बाँके । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि कालोबाजारी मौलाउन थालेको छ । कालोबजारीमा सक्रिय तस्कर र दलाले कोरोना भाइरसले विश्वव्यापी माहामारी फैलाइरहेको अवस्थामा आफ्नो सक्रियता बढाएका छन् ।
यस्तै प्रहरीले भारतबाट तस्करी गरी नेपाल ल्याउँदै गरेको करिब एक हजार किलो ब्रोइलर कुखुरा बुधबार बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटेको सूचना संकलन टोलीले हिरमिनिया नाकाबाट १० वटा साइकलमा राखेर ल्याउँदै गरेको अवस्थामा ४०० जिउँदो ब्रोइलर कुखुरा बरामद गरको हो ।
कोरोना भाइरसको त्रासका कारण भारतमा कुखुरा र माछा अघोषित प्रतिबन्ध लगाईएपछि भन्सार छलेर नेपाल भित्र्याइन थालिएको छ । कोरोनाका कारण भारतमा ब्रोइलर कुखुरा प्रतिगोटा ३० रुपैयाँ भारुमा बिक्रि हुन छाडेपछि तस्करीको माध्यामबाट नेपाल भित्रिन थालेको हो ।
सीमानाकाबाट भन्सार छलेर ब्रोइलर तथा माछा नेपाल भित्रिरहँदा जनगुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज एवं प्रहरी निरीक्षक हरी बस्नेतले गएराती साइकलमा राखेर नेपाल ल्याउँदै गरेका ब्रोइलर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
तस्करले प्रहरीलाई देखेपछि साईकल छाडेर भागेको उनले बताए । उनले बरामद कुखुरा नष्ट गर्नको लागि पशु क्वारेन्टाईन पठाइएको बताए । भारतमा विभिन्न प्रकारको हार्मोन प्रयोग गरी समयभन्दा अगावै तयार गरिएका कुखुरा दिनहुँ तस्करीको माध्यामबाट नेपाल भित्रिने गर्छ । विज्ञका अनुसार यसरी उत्पादन गरिएको कुखुरा मानव स्वास्थ्यका लागि प्राणघातक हुन्छ ।
सत्यपाटी ।