानस्थल, वसपार्क र सुरक्षा निकायका कार्यालयमा हाते मेसिनबाट औषधि छर्कन लगाएका थिए ।

६ वटा हाते मेसिन झिकाएर ती मेसिनमा किटनाशक औषधि भरेर छर्किएको र मंगलबार पनि विभिन्न स्थानमा छर्कने कार्य भैरहेको उनले बताए । नेपालगन्जमा अहिले लक डाउन र जनता कफ्र्यू लगाइएका कारण मुख्य सडक र चोक सुनसान रहेकाले औषधी छर्किन सहज भएको छ । नेपाल–भारत सिमानाको जमुनाह नाकादेखि राँझासम्म र पुष्पलाल चोकदेखि न्यूरोड हुँदै सदरलाईन तथा फुलटेक्रा रोडलगायत सहरका सबैजसो सडकमा औषधि छर्किने बताइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १७:१७