सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ६ मा बहुमतका लागि एमालेलाई एक सिट पुगेन


सुर्खेत । प्रदेश ६ मा नेपाली कांग्रेस तेस्रो दल बन्ने भएको छ । यो प्रदेशमा प्रत्यक्ष निर्वा्चित २४ र समानुपातिकबाट १६ गरी ४० सदस्यीय प्रदेशसभा बन्नेछ । प्रत्यक्षतर्फ मात्र एक सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाउनेछ । निर्वाचन आयोगका अनुसार प्रदेश ६ को समानुपातिकतर्फ मत गणना शनिबार सकिएको छ ।
एमालेले सबैभन्दा धेरै १ लाख ५९ हजार ३४९ मत पाएको छ भने कांग्रेसले १ लाख ५१ हजार ५८९ र माओवादी केन्द्रले १ लाख ६ हजार ८७८ मत पाएको छ । यस्तै राप्रपाले १४ हजार ८५९ र नमकिपाले ७ हजार २८३ मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकमा कुन दलले कति सिट पाए भन्ने जानकारी दिएको छैन ।
तर, सेन्ट लग मेथडका आधारमा एमालेले ६ सिट पाउने देखिन्छ भने कांग्रेसले ५, माओवादीले ४ र राप्रपाले एक सिट पाउने देखिएको छ । यसो हुँदा प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले हुनेछ । उसले प्रत्यक्षतर्फ १४ सिट जितेको छ र समग्रमा प्रदेशसभामा उसको २० सिट हुनेछ । समान्य बहुमतका लागि एक सिट पुगेन ।
प्रत्यक्षतर्फ ९ सिट जितेको माओवादी समग्रमा १३ सिट हुनेछ भने कांग्रेस ६ सिटसहित तेस्रो दल हुनेछ । राप्रपाको एक सिट हुनेछ । प्रदेश ६ मा एमाले र माओवादीको वाम गठबन्धनको दुई तिहाई बढी मत पुगेको छ । सामान्य बहुमतका लागि २१ सिट भए पुग्छ भने दुई तिहाईका लागि कम्तिमा २८ सिट चाहिन्छ ।

प्रकाशित मिति : १ पुष २०७४, शनिबार ०८:५७