सूचनाको शक्ति - The Power Of Information

        

गोरु तस्करी बढेपछि युवक संगठनको चेतावनी

फाइल तस्वीर

फाइल तस्वीर

कैलाली । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गोरु तस्करी बढेपछि राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले स्थानीय प्रशासनलाई कडा चेतावनी दिएको छ । सुदूरपश्चिमबाट स्थानीय प्रशासनको मिलेमतोमा गोरु तस्करी हुने क्रम बढेपछि संगठनका कैलाली संयोजक दिनेश बम ठकुरीले आइतबार विज्ञप्ती जारी गर्दै कडा चेतावनी दिएका छन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बर्दिया, बाँके, दाङ्ग हुँदै झापासम्म गोरु तस्करी हुँदा पनि स्थानीय प्रशासन र राज्यका निकायहरु मौन रहेको संयोजक ठकुरीले बताए । उनले भने, ‘गोरु तस्करी रोक्नुको साटो स्थानीय प्रशासन र प्रहरीकै संरक्षणमा तस्करी मौलाएको छ । यसलाई रोक्न हामी संगठनका साथीहरु परिचालित हुँदैछौं ।’

नक्कली कागजपत्र बनाएर कृषि प्रयोजनको लागि भन्दै गोरु तस्करी भइरहे पनि स्थानीय प्रशासन मौन भएकै कारण सुदूरपश्चिमबाट पूर्वपश्चिम राजमार्ग हुँदै झापासम्म पुर्याएर त्यहाँबाट बंगलादेशतर्फ तस्करी गर्ने गिरोह सक्रिय हुँदासमेत स्थानीय प्रशासन मोन रहेको संयोजक ठकुरीले बताए । कृषि प्रयोजनको नाममा गोरु मासुको लागि तस्करी हुने गर्छ ।

संयोजक ठकुरीद्वारा जारी विज्ञप्तीमा सरकारले तोकेको मापदण्ड पूरा नगरी राजस्व छली गरेर गोरु तस्करी रोक्नुका साथै सरकारको राजस्व संकलनमा मद्दत गर्ने तथा संविधान विपरित गोरु तस्करी गर्नेलाई कार्बाही गर्नुपर्छ भन्ने मागसहित अभियान नै बनाएर युवाहरुलाई परिचालन गर्ने तयारी गरिएको जनाएको छ । अभियान अन्तरगत आजैदेखि संगठनले कैलालीमा चेकजाच गर्न सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतवार १४:१४