सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको सन्त्रास : जमुनाहा नाकामा सेना परिचालन, सीमामा संयुक्त गस्ती

बाँके । कोरोनाको संक्रमण रोक्न नेपालगन्ज–रुपैडिहा नाकामा सेना परिचालन गरिएको छ । शनिबार विहानदेखि नेपाली सेना नेपालगन्ज–रुपैडिहा सीमा नाका जमुनाहामा तैनाथ भएर बसेको छ । सेनाका साथै नेपाल प्रहरी र शसस्त्र प्रहरी पहिलेदेखि नै नाकामा निगरानी गरिरहेका छन् ।

प्रहरी र सेनाको निगरानीमा स्वास्थ्यकर्मीले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको शरीरको तापमान मापन गर्ने गर्दछन् । कोरोना नभित्रियोस् भनेर सजगता अपनाउँदै यस नाकामा चेकजाँचका लागि हेल्प डेस्क खडा गरि मेसिनबाट शरीरको तापमान मापन गरिएको छ । नेपालगन्जको चौलिका चोकबाटै करिब ३ किलोमिटर टाढैबाट साइकलदेखि सम्पूर्ण यातायातका साधन सीमासम्मै पुग्न रोक लगाइएको छ ।

पैदल ओहोरदोहोर गर्नेलनाई चेक जाँचगरेर भित्रिन दिनेगरेको जमुनाह प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजालले बताए । यस्तै कोरोना आशंकित ६ जनालाई जमुनाहा नाकाबाट भेरी अस्पतालमा रिफर गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले स्वास्थ्य चेकजाँचका क्रममा १०१.४ डिग्रीभन्दा बढी ज्वरो देखिएपछि ६ जनालाई भेरीमा रिफर गरिएको बताए ।

जमुनाहा नाकामा स्वास्थ्य चेकजाँचका क्रममा भारतबाट नेपाल आउनेहरुमा कोरोनासँग मिल्ने लक्षणहरु देखिएपछि ती ६ जनालाई भेरी अस्पतालमा रिफर गरिएको अधिकृत चन्दले जानकारी दिए । तर, भेरी अस्पतालमा कोरोना भाइरसको ल्याब टेस्ट गर्ने मेसिन नहुँदा समस्या भएको छ । यसैबीच, नेपालगन्ज–रुपैडिहा नाकाको दशगजा क्षेत्रमा नेपाल प्रहरी, भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्वास्थ्यकर्मीको टोलीले संयुक्त गस्ती गरिरहेको छ ।

नेपाल प्रहरीतर्फ जमुनाहा प्रहरी इन्चार्ज रिजालले नेतृत्व गरेका छन् भने भारततर्फ लखिमपुरका एसएसबी डिआइजी अभिषेख पाठकले नेतृत्व गरेका छन् । टोलीमा शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा, भारत अगैयाका बटालियन कमाण्डर एसपी प्रबिण कुमार लगायतको टोलीले स्थलगत अनुगमन गरिरहेको छ ।

आज विहान जमुनाहा नाका भएर पूर्वक्षेत्रतर्फ दशगजामा स्वास्थ्यकर्मीसहितको सुरक्षाकर्मीको टोलीले संयुक्त गस्ती गरेको छ । जमुनाहा नाकामा भारतर्फ भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाली सुरक्षाकर्मीले नाकामा ओहोरदोहोर गर्नेलाई कडाईका साथ चेकजाँच थालेपछि चोर बाटो भएर सर्वसाधारणको ओहोरदोहोर बढेपछि दशगजामा संयुक्त गस्ती थालिएको हो ।

जमुनाहा नाकाबाट पूर्वीतर्फ खुला सीमानामा नेपालबाट ओहोरदोहोर गर्ने तीनवटा बाटो भएकाले ती बाटोबाट ओहोरदोहोर रोक्नका लागि दुवै देशका सुरक्षाकर्मीले आजदेखि कडाई गरेका छन् । खुला तीन वटा चोरबाटोबाट लुकेर सर्वसाधारण नेपाल–भारत ओहोरदोहोर गर्न थालेपछि कोरोना लागेका ब्यक्तिहरुको पहिचान होउन भन्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इन्चार्ज माधव रिजालका अनुसार जमुनाहा नाकामा चेकजाँचमा कडाई गरेपछि ती तीनवटा बाटोबाट लुकीछिपी ओहोरदोहोर गर्नेको ताँती रहेको छ । विषेशगरी विहान भारतबाट साइकल र मोटरसाइकलमा नेपालगन्जमा मजदूरी गर्न आउने र बेलुका नेपालगन्जदेखि फर्कनेहरु बढिरहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १४:१७