सूचनाको शक्ति - The Power Of Information

        

करोडौंको व्यवसाय हाँक्दै महिला

बाँके । बाँकेमा झण्डै पाँच हजार उद्योगी व्यवसायी छन् । जसमध्ये एक सय बढी उद्योग महिलाहरुले नै हाँकिरहेका छन् । बाँकेमा करोडौंको कारोबार गर्ने महिला कति छन् भन्ने यकिन तथ्यांक छैन । तर, झण्डै दुई दर्जन महिलाले करोडौंको व्यवसाय एक्लै हाँकिरहेको अनुमान गर्न सकिन्छ । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिलाहरु आर्थिक, सामाजिकरुपले सक्रिय बन्दै आएका हुन् ।

चुलोचौकामा सिमित महिला सामान्य पसलदेखि ठूला उद्योगसम्म हाक्दै छन् । जसले आफ्नै व्यवसाय गरेर आफुमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउँदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । उनीहरु निर्भिक र निडर भएर करोडका व्यापार गरिरहेका छन् । अहिले हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागितासँगै सफलताको उचाइमा पुगेका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी होस् वा ब्यापार व्यवसायमा महिलाहरु सफल र उदाहरणीय बन्दै गएका छन् । घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काका अनुसार उद्योग, व्यवसायक्षेत्रमा समेत महिलाको सक्रिय सहभागिता बढ्दै गएको छ । पछिल्लो समयमा उद्योग व्यवसायमा देखिएको महिला सहभागीता र सक्रियताले व्यवसायमा महिला अब्बल छन् भन्ने प्रमाणित भइसकेको अध्यक्ष खड्काको भनाई छ ।

नेपाली समाजले सामाजिक, धार्मिक, साँस्कृतिक तथा परम्पराको सीमित दायरामा बाँधिएका महिलाहरुलाई पछिल्लो समयमा उद्योग, व्यवसायसँगै सामाजिक क्षेत्रमा प्रभाव पारिरहेका छन् । घरधन्दा सम्हाल्दै आएका यी महिलाहरु करोडौंका कारोबार गर्दै आएका छन् । ठुलाठुला होटल, व्यापार, व्यवसाय उनीहरु एक्लैले धानिरहेका छन् । आर्थिक सक्षमताको बाटोमा अग्रसर यी महिलाहरु चुलोचौकाको सिमित दायरालाई फराकिलो बनाउदै अघि बढेका छन् ।

घरेलु साना उद्योग हुन् वा ठूला ब्यवसायमा यहाँका महिलाहरु अब्बल बन्दैछन् । अचार उत्पादन, खेलौना, कुसन निर्माण, सिलाईकटाई लगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि लाग्न सकिन्छ भन्ने सन्देश यी महिलाहरुबाट पाउन सकिन्छ । जसका कारण सानै व्यवसायबाट करोडौंको कारोबार गर्ने महिलाको सूचिमा समेत महिलाहरुको नाम थपिदै आएको छ ।

हाल संघमा तीन दर्जन बढि महिलाहरु आवद्ध छन् । ग्रामीण क्षेत्रमा पुगेर महिलाहरुलाई विभिन्न सीपमुलक तालिम दिदंै आएकोले ग्रामीण क्षेत्रका महिलाहरु पनि उद्यमी बन्नतर्फ अग्रसर रहेको महिला उद्यमी संघका महिला उद्यमी संघ बाँकेकी महासचिव रेवती सिंहको भनाई छ । बाँकेमा सफल उद्यमी महिलाको संख्या दिनानुदिन थपिदै गएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १२:१५