सूचनाको शक्ति - The Power Of Information

        

सडकले फेरिँदै वडाको मुहार

बाँके । सम्पन्न समाज र सहज जीवनयापनको अनिवार्य सर्त हो विकास । अनि, हरेक विकासको पूर्वसर्त हो, पूर्वाधार निर्माण । देशका विभिन्न जिल्लामा अहिले विकास–निर्माणको लहर छ । धमाधम पूर्वाधार निर्माणले विकासका हरेक सम्भावनालाई साकार पारिरहेका छन् । सडक सञ्जालले भूगोल साँघुरोमात्र छैन, गाउँगाउँ आपसका दैनिकीमै जोडिँदैछन् ।

नेपालगन्ज–बघौडा हुलाकी सडक र सहायक मार्ग तथा गाउँगाउँ, वडावडासम्म सडक विस्तार अभियानले विकासका हरेक आयाम सहज तुल्याइदिएको छ । पूर्वाधार निर्माणले वडापालिकाहरु समृद्धितर्फ उन्मुख भएका छन् । सडक सञ्जालले स्थानीय तहहरुको भविष्य उज्यालिँदो छ । गाउँमा सडक बनेपछि विपन्न गाउँले पनि सहरिया शैलीको अभ्यास थालिरहेका छन् ।

सडक सञ्जालले छोएका गाउँमा तरकारी खेती गर्न सके आम्दानी लिन कतै जानुपर्दैन । जिल्लाको दुर्गम र विपन्न बस्तीमा समेत सडक पुगेकाले व्यावसायीक तरकारी खेतीतर्फ आकर्षण बढेको छ । बजार नपाए पनि सजिलै अन्य साना–ठूला बजारमा बिक्री गर्न सकिन्छ । बाँके राप्तीसोनारी गाउँपालिका–६, फत्तेपुरका स्थानीयबासीको विग्रदो सडकका कारण सास्ती खेप्नुपर्ने दिनको अन्त्य भएको छ ।

बर्षातका बेला हिलाम्मे हुने र हिउँदका बेला खाल्डाखुल्डी हुँदा हिँडडुलसमेत गर्न नसक्ने सडकहरु स्तरोन्नती भइरहेका छन् । जनप्रतिनिधि आएपछि गाउँको मुहार फेरिन लागेको स्थानीयहरु बताउँछन् । वडाका अधिकांश सडकमा माटो भरान, ग्राभेलिङ, कालोपत्रेका कामहरु भइरहेका छन् । वडाका विग्रदो अबस्थामा रहेका सडक स्तरोन्नतीका लागि जनप्रतिनिधिसँगै स्थानीयबासीको सहभागिता बढेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जनकबहादुर थारु बताउँछन् ।

छोटो अबधिमै धेरै विकास गर्न सकिएकोमा वडाध्यक्ष थारु विकास निर्माणका काममा थप हौसिएका छन् । उनले भने, ‘गोरु गाडा लैजानसमेत मुश्किल हुने सडक स्तरोन्नतीपछि अहिले मोटर सहज रुपमा गुडने भएका छन् ।’ गाउँमा उत्पादन भएको कृषि उपज, तरकारी र दुध बजारमा लगेर सहजरुपमा बेच्न सकिने भएको उनले बताए । वडाध्यक्ष थारुका अनुसार झण्डै पाँच किलोमिटर सडक र पुल निर्माण भइरहेका छन् ।

उनका अनुसार रु.२ करोडको लागतमा वडा कार्यालयदेखि गुलरीसम्मको ३.४ किलोमिटर सडक तथा रु.एक करोड ५० लाखको लागतमा सिधनवा जाने १.३ किलोमिटर सडक निर्माण भइरहेका छन् । त्यस्तै वडापालिकाभित्र पर्ने बुढैया नालामा रु.५० लाखको लागतमा ४२ मिटर लामो पक्की पुल निर्माण भइरहेको छ । जोरैयामा रहेको नमूना बस्तीभित्र प्रदेश सरकारको रु.एक करोड सहयोगमा सडक, खानेपानी तथा विद्युत पोल व्यवस्थित गर्ने काम भइरहेको छ ।

‘यहाँका स्थानीयहरुले सडककै कारण धेरैले उत्पादीत कृषि उपज र तरकारी खेती मौसमीरुपमा मात्रै लगाउँदै आएका थिए,’ उनले भने, ‘सडकमा बाह्रै महिना ढुवानीका साधन गुडन सक्ने भएकाले व्यवसायीक खेतीतर्फ आकर्षण बढ्न थालेको छ ।’ यसअघि हुन नसकेको विकासले जनप्रतिनिधि आएसँगै तीव्ररुपमा फड्को मारेपछि स्थानीय निकै खुसी भएका छन् । वडालाई नमुना बनाउनकै लागि विकासे गतिविधिलाई तीव्र पारिएको वडाध्यक्ष थारुले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार ११:२४