सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा लकडाउन, ‘कतै भाकल, कतै मेलापात’

बझाङ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रुपमा घोषित गरिसकेको छ । नेपाल सरकारले यसको संक्रमण हुन नदिन सोमबारदेखि देश नै लकडाउन गरेको छ । बझाङमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको यहाँका निकायले बताइरहँदा बजारमा हुने चहलपहल, सवारीआवागमन, मेलापर्व र भाकल निर्वाधरुपमा भइरहेका छन् ।

बझाङ जिल्ला अन्य जिल्लाभन्दा कोराना संक्रमणको जोखिममा छ । बझाङबासीहरु प्रायः भारतका विभिन्न शहर, खाडी मूलुक र नेपालकै विभिन्न शहरी क्षेत्रमा काम काजका क्रममा पुग्ने गरेका छन् । सरकारले देशभर नै लकडाउन गरेपछि अहिले शहर केन्द्रित रहेका उनीहरु सुरक्षित हुने आशामा जिल्ला फर्किएका छन् । जिल्लाभर २८ स्थानमा हेल्थ डेस्क स्थापना गरिए पनि भिडभाड र जनशक्ति अभावले राम्रोसँग चेकजाँक हुन सकेको छैन ।

यहाँका १२ वटै स्थानीय तहले आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरे पनि बझाङबासी भने अटेरी गर्दै पसल, उद्योग व्यवसाय, सवारीसाधन निर्वाधरुपमा सञ्चालन गरिरहेका छन् । भारत लगायतका ठाउँबाट आएका बझाङबासीले धनगढी र महेन्द्रनगरबाट भरिएका १५ यात्रुबाहक बस मंगलबार मात्रै बझाङ भित्रिएका छन् । बजार क्षेत्रमा मानिसको चहलपहल उतिकै बढिरहेको छ ।

बढी भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुमा उच्च निगरानीसहित सेवा प्रवाह भइरहेको छ । लामो दुरीका सवारीसाधन बन्द गरिएको भए पनि ग्रामीण सडकहरुमा जाने यातायातका साधनहरु भने चलिरहेका छन् । स्थानीय सरकारले नागरिकहरुलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिरहेका छन् ।

जनप्रतिनिधिहरु घरघरमै पुगेर मास्क र सेनेटाइजर वितरण गरिरहेका छन् । ‘कोरोनाको संक्रमण हुन नदिन नागरिकहरु सचेत बनाउन सबै सञ्चारमाध्यमहरुमा जानकारी गराएको जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले बताए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पनि जति सम्झाउ पनि यहाँका स्थानीय नमान्ने र अझैं थाहा नपाएको हुनाले मंगलबार पनि अरु दिनजस्तै सामान्य भएको बताए ।

सुर्मा गाउँपालिकामा महिलाहरुको भाकल

सुर्मागाउँपालिकाले पनि अत्यावश्यकिय कामबाहेकका सबै सेवाहरु चेत २१ गतेसम्मका लागि बन्द गरेको छ । तर पनि सुर्मा गाउँपालिका–२ का महिलाहरु भने कोराना भाइरसलाई आफ्नो गाउँपालिकामा भित्रन नदिन भन्दै संयुक्त रुपमा सुर्मादेवी मन्दिर विभिन्न स्थानीय मन्दिरमा गइ भाकल गरिरहेका छन् । आफूले पटक–पटक भेला, जमघट नहुन आग्रह गरेपनि स्थानीय अटेरी गरिरहेका सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

छबिसमा काँक्रे औंसी

छविसपाथिभेरा गाउँपालिकामा लाग्ने सुदूरपश्चिमको बान्नी मेलाको तयारीका लागि स्थानीय तयार भइ काँकर ल्याउन जङ्गल तर्फ लागेको बताइएको छ । परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मादेवी प्रकट भइ महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । होली पूर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । मष्टा मन्दिरमा काँकर चढाउने प्रचलन रहेकाले काँकर ल्याउन ठूलो संङख्यामा युवाहरु जङ्गलतर्फ लागेका छन् ।

यसरी सरकारले घरबाहिर ननिस्कन आग्रह गरेका बेला छबिसपाथिभेरा गाउँपालिकाले त्यस क्षेत्रका बासिनदालाई किन रोकेन भन्ने हाम्रो प्रश्नमा गाउँपालिकाकी उपाध्यक्ष राधिका रताला जोशीले रोक्न नमिल्ने बताइन् । यो मेलालाई रोक्दा वंश नाश हुने र त्यस क्षेत्रका बासिन्दालाई झन् संकट देखापर्ने उनको तर्क छ । आफ्नो काम परेकाले एक स्थानीयले परापूर्वकालमा मेला अलि पछि सारौं भन्दा ती व्यक्तिको वंश नाश भएको उदाहरण दिँदै उपाध्यक्ष जोशीले मेलालाई रोक्न नमिल्ने बताइन् ।

यता त्यस क्षेत्रकै बासिन्दासमेत रहेका पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य भानुभक्त जोशीले भने मेला नगर्न आफूले आग्रह गर्दा पनि अटेरी गरेको भन्दै दुख व्यक्त गरेका छन् । उनले भने, ‘मैले धार्मिक आस्था हटाउँ भनेको छैन । यस्तो महामारीले संसार नै आक्रान्त बनिरहेका बेला यी मेला नमनाऔं भन्दा मेरो घरकै सदस्यले कुरो सुनेनन् । तर यो मेला सञ्चालन गर्नु उपयुक्त होइन । म दुखका साथ भन्छु देवीदेवता पनि मानिसकै सुख र खुसीका लागि हुन् । जसरी हुन्छ मेला नमनाउन आग्रह गर्दछु ।’ यसअघि यस मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं दर्शनार्थी मेला भर्न आउने गर्थे ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार १४:५६