सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोना भेटिएपछि चीनले सान्त्वना दिँदै भन्यो, ‘हामी साथमा छौं’

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमित बिरामी भेटिएपछि सबैभन्दा पहिला छिमेकी मित्रराष्ट्र चीनले हतोत्साही नहुन भन्दै सान्त्वना दिएको छ । चीनले नेपाललाई ढाडस दिँदै चीन नेपालकै साथमा रहेको बताएको हो । मंगलबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर नेपाललाई सबैखाले सहायता दिन चीन तयार रहेको बताएकी छन् ।

राजदुत यान्छीले चीनले नेपालका लागि प्रार्थना गरेको र नेपाललाई सहयोग गर्ने चिकित्सा सामग्रीहरू मिलाउँने काम भैरहेको भनेर लेखेकी छन् । ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ,’ राजदूत होउले ट्विटरमा लेखेकी छन् ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै सान्त्वना दिने र सहयोगका लागि प्रतिवद्धता जनाउने चीन पहिलो मित्रराष्ट्र हो । यसअघि पनि चीनले चिनीया दुतावासमार्फत नेपाल सरकारलाई के–के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्टसमेत मागेको थियो ।

केहीदिन अघिमात्र चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग टेलिफोन गरी नेपाललाई कोरोना संक्रमणबाट जोगाउन चीनले आवश्यक जुनसुकै सहायता गर्ने बताएका थिए । कोरोना भाइरस गत डिसेम्बरमा चीनको हुबेई प्रान्तबाट सुरु हुँदा ३ हजार २७७ मानिसको ज्यान गइसकेको छ । तर चीनमा कोरोनाको संक्रमण नियन्त्रणउन्मुख छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १६:०९