बाँके । कोरोना संक्रमणको जोखि बढेपछि देशभर उच्च सतर्कता अपनाइएको छ । कतिपय शहरहरु ‘लकडाउन’ गरिएका छन् । शहरमा नागरिकहरुको चहलपहल शुन्यजस्तै बन्दै गएको छ । बाँकेमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले नगर क्षेत्र पूर्णरुपमा ‘लकडाउन’ गरेको छ । ‘लकडाउन’पछि नेपालगन्ज र कोहलपुर क्षेत्रभित्रका सम्पूर्ण पसल, उद्योग ब्यवसाय बन्द गरिएका छन् । नेपालगन्ज र कोहलपुरसँगै बाँकेका अन्य ६ वटा स्थानीय तहमा पनि उच्च सतर्कता अपनाइएको छ ।
जिल्लाका आठ वटै स्थानीय तहले नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिरहेका छन् । स्थानीय सरकारको आग्रह अनुसार अधिकांश बाँकेबासी ‘होम क्वारेन्टाइन’मा बसेका छन् । भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवाहरु बन्द गरेका छन् ।
मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुमा उच्च निगरानीसहित सेवा प्रवाह भइरहेको छ । लामो दुरीका सवारीसाधन बन्द गरिएको छ । स्थानीय सरकारले नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिरहेका बेला भारतबाट आउने नेपाली नागरिक चुनौतिका रुपमा देखिएका छन् ।
भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पनमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ । महेन्द्र बहुमुखी क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित नगर बसहरुले भारतबाट आउने नेपालीलाई जमुनाहा नाकाबाट ओसारेका थिए ।
क्वारेन्टाइनमा पर्याइएकाहरु भाग्न थालेपछि बाँकेबासी निकै त्रसित बनेका छन् भने कोरोना संक्रमणको जोखिम उच्चरुपमा बढेको छ । तर, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का भने कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गैरजिम्मेवार बनेका छन् । उनले स्थानीय प्रशासनको जिम्मेवारीमाथि प्रश्न खडा गरेका छन् ।
सोमबार भारतबाट आएका नेपाली क्वारेन्टाइनबाट भागेको सत्यलाई अस्वीकार गरेर गैरजिम्मेवार बनेका हुन् । उनले भनेका छन्, ‘हामीले क्वारेन्टाइनमा राखेका नेपाली हाम्रो रेकर्डमा छन् । सबै सुरक्षित छन् । को भाग्यो मलाई थाहा छैन ।’ उनले यस्तो बताए पनि बिहान दस बजे जमुनाहाबाट ल्याइएका नेपाली दिउँसो तीन बजे भागेका थिए । तर, यो सत्यलाई प्रजिअ खड्काले अस्वीकार गरेका छन् ।
भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भाग्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमा नाका बन्द भएपछि आइतबार राती सीमावर्ती भारतीय बजार रुपैडिहा आइपुगेका ५०० बढि नेपाली नागरिकलाई उपमहानगरपालिकाले आज सोमवार क्वारेन्टाइनमा राखेको थियो । तर उनीहरु एकाएक भागेपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।
उपमहानगरपालिकाको स्वाथ्य शाखाका अनुसार ५५३ जना र पछि थप केही जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तीमध्ये अधिकांश युवाहरु भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । नेपालगन्ज हुँदै कर्णालीका पहाडी जिल्ला जानुपर्ने भएको र दुख पाइयो भन्दै क्वारेन्टाइनमा राखिएकाहरु फरार भएका हुन् ।
भारतमा मजदुरी गरेर नेपाल फर्किएका नेपालीलाई महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखेर सम्पूर्ण चेकजाँच पुरा गरी गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पु¥याउने निर्णय भएसँगै उनीहरुको स्वास्थ्य जाँच गर्नका लागि महेन्द्र क्याम्पस परिसरमा लगिएको थियो ।
सत्यपाटी ।