सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाले बाँकेका उद्योग प्रभावित, भारतबाट फर्कदै नेपाली कामदार

बाँके । कोरोना भाइरस (कोभिड–१९) का कारण बाँकेका औद्योगिक प्रतिष्ठानहरु प्रभावित भएका छन् । कोरोना भाइरसकै त्रासका कारण यहाँका उद्योग, कलकारखाना केही समयका लागि बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । उद्योगमा कामदार र कच्चा पदार्थ अभाव भएपछि उद्योग प्रभावित बनेका हुन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन जमुनाहा नाकामा साइकलदेखि अन्य ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदा बाँकेका उद्योगमा काम गर्ने कामदार आउन सकिरहेका छैनन् । यहाँका अधिकांस उद्योग भारतीय कामदारमा निर्भर छन् । कामदार अभावसँगै कच्चा पदार्थ आयात हुन छाडेपछि उद्योग बन्द गर्ने बिषयमा ठूला उद्योगीबीच छलफल भइरहेको छ ।

बाँकेको होटल र उद्योगक्षेत्र कोरोना भाइरसका कारण प्रभावित भएका छन् । कच्चा पदार्थको ढुवानी रोकिएको छैन । तर जापान, चिनजस्ता कोरोना प्रभावित देशबाट आउनुपर्ने कच्चा पदार्थको आयात प्रभावित हुँदा यहाँका उद्योगलाई समस्या भएको हो । होटलमा सेवाग्राही आउनै छाडेपछि धेरैले कर्मचारीलाई बेतलवी बिदा दिएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दल वाहिद मन्सुुरी ‘चुन्ना’ले निजीक्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको बताए । उनी भन्छन्, ‘राम्रो हुँदै गएको आर्थिक क्षेत्र कोरोनाका कारण नराम्रो गरी प्रभावित भएको छ ।’ नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग संघका महासचिव दिला शाहले कच्चा पदार्थको स्टक सकिने अवस्था आएको बताइन् ।

‘जोसँग कच्चा पदार्थ स्टक छ, उहाँहरुले उत्पादन गरिरहनुभएको छ । नत्र अरु त बन्द गर्ने अवस्था सिर्जना भइसकेको छ,’ शाहले भनिन् । उद्योगी, व्यवसायीले उद्योग बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने तयारी गरिरहेका छन् । पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन सञ्चालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएको छ ।

नेपाल र भारतर्फका सुरक्षार्कीहरुले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाइएको छ । नेपालगन्जका विभिन्न उद्योग कलकारखानामा काम गर्ने सिमा क्षेत्रका सयौं भारतीय कामदारहरु पनि अहिले काममा आउन पाएका छैनन् । उनीहरु बिहान साइकलबाट नेपालगन्जमा काम गर्न आएर बेलुका फर्कने गर्दथे ।

भारतबाट फर्कदै नेपाली कामदार

बिश्व नै कोरोना भाइरसको चपेटामा परेको बेलामा र भारतमा समेत कोरोना भाइरसको संक्रमण देखिएको र केहि व्यक्तिको यसैका कारण मृत्युसमेत भइसकेको हुँदा भारतका विभिन्न ठाउँहरुमा विभिन्न पेशा र काम गरेर बसिरहेका नेपाली कामदारहरु यतिखेर धमाधम नेपाल फर्किरहेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन पश्चिम नेपालको प्रमुख नाका जमुनाहमा सवारीसाधन सन्चालनमा बुधवारदेखि पूर्णरुपमा रोक लगाइएपछि अहिले जमुनाह नाकामा भारतबाट रोजगार गरेर फर्कने नेपालीहरुको मात्र चहलपहल रहेको छ । सधैंभरी साइकल, मोटरसाइकल, रिक्सा, बस लगायतका सवारी साधन र यात्रुहरुबाट भिडभाड रहने जमुनाह नाकामा अहिले भने प्रायः काम गरेर फर्कने नेपाली कामदारहरु मात्र देख्न पाइन्छ ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य इकाइद्वारा जमुनाहमा संचालित सर्भिलेन्स तथा परामर्श केन्द्र हेल्थ डेस्कका स्वास्थ्यकर्मी सरनबहादुर शाहीले भिडभाड कम भएको हुँदा अहिले कोरोनाको चेकजाँचमा पनि सहज भएको बताए । उनले यसअघि एउटामात्र इन्फाइट थर्ममिटर (शरिरको तापक्रम नाप्ने मेशिन) रहेको र बिहीबारबाट स्वास्थ्य कार्यालयबाट थप एउटा इन्फाइट थर्ममिटर आइसकेपछि चेकजाँचमा अझै सरल र सहज भएको बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने अधिकांस भारतमा काम गरेर फर्कने नेपाली रहेका छन् । हालसम्मको चेकजाँचका क्रममा तीन जना व्यक्तिमा ज्वरो देखिएको र उनीहरुलाई थप स्वास्थ्य परिक्षणका लागि भेरी अस्पताल पठाइएको उनले बताए । कुनै व्यक्तिमा त्यस्तो संक्रमण भएको आशंका लागेमा अस्पतालसम्म पु¥याउन एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार ०८:२०