बाँके । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रुपमा घोषित गरिसकेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसले १३ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । यसबाट झण्डै तीन लाख व्यक्ति संक्रमित भइसकेका छन् ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भने हालसम्म देखिएको छैन । देशभर उच्च सतर्कता अपनाइएको छ । नेपाल सरकारले यसको संक्रमण हुन नदिन आजदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ । सीमा नाका बन्द भएसँगै नेपाल–भारत सीमा नाका जमुनाहामा ५०० बढि नेपाली अलपत्र परेका छन् ।
सीमा नाका बन्द भएसँगै भारतबाट नेपालतर्फ आउँदै गरेका ५०० बढी नेपाली नागरिक जमुनाहा नाकामा अलपत्र परेका हुन् । सोमबार बिहान रुपैडिया आइपुगेका नेपाली नाका बन्दका कारण घर फर्किन पाएका छैनन् । उनीहरु भोकभोकै छन् । भोक र तनावका कारण उनीहरु थप बिरामी हुने अवस्थामा पुगेका छन् ।
नाका बन्द हुनुअघि रुपैडियासम्म आइपुगेका नेपाली नागरिकलाई कसरी उद्धार गर्ने र कहाँ क्वारेन्टाइनमा राख्ने भन्ने पूर्वतयारी नहुँदा सीमामा अलपत्र नागरिकको अवस्था दयनीय छ । अलपत्र नेपालीका बारेमा के गर्ने भन्ने कुनै निष्कर्ष निकालिएको छैन । तर त्यसका लागि पहल भइरहेको छ ।
सीमामा भोकभोकै परेका नेपालीलाई नेपाल प्रहरीले आफ्नो व्यक्तिगत खर्चमा चाउचाउ र पानीको व्यवस्था गरिरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायव निरीक्षक माधव रिजालले जानकारी दिए । नेपाली पक्षले नाका बन्द भएपछि सीमासम्म आउने नेपालीलाई कसरी उद्धार गर्ने भन्ने पूर्वतयारी नहुँदा समस्या भएको छ ।
जमुनाहा नाकाबाट उद्धार गरिएका नेपालीलाई राख्न क्वारेन्टाइनको व्यवस्थापन कहाँ गर्ने भन्ने तयारीसम्म छैन । यद्यपी नेपालगन्ज उपमहानगरपालिकाले भने महेन्द्र बहुमुखी क्याम्पसलाई क्वारेन्टाइन बनाउने तयारी गरिरहेको छ । नाकामा अलपत्र रहेका नेपालीहरुको उद्दारका लागि स्थानीय प्रशासन, जनप्रतिनिधिका अगुवाहरु जमुनाहा पुगेर छलफल गरिरहेको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए ।
सत्यपाटी ।