
बीबीसी । नयाँ कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलँदै गएपछि विश्वको दोस्रो ठूलो जनसङ्ख्या भएको देश, भारतका सहरहरु सुनसान देखिन थालेका छन् । अरुबेला ठूलो भीडभाड र होहल्ला हुने सहरहरुमा अहिले जनता घर भित्र बस्नथालेपछि ट्राफिक समेत अत्यन्तै न्युन छ भने विवाह लगायतका भव्यतापूर्वक मनाइने समारोह पारिवारिक भेटमा सिमित भएका छन् ।
बिहिबारसम्म भारतमा चार जनाको मृत्यु भएको छ भने १७३ जना संक्रमित छन् । तर स्वास्थ्यविद्हरुले परीक्षण सामग्रीको अभावमा सिमित मानिसहरुमा मात्र टेस्ट गरिएको र धेरैले लक्षणबारे खुलेर रिपोर्ट नगरी रहेकाले संक्रमितको सङ्ख्या यतिथोरै भएको हुन सक्ने भनि चिन्ता व्यक्त गरिरहेका छन् । भारतले अहिलेसम्म १२ हजार जनामा परीक्षण गराएको छ । यस्तोमा कोरोना संक्रमण सामुदायिकरुपमा कुन स्तरले फैलिरहेको छ भन्ने स्पष्ट भएको छैन ।
यता भारतको केन्द्रिय सरकार, प्रदेश सरकार र सहरी प्रशासकहरुले चाहिँ यस विरुद्ध उपयुक्त कदम उठाइएको दाबी गरिरहेका छन् । यस्तोमा राजधानी दिल्लीस्थित भारतको सबैभन्दा व्यस्त इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थल पछिल्ला केही दिन खालि देखिएको छ । भारतले बेलायत लगायत अधिकांकश युरोपेली राष्ट्रहरुको प्रवेश निषेध गराएको र आफ्नै देशका नागरिकालाई समेत प्रभावित क्षेत्रबाट भित्रिनमा यो बन्देज जारी गरेको हो । यसकारण अधिकतम उडानहरु रद्द हुँदा विमानस्थलको सुनसान बन्न पुगेको छ ।
यस्तोमा एयरलाइन्सहरुले ठूलो संघर्ष गरिरहनु परेको छ किनकी देशभित्रै पनि मानिसहरु हवाइ यात्रा गरिरहेका छैनन् । अहिले भारतमा सबैलाई सहर बाहिर गए, उतै फसिन सकिने चिन्ता पनि छ जसकारण सबै आफ्नो घरभित्रै बसिरहेका छन् । यसबीच दुई शिर्ष एयरलाइन्सहरुले उडानको माग घट्दै गएपछि विमानहरुलाई थन्क्याउनेबारे समेत सोचिरहेको बताएका हुन् । यता ताजमहल, रेडफोर्ट सहित १४० अन्य म्युजियम र चर्चित पर्यटकीय गन्तव्यहरु पनि बन्द गरिएको हुँदा स्थानीय व्यवसायीहरु नराम्ररी प्रभावित हुने बताइएको छ ।
ताजमहलमा मात्र दैनिक ७० हजार बढी पर्यटकहरु आउने गरेका छन् । त्यस्तै दक्षिण भारतको ब्याङलोरस्थित आइटी हब पनि ठुल्ठुला मल, स्कुल, कलेज, सिनेमा हल लगायत सार्वजानिक स्थल बन्द गर्ने अर्को मुख्य सहरमा पर्दछ । अन्य वित्तिय केन्द्र मुम्बई, हाइद्रावाद लगायतका सहरले पनि सबै बन्द गराइसकेका छन् । दिल्लीका केही अत्याधिक व्यस्त ठाउँहरु पनि प्रायः खालि देखिएका छन् । यसमा रेलबाट यात्रा गर्नेहरुको सङ्ख्या पनि उल्लेखनीय रुपमा घटेको हो जहाँ अरु समय खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो ।
पश्चिमी प्रदेश महाराष्ट्रका पनि दुईवटै सहर बन्द छन् जहाँ संक्रमकहरुको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । यसमा सेन्ट्रल रेलवे रद्द भइसकेको छ जसमा मुम्बईसम्म पुग्ने २३ वटा लामो दुरीका यात्रा बन्द गरिएको हो । यसमा कम सङ्ख्यामा यात्रु र कोरोना भाइरस दुवै कारणले रेलसेवा बन्द गर्ने निर्णय गरिएको बताइएको छ । अहिलेसम्म भारतमा कूल १५० रेल बन्द गरिएको छ र सो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको हो । धार्मिक स्थल, जस्तै गोल्डेन टेम्पल भने अझै खुल्लै छ तर भक्तजनहरु धेरै कम छन् । यसरी भारतको प्रमुख धार्मिक स्थलहरुमा यति थोरै मानिस देखिनु ठूलो आश्चर्यको कुरा हो ।
यता तिरुपति मन्दिरले पनि इतिहासमै पहिलोपटक भक्तजनहरुको सङ्ख्या सिमित गराउने निर्णय गरेको हो । मुम्बइमा रहेको सिद्धिविनायक लगायत केही प्रमुख मन्दिरहरु चाहिँ बन्द नै भइसकेका छन् । दिल्लीका अटोरिक्सा र ट्याक्सीहरुलाई स्यानिटाइज गर्ने काम पनि भइरहेको छ । भारतमा महामारी नियन्त्रणका लागि सबैभन्दा ठूुलो चुनौति सार्वजानिक यातायातलाई मानिएको छ । तर सबै अफिसमा घरबाट काम गर्न पाउने विकल्प हुँदैन । अर्कोतर्फ विवादित नागरिकता विधेयक विरुद्ध प्रदर्शनहरु अझै केही सहरमा जारी छन् । विमानस्थल, कोर्पोरेट अफिस लगायत सञ्चालनमै रहनुपर्ने संस्थाहरुले भने तापमान जाँच गर्ने लगायतका उपाय अपनाइरहेका छन् ।
सत्यपाटी ।