बाँके । कोरोना संक्रमणलाई मध्यनजर गर्दै नरैनापुर गाउँपालिकाले भारतसँग जोडिएका सबै नाका सिल गरेको छ । भारतीय क्षेत्रमा कोरोना संक्रमणले तीब्ररुप लिँदै गएपछि भारतीय क्षेत्रबाट हुने सबै आवागमन अनिश्चित समयका लागि रोकिएको हो ।
नरैनापुर गाउँपालिका भारतीय क्षेत्र श्रावस्ती र बहराइचसँग प्रत्यक्ष जोडिएको र सो क्षेत्रमा कोरोना संक्रमित विरामी फेला परेको सूचना भारतीय स्वास्थ्य संस्थाले जारी गरेपछि सिमा क्षेत्रमा निगरानी र सतर्कता बढाइएको हो । ‘नागरिक आवागमन पूरै रोकिएको छ,’ सशस्त्र प्रहरी बल गंगापुर पोष्टका इन्चार्ज विरेन्द्रबहादुर जिसीले भने ।
उनका अनुसार सिमा सुरक्षा कार्यालयबाट प्राप्त भएको निर्देशनबमोजिम कोरोनाविरुद्ध सतर्कता अपनाइएको हो । नरैनापुर गाउँपालिकाको सुईया, बनियागाउँ, रोशनपूर्वा, घोडदौरिया, ककरदरी, रामपुर, शोनवर्षा लगायतका नाकामा स्वास्थ्यकर्मीसहित सुरक्षाकर्मी परिचालित छन् । यसअघि स्वास्थ्य जाँच गरेर मात्र आवागमन गर्ने ब्यवस्थालाई हटाउँदै थप सतर्कताका लागि आवागमन रोकिएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए ।
‘भारतीय क्षेत्रको आवागमनले नागरिक स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्य नजर गरि सिमा क्षेत्रमा आवागमन ठप्प पार्नुपरेको हो,’ नरैनापुर स्वास्थ्य संयोजक मोइन खाँले भने, ‘नागरिक स्वास्थ्यसँग कुनै सम्झौता गर्न मिल्दैन ।’ विश्व नै कोरोनाविरुद्ध संघर्ष गरिरहेका बेला नरैनापुर गाउँपालिकाको स्वास्थ्यकर्मीले गाउँगाउँमा माइकिङ्ग गरी संक्रमणबाट बच्ने तरिकाबारे सुझाव दिइरहेका छन् ।
गाउँपालिकाले स्थानीय अवधि भाषामा ब्राउसर र पम्पलेट जारी गरी नागरिकलाई सचेत बनाउँदैछ । ‘समयभित्रै सचेत रहन सकिएन भने यो रोगले निकै क्षति गर्न सक्छ,’ नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले भने । स्थानीयस्तरबाट हुन सक्ने हरसम्भव प्रयास गर्न स्वास्थ्यकर्मी, कर्मचारी र प्रहरीलाई आग्रह गरिएको उनले बताए । ‘तत्कालका लागि भारतीय क्षेत्रबाट हुने सबै खाले आवागमन रोकिएको छ,’ प्रमुख शाहले भने ।
भारतको उत्तरप्रदेश राज्य सरकारले पनि चीनमा कोरोना देखा परेसँगै भारतका हरेक नाकामा स्वास्थ्यकर्मी परिचालन गरी आवागमन गर्ने नागरिकको स्वास्थ्य स्थिति जाँच गर्दै आएको छ । भारतीय पक्षले पनि शनिवारदेखि नै सिमा क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरी आवागमन ठप्प पारेको छ । नरैनापुर क्षेत्रमा कोरोना संक्रमित विरामीका लागि क्वारेन्टाइन नभए पनि तत्कालै ब्यवस्थित स्थानसम्म पु¥याउन एम्बुलेन्ससहितको ब्यवस्था रहेको छ ।
नेपालगन्ज ‘लकडाउन’
कोरोना भाइरसको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले आजदेखि नेपालगन्ज ‘लकडाउन’ गरेको छ । प्रशासनले नेपालगन्ज ‘लकडाउन’ गरेसँगै अब नेपालगन्जका सम्पूर्ण पसल व्यवसाय बन्द हुनुका साथै सर्वसाधारणको आवागमन पनि रोकिएको छ । नेपालगन्ज ‘लकडाउन’ गरेसँगै यहाँका खाद्यान्न, औषधि लगायत अत्यावश्यकबाहेकका सबै व्यवसाय बन्द गरिएको छ ।
‘संक्रमणको यो कठिन घडीमा कोरोनाको उच्च जोखिम भएको नेपालगन्जलाई सुरक्षित पार्न ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको हो,’ कोरोना पूर्वतयारीका लागि गठित जिल्लास्तरीय टास्क फोर्सका संयोजकसमेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने । बजार बन्द गराउन आज विहानैदखि बजार क्षेत्रमा माइकिङ्गसहितको सूचना पनि जारी गरिएको छ ।
नेपालगन्ज बजार ‘लकडाउन’ गरेसँगै यहाँस्थित लायन्स डेण्टल अस्पतालमा ४० बेड र खजुरा क्यान्सर अस्पतालमा आइसोलेसन वार्ड स्थापनाको सुरुवात गरिएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी दिइन् । उनका अनुसार वडास्तरमा क्वारेन्टाइनका लागि स्थानीय तहलाई अनुरोध गर्दै ‘सेल्फ आइसोलेसन’का लागि आमनागरिकलाई आह्वान गरिएको छ ।
के हो ‘लकडाउन’ ?
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको तयारीका रुपमा हेरिएको ‘लकडाउन’ बाध्यात्मक परिस्थिति हो । अर्को शब्दमा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो । छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’कै स्वरुपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ । जानकारहरुका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा योजना हो ।
‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ । ‘लकडाउन’को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघिनै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ भने सरकारले निश्चित समयका लागि होटल, रेस्टुरेन्ट, सार्वजनिक यातायात, सरकारी कार्यालय, यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् ।
सत्यपाटी ।