सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज उद्योग वाणिज्य संघले भन्यो, ‘कोरोनाविरुद्धको अभियानमा जुटौं’

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणविरुद्धको अभियानमा जुट्न उद्योगी व्यवसायीलाई आह्वान गरेको छ । अत्यावश्यक बस्तु तथा सेवाको कामबाहेकका उद्योग व्यवसाय बन्द गर्दै कोरोना संक्रमणविरुद्धको अभियानमा लाग्न आह्वान गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीद्वारा संयुक्तरुपमा जारी गरिएको विज्ञप्तीमा बिश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण जनमानसमा त्रास उत्पन्न भएको भन्दै उद्योग व्यवसाय बन्दको आह्वान गरिएको छ ।

विज्ञप्तीमा चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी बिश्वभर फैलिएको कोरोना संक्रमणबिरुद्धको अभियानमा पूर्ण समर्थन गर्दै सम्पूर्ण उद्योगी, व्यवसायीलाई व्यापार व्यवसाय बन्दका लागि अपील गरिएको छ । नेपाल कोरोना संक्रमणको अत्यन्त जोमिखपूर्ण राष्ट्रको सूचीमा राखेकाले उद्योगी व्यवसायीहरुलाई उच्च सतर्कता अपाउन संघले भनेको छ ।

‘नेपालगन्जसँग सीमा जोडिएको भारतमा कोरोनाको संक्रमण बढ्दै गएकोले यहाँका उद्योगी व्यवसायी थप सचेत र सजग बन्नुपर्ने देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस अवस्थाप्रति संघसमेत गम्भीर भएर कोरोना संक्रमणबिरुद्धको अभियानमा सक्रियतापूर्वक लागेको छ ।’ साथै संघले बन्दको सूचना दिन माइकिङ्ग तथा कोरोना संक्रमणबिरुद्ध बिभिन्न सूचनामूलक व्यानर, फ्लेक्स् बोर्डहरु लगाइरहेको जनाएको छ ।

संघले विपतकालिन राहत कोष परिचालन समितिलाई थप प्रभावकारी बनाउँदै कार्यान्वयन परिचालन समिति गठन गर्ने तयारी गरेको जनाएको छ । संघले निर्माण गरेको राहत कोषमा आर्थिक सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीहरुलाई अपील पनि गरेको छ । संघका अध्यक्ष मन्सुरीले कोरोना संक्रमण हुन नदिन सरकारी निकायका कार्ययोजनालाई सफल बनाउन आवश्यकता अनुसार थप अभियान बनाएर सञ्चालन गरिने बताए ।

नागरिकको स्वास्थ्य जोगाउन निजी क्षेत्रबाट गर्न सकिने सबै साथ र सहयोग गरिने अध्यक्ष जनाउँदै मन्सुरीले दैनिक उपभोग्य सामाग्रीहरु सर्वसुलभरुपमा उपलब्ध गराउन र कुनै प्रकारको समस्या सिर्जना हुन नदिन उद्योगी, व्यवसायीहरुलाई अपील गरेका छन् । अध्यक्ष मन्सुरीले उपभोक्ता वर्गले अभाव हुने आशंकामा आवश्यकताभन्दा बढि खरिद र भण्डारण नगरिदिनु हुनसमेत आह्वान गरे ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार १२:१०