सूचनाको शक्ति - The Power Of Information

        

पाँच महिनादेखि एलडीओविहीन जुम्ला : बेल्बासे फर्केनन्, घिमिरेले टेरेनन्


जुम्ला । स्थानीय विकास अधिकारीलगायतको भूमिका लिएर जिल्ला जान मरिहत्ते गर्ने कर्मचारीहरु जुम्ला जान नमान्दा यो जिल्ला स्थानीय विकास अधिकारी (एलडीओ) विहीन बन्न पुगेको छ । गएको साउन ३ गते जुम्लाका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे घरमा बुबा सञ्चो नभएको भन्दै जिल्ला बाहिरिएपछि अहिलेसम्म फर्किएका छैनन् ।
उनी नफर्केपछि नयाँ कर्मचारी पठाउनुपर्ने भए पनि सरकारले अझैसम्म जुम्लामा एलडीओ पठाउन सकेको छैन । जिल्ला समन्वय समिति गठन नहुँदै स्थानीय विकास अधिकारी बेल्वासे बाहिरिएपछि समन्वय समितिको दैनिक कामकाजमा ठूलो बाधा पुगेको जिसस जुम्लाका प्रमुख लालबहादुर सार्कीले बताए । प्रशासनिक जिम्मेवारी बहन गर्ने प्रमुख नहुँदा समितिलाई अघि बढ्न गाह्रो भएको उनको भनाइ छ ।
कार्यालय प्रमुख नहुँदा निमित्त र निमित्त नहुँदा सीमितभन्दा पनि अझ सीमितबाट काम चलाउ गर्नु परेको दुखेसो उनले गरे । प्रमुख सार्कीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई भेटेर जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनियर राजकुमार गोइतलाई आर्थिक अधिकारसहित निमित्त दिन लगाएर काममा केही सहजता ल्याए पनि महत्वपूर्ण काम गर्न–गराउन गाह्रो भएको बताए ।
पटकपटक कर्मचारी पठाइदिन अनुरोध गर्दा मन्त्रालयले हरिनारायण बेल्वासे जुम्ला नआउने र हरिप्रसाद घिमिरेलाई पठाउने बताएको उनको भनाइ छ । पठाउने भनिएका घिमिरे आजसम्म पनि सम्पर्कमा नआएको समन्वय समितिले जनाएको छ । तत्कालीन जिविस छँदा दैनिक मान्छेको भीड लाग्ने कार्यालय जिसस रुपान्तरण भइसकेपछि आजभोलि निकै सुनसान छ । रासस

प्रकाशित मिति : २ पुष २०७४, आइतवार ०७:०३