सूचनाको शक्ति - The Power Of Information

        

भिजनमै ठगिए पत्रकार, मिडिया नेपालले दियो यस्तो चेतावनी

बाँके । नेपालगन्जस्थित भिजन सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मीहरु लामो समयदेखि ठगिएका छन् । संस्थाद्वारा सञ्चालित टेलिभिजनमा काम गरेका पत्रकारहरुलाई पारिश्रमिक वापतको रकम नदिएर श्रमशोषण गरेको छ । पत्रकारले नै पारिश्रमिक नपाएर ठगिएपछि मिडिया नेपाल बाँकेले तत्काल पारिश्रमिक वापतको पाउनुपर्ने रकम उपलब्ध गराउन माग गरेको छ ।

टेलिभिजनमा कार्यरत श्रमजीवि पत्रकारहरुले लामो समयदेखि तलब नपाएको घटनाप्रति मिडिया नेपाल बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल पारिश्रमिक नदिए कडा आन्दोलनको चेतावनी दिएको छ । भिजन टेलिभिजनमा कार्यरत पत्रकार भगतराम थारु, रबिन्द्रसिंह ठकुरी लगायतले पाउनुपर्ने पारिश्रमिक वापतको रकम सञ्चालक संस्थाले लामो समयदेखि नदिएको श्रमजीवि पत्रकारहरु आक्रोशित भएका छन् ।

श्रमजीवि पत्रकारहरुलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन माग गर्दै मिडिया नेपालका बाँके संयोजक काशीराम शर्माद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘भिजन टेलिभिजनमा कार्यरत पत्रकार भगतराम थारु, रबिन्द्रसिंह ठकुरी लगायतले पाउनुपर्ने पारिश्रमिक सञ्चालक संस्थाले लामो समयदेखि नदिनुले श्रमजीवि पत्रकारहरुप्रति गरिएको निक्रिष्ट, अमानवीय र श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४) को कार्यान्वयनलाई चुनौति दिएको हाम्रो ठहर छ ।’

‘भिजन टेलिभिजनमा लामो समयसम्म काम गराएर कानूनले तोकेअनुसारको सेवा, सुविधा र शर्तको पालना नगर्नु र कार्यरत पत्रकारहरुले पाउनुपर्ने पारिश्रमिक नदिएर टेलिभिजन बन्द गरेर श्रमजीवी पत्रकार ऐनकै खिल्ली उडाएको छ,’ विज्ञप्तीमा भनिएको छ । मिडिया नेपालले लामो समयदेखि पारिश्रमिक नपाएका पत्रकारहरुको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै यसप्रति गम्भीर नभएमासशक्त र कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार ०९:३८