सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीमा नदीजन्य पदार्थ खुला, जनप्रतिनिधि ठेकेदार ‘दुधको साँची बिरालो’

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन्को विरोध भइरहेका बेला नदीजन्य पदार्थ ब्यवस्थापनको जिम्मा ठेकेदार जनप्रतिनिधिले पाएका छन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, वडा नं. ८ का वडाध्यक्ष खुमबहादुर बस्नेत र वडा नं. ९ का अध्यक्ष महावीर वली लगायतका जनप्रतिनिधिको मिलेमतोमा नदीजन्य पदार्थको ठेक्का प्रभावित गर्दै गाउँपालिका स्वयंले जिम्मा लिएको छ ।

गाउँपालिका अन्तरगत रहेको राप्ती नदी तथा मुगुवा, झिझरी, खैरी र परुवा खोलाबाट नदीजन्य पदार्थ संकलनका लागि ब्यवस्थापनको जिम्मा ठेकेदारसमेत रहेका वडा नम्बर ८ का वडाध्यक्ष खुमबहादुर बस्नेतलाई व्यवस्थापनको जिम्मेवारी दिनु ‘दुधको साँची बिरालो’ भएजस्तै प्रतिक्रियाहरु आइरहेका छन् । अध्यक्ष लाहुराम थारु र बस्नेत र वडा नं. ९ का अध्यक्ष महावीर वलीकै सल्लाहबमोजिम यसअघिका ठेक्का प्रभावित गरेको गाउँपालिका स्रोतले बतायो ।

स्रोतका अनुसार गाउँपालिकाका अध्यक्ष थारु र वडा नं. ९ का वडाध्यक्ष वलीकै योजनामा वडा नं.८ का वडाध्यक्ष बस्नेतलाई नदीजन्य पदार्थ ब्यवस्थापन समितिको संयोजक बनाएको छ । बस्नेतलाई संयोजक बनाउँदा गाउँपालिकाका अध्यक्ष थारु र वडा नं. ९ का वडाध्यक्ष वलीलाई प्रत्यक्ष लाभ मिल्ने पालिका स्रोतले जनायो । गाउँपालिकाका अध्यक्ष थारु, वडाध्यक्षद्वय बस्नेत र वलीकै कारण नदीजन्य पदार्थको ठेक्का नखुल्दा गाउँपालिकाले लाखौं राजस्व गुमाएको छ ।

ठेकेदार नै रहेका जनप्रतिनिधिहरुले ठेक्का प्रभावित गर्दै नदीजन्य पदार्थ संकलन तथा तथा विक्री वितरणका लागि अप्रत्यक्षरुपमा आफैले ठेक्का लिएका छन् । २०७७ आगामी जेठ मसान्तसम्मका लागि अनुमति खुला गरिएको छ । गाउँपालिकाका अध्यक्ष थारु, वडाध्यक्षद्वय बस्नेत र वलीले व्यवस्थापन समितिको नाम दिएर अप्रत्यक्षरुपमा ठेक्का सञ्चालन गर्दै नदीजन्य सामाग्री संकलनको अनुमति खु्ला गरेको पालिका स्रोत बताउँछ ।

नदीजन्य पदार्थ खुला गरिएको समयमा पनि जनप्रतिनिधिकै मिलेमतोमा घाटगद्दी नगरी सिधैं राप्ती नदी र गाउँपालिका क्षेत्रमा पर्ने खोलाहरुबाटै नदीजन्य पदार्थ उत्खनन् गरेर बिक्री वितरण हुँदै आएको थियो । ‘यसअघि घाटगद्दी नहुँदा नदीबाट कति परिमाणमा नदीजन्य पदार्थ उत्खनन् भयो भन्ने यकिन छैन, नदीमा ठूलाठूला खाल्डा बनेका छन्, नदीजन्य पदार्थको दोहन अत्याधिक भइरहेको छ,’ पालिका स्रोतले भन्यो ।

लामो समयसम्म ठेक्का नहुँदा राप्ती नदी तथा गाउँपालिका क्षेत्रमा पर्ने खोलाहरुबाट नदीजन्य पदार्थ व्यापक चोरी निकासी भइरहेको र चोरी निकासीका कारण ठेक्का नलाग्दै नदीजन्य पदार्थ सकिने अवस्थामा पुगिसकेको छ । ‘गाउँपालिकाका अध्यक्ष थारुकै मिलेमतोमा तीन वटा हेभी इक्युपमेन्ट (स्काभेटर) र चार वटा टिप्परमार्फत नदीजन्य पदार्थको दोहन भइरहेको थियो,’ गाउँपालिका स्रोतले सत्यपाटीसँग भन्यो ।

