बाँके । गत मंसिरमा चार बर्षिया बालिका शौचालयमा थुनिएपछि विवादित बनेको नेपालगन्जस्थित बृटिश इङ्लिस बोर्डिङ्ग हाइस्कुलमा फेरि अर्को लाहपर्वाहीको घटना सार्वजनीक भएको छ । नेपालगन्ज–१९ मा रहेको उक्त विद्यालयमा करेन्ट लागेर एक बालकको ज्यान गएसँगै विद्यालयको अर्को लाहपर्वाही बाहिर आएको छ ।
अभिभावकसँग चर्को शुल्क असुली गर्दै आएका नीजि स्कुलहरुले भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिँदा नीजि विद्यार्थीहरुको ज्यान जोखिममा हुने गरेको यस घटनाले पुष्टि गरेको छ । करेन्ट लागेर बृटिश इङ्लिस बोर्डिङ्ग हाइस्कुलमा कक्षा ९ अध्ययनरत नेपालगन्ज–४ का १४ बर्षिय बालक भरत कँडेलको मृत्यु भएपछि कमाउधन्दाकै लागि खोलिएका नीजि विद्यालयभित्रको वास्तविकता बाहिर आएको हो ।
विद्यालयको गेट नजिकै रहेको विजुलीको खुला तारमा करेन्ट लागेको बताइएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुबीच कार्यक्रम राखिएको र साउण्ड सिस्टम जडानका क्रममा करेन्ट लागेको हुनसक्ने विद्यालयका विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले बताए । उनले भने, ‘मैले एक्कासी खसेको देखे, के भएको भन्ने सोच्न सकेको छैन । नराम्रो घटना भयो, हामी निकै दुखी भएका छौं ।’
यस घटनाले निजी विद्यालय गुणस्तरीय शिक्षा दिनेतर्फ भन्दा कमाउधन्दामा केन्द्रीत भएको तथ्य प्रष्ट भएको छ । कमजोर र अव्यवस्थित संरचना तथा अभिभावक र विद्यार्थीप्रतिको गैरजिम्मेवारपूर्ण व्यवहार कारण निजी विद्यालयका विद्यार्थीहरुको जीउज्यान नै जोखिममा पर्ने गरेको छ । विद्यालयको लाहपर्वाहीकै कारण भरत कँडेलले जान गुमाउनुपरेकोले यस्त निजी विद्यालय बन्द गर्नुपर्ने अभिभावकहरुको भनाई छ ।
नेपालगन्जको उत्तरतर्फ रहेको सो विद्यालयमा यसअघि चार बर्षिया बालिका चार घण्टा शौचालयमा थुनिँदा ज्यान जोखिममा परेको थियो । मंसिर ६ गते विहान ९ बजे नै विद्यालय पुगेकी चार बर्षिया बालिका सफलता बजगाईँ दिउँसो विद्यालय हाताभित्रै रहेको शौचालयमा शौच गर्न गएकी र शौचालयबाट निस्किन नसकेपछि करिब चार घण्टा थुनिएर बेहोस भएकी उनलाई उपचारपछि थिइन् ।
अभिभावकहरु भन्छन्, ‘निजी विद्यालय कमाउधन्दामा केन्द्रीत भएकै कारण सकुशल विद्यालय गएको बच्चा फर्किन्छन् या फर्किँदैनन् भन्नेमा चिन्ता लिनुपर्ने भयो । हामीले सुखदुख गरेर विद्यालयले तोकेको शुल्क तिरेर पठाएका हौं, निजी विद्यालयको लाहपर्वाहीले हाम्रा बच्चा सकुशल नफर्किँदासम्म चिन्ता लिनुपर्ने अवस्था देखिएको छ, यस विषयमा राज्य गम्भीर भएर यस्ता विद्यालय नै बन्द गर्नुपर्छ ।’
बालकाका आफन्तहरुले विद्यालय सञ्चालक र शिक्षकहरुमाथि कारबाहीको मागसमेत गरेका छन् । ‘अभिभावकसँग चर्को शुल्क असुल्ने विद्यालयले भौतिक पूर्वाधारहरु बालबालिकामैत्री नबनाएर बालकको ज्यानै गएको छ, यसको जिम्मेवारी कसले लिने ?’ अभिभावकहरु प्रश्न गर्दै भन्छन्, ‘विद्यालय पुगेका बालबालिकाको जीवन रक्षा गर्ने दायित्व विद्यालयको हुँदैन ?’
विद्यालयमा आफ्ना बालबालिकाको अवस्था कस्तो छ ? विद्यालयका पठाएका छोराछोरी सुरक्षित छैनन् भन्ने यो घटनाले पुष्टि गरेको बालिकाका आफन्तले बताए । एक अभिभावक जीवन रानाले भने, ‘यो घटनाले चर्को शुल्क तिरेर विद्यालय पठाएपछि अभिभावकले सुरक्षित महसुस गर्नुको सट्टा विद्यालयमै बालबालिका असुरक्षित हुनुपर्ने अवस्था आएको छ ।’
सत्यपाटी ।