सूचनाको शक्ति - The Power Of Information

        

बझाङ विमानस्थल कालोपत्रेको काम अन्तिम चरणमा

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका-९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भैरहेको विमानस्थल कालोपत्रे गर्ने काम चैतको अन्तिम साताभित्र सकेर बैशाखमा परिक्षण उडान गर्ने तयारी छ । हाल विमानस्थलको धावनमार्ग ग्राभेल गर्ने काम सकिएको छ भने नालीको निर्माण कार्य पनि सकिएको छ ।

विमानस्थलको सम्पूर्ण काम सकिएपछि बैसाखमा परिक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन कार्यालयका इन्जिनियर किरण थापाले बताए । २०७५ असारमा अमर कन्स्ट्रक्ससँग निर्माण सम्झौता भई विमानस्थल कालोपत्रे तथा अन्य पूर्वाधार निर्माणको काम सुरु भएको थियो । विमानस्थल कालोपत्रे गरेर जहाज नियमित उडान गर्न निरन्तर पहल गरिरहेकी संघीय सांसद आशाकुमारी विकले केही दिनअघि विमानस्थलको कामको निरिक्षण गरेकी थिइन् ।

सांसद विकसहित प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले विमानस्थलमा भएको कामको अनुगमन गरेर निर्माण कम्पनीका प्रतिनिधिहरुलाई छिटोछरितो र गुणस्तरीय काम गर्न निर्देशन दिएका थिए । विमानस्थल सञ्चालन नहुँदा बझाङवासीले दुख पाएको स्मरण गर्दै सांसद विकले यसका लागि आफुले पटकपटक प्रतिनिधि सभामा बोलेको वताउँदै छिटो निर्माण गर्ने आग्रह गरिन् । ६३० मिटर लम्बाइ रहेको विमानस्थलको चौडाई २० मिटर रहेको छ ।

२०३५ सालमा सञ्चालनमा आएको बझाङ विमानस्थल २०६५ सालबाट उडान बन्द भएको हो । विमानस्थल बन्द हुँदा विरामी, सुत्केरी महिलाले लामो दुरीको यात्रा गर्नुपर्ने बाध्यतासँगै बीच बाटोमै ज्यान गुमाउँदै आएका छन् । अझै पनि सिकिस्त विरामी साथै सुत्केरी महिलालाई अन्यत्र रिफर गर्दा समस्या हुने गरेको छ । विमानस्थल कालोपत्रे भइ काम सम्पन्न भएपछि धनगढी र नेपालगन्जबाट उडानका लागि नेपाल इयरलाइन्ससँगै तारा एयर र समिट एयर लगायत अन्य नीजि विमान कम्पनीसँग समन्वय भइरहेको पनि सांसद विकले वताइन् । कालोपत्रेका लागि झण्डै ६ करोड लगानी रहेको बताएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार ०७:२४