सूचनाको शक्ति - The Power Of Information

        

छिन्चु–जाजरकोट सडकखण्डको बनगाड खोलामा पक्की पुल निर्माण सुरु


दुर्गा विसी । सल्यान । सल्यानको सल्लीवजार नजिकै छिन्चु–जाजरकोट सडकखण्डको बनगाड खोलामा पक्की पुल निर्माण गर्न सुरु गरिएको छ । लामा कन्ट्रक्सन प्रालि काठमाडौंले पुलको कामको जिम्मा लिएको छ । प्रालिका म्यानेजर वसन्त घिमिरेका अनुसार बनगाड खोलामा ३५ मिटर लम्वाई भएको पक्की पुल २०७६ साल वैशाख मसान्तभित्र सम्पन्न हुने गरी निर्माण थालिएको हो ।
५ करोड बराबरको रकममा सम्झौता भई काम सञ्चालन गरिएकोले सम्झौता मिति र निर्माण कार्य सम्पन्न गर्ने मितिभन्दा अगावै कम्पनीले काम सक्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको छ । सल्लीवजार नजिकै छिन्चु–जाजरकोट सडकखण्डको बनगाड खोलामा पुल नहुँदा वर्षातमा यातायात सञ्चालनमा कठिनाई हुँदै आएको थियो ।


भेरी पुल निर्माण भई सञ्चालनमा आए पनि वर्षातमा सो खोलामा पुल नहँुदा आवतजावतमा समस्या हुने गरेको छ । सल्यानको क्षेत्रमा निमार्णाधिन बनगाड खोलाकै अर्को रुकुम चौहरजारी सडक खण्डको त्रिवेणीवजारमा निमार्णाधिन पक्की पुल भने अलपत्र परेको छ । काम गर्दा गर्दै ठेकेदारले आधा काम गरी भागेको स्थानीयको दुखेसो छ । हरिहरि गजुरमुखी कन्ट्रक्सन प्रालिका ठेकेदार एक वर्षदेखि सम्पर्कविहीन भएका छन् ।
आठ महिनामै पुलको काम सम्पन्न गर्ने भनेर कामको सुरु गरेका उक्त पुलका ठेकेदार हरिवहादुर रावतले हालसम्म पुल निर्माणप्रति चासो नदेखाएको स्थानीयको आरोप छ । साथै सडक डिभिजन कार्यालय र स्थानीय जनप्रतिनिधिसमेत यस्ता विकासे काम अलपत्र परेकोमा बेखरवर भएको उक्त क्षेत्रका स्थानीयवासीको गुनासो रहेको छ ।

प्रकाशित मिति : २ पुष २०७४, आइतवार ०५:२७