स्रोतका अनुसार वडाध्यक्षद्वय बस्नेत र वलीले पनि एउटा स्काभेटर र तीन वटा टिप्परमार्फत नदीजन्य पदार्थको दोहन भइरहेको थियो । अहिले अप्रत्यक्ष ठेक्का पनि बस्नेतले नै पाएका छन् । आफूसँग भएका तीन वटा हेभी इक्युपमेन्ट (स्काभेटर) र चार वटा टिप्परमार्फत नदीजन्य पदार्थ संकलन तथा किासी गर्दा गाउँपालिकाका अध्यक्ष थारुलाई पनि प्रत्यक्ष लाभ मिल्ने गाउँपालिका स्रोतले सत्यपाटीलाई बताएको छ ।

फाइल तस्वीर

गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षद्वय नेपाली काँग्रेस निकटका हुन् । उनीहरुकै मिलेमतोमा गाउँपालिकाले नदीजन्य पदार्थ संकलन तथा निकासीको ठेक्का अप्रत्यक्षरुपमा आफैले लिएपछि नेकपा निकटका युवाहरुले विरोध गरिरहेका छन् । तर उनीहरुले विरोध गरिरहँदा गाउँपालिकाले टेरपुच्छर पनि लगाएको छैन । गाउँपालिका आफैंले नदीजन्य पदार्थको निकासी खुला गरेसँगै नेकपा निकटका युवाहरुलाई लाभ नमिल्ने भएपछि उनीहरु खुलेरै विरोध गरिरहेका छन् ।

नदीनाला दोहन हुँदा मौन रहेको नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल बाँकेले आफू निकटका युवाहरुले काम नपाउने भएपछि अन्तिम अवस्थामा आएर विज्ञप्ती निकालेको थियो । तर संघको विज्ञप्तीलाई गाउँपालिकाले ठेरपुच्छर नै नलाएर नदीजन्य पदार्थ खुला गरेको छ । आफूहरुले नदी दोहन गर्न नपाउने भएपछि युवा संघ नेपाल बाँकेले राप्तीसोनारीभित्र पर्ने नदीनालाको ठेक्का आव्हान नगरे गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका थिए ।

तीन पटक टेण्डर आह्वान हुँदा मौन रहेको युवा संघले अन्तिम समयमा नेकपा बाँकेका सचिव अशोक कोइरालाको निर्देशनमा ज्ञापन पत्र बुझाएको पार्टी निकट स्रोतले सत्यपाटीलाई बताएको छ । तीन पटकसम्म आफू निकटका युवाहरुलाई टेण्डर नपरेपछि पार्टी सचिव कोइरालाले नै गाउँपालिकाका विरुद्ध आन्दोलनमा उत्रिन युवा संघलाई ठेक्का प्रभावित गर्न निर्देशन दिएको नेकपा निकट स्रोतले जनाएको छ ।

गाउँपालिकाले फागुन १७ गते आफैंले निकासी कार्य गर्न आवश्यक जनशक्तिका लागि सूचनासमेत जारी गरेपछि नेकपाको निर्देशनमा युवा संघ विरोधमा उत्रिएको थियो । अहिले गाउँपालिकाका ठेकेदार जनप्रतिनिधिहरुले नदीजन्य पदार्थ निकासी कार्यका लागि काँग्रेस निकटका युवाहरुलाई मात्रै परिचालन गर्दै नदीनालाको दोहन गरिरहेको युवा संघ निकट स्रोतले आरोप लगाएको छ ।

काँग्रेस निकट जनप्रतिनिधिका कारण आफू निकटका युवाहरुले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाएपछि युवा संघ आक्रोशित भइरहेको छ । तर, ठेकेदार जनप्रतिनिधिले युवा संघको आक्रोशलाई वास्ता गरेका छैनन् । पार्टीगत वा व्यक्तिगत ढंगले नियुक्ति पत्र दिएर नदीजन्य पदार्थको निकासी खुला गरेको पाइएमा गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएको युवा संघ एकाएक मौन बनेको छ ।

राप्तीसोनारीमा नेकपा निकटका केही युवाहरुले राप्ती नदी तथा पालिकाभित्रका खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरेर क्रशर उद्योगसमेत सञ्चालन गरिरहेको र गाउँपालिका आफैले नदीजन्य पदार्थको निकासी खुला गरेपछि नेकपा निकट युवाहरुले सञ्चालन गरेका क्रशर उद्योग समस्या पर्ने भएका छन् भने जनप्रतिनिधि ठेकेदारलाई मालामाल भएको छ । यसले काँग्रेस निकटका जनप्रतिनिधि र नेकपा निकटका युवाहरुबीच द्वन्द्व निम्त्याएको छ ।

युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालले सरकारको राजस्व वृद्धि गर्न आफूहरुले यस्तो कदम चालेको बताउँदै गाउँपालिकाले ठेक्का नै नगरेर आफू निकटका व्यक्तिहरुलाई पोस्नका लागिपरेको आरोप लगाए । उनले अन्य गाउँपालिकामा भएका भ्रष्टाचारका विषयमा समेत आफूहरुको ध्यानाकर्षण भएको बताए पनि जनप्रतिनिधि ने ठेकेदार बनेर नदीजन्य पदार्थको निकासी खुला गरेपछि युवा संघ मौन हुनुले आशंका पैदा भएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार ०७:३९