काठमाडौं । विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाए । उनले भने, ‘यस पटक सात्विक होली भयो, न रङ्ग, न रस, न उमङ्ग घरमै सामान्यरूपमा आफन्तहरुसँग दङ्ग ।’ उनले थपे, ‘यस पटकको होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो ।’
काठमाडौमा मात्र होइन हिमाली र पहाडी सबै जिल्लामा यो पटक यस्तै सुनसानसँग होली वित्यो । विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो ।
सरकार र सामाजिक क्षेत्रका अगुवाले गर्ने यस प्रकारको अपिललाई सर्वसाधारणले सहजै ग्रहण गरे र होलीका नाममा हुने उमङ्गलाई सामान्यरुप दिए । काठमाडौँ उपत्यकाका सडक, चोक र घरहरुमा छतबाट पानीमा बाल्टिन नै खन्याउने, सडकमा समूह जम्मा गरेर रङ्ग दल्ने र फाल्ने तथा नाचगान गर्ने गरेका दृष्य देखिएनन् । सडकमा केही मानिस मात्रै रातो र अबीर लगाएर हिँडेको देखियो । काठमाडौँस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पहिलेको तुलनामा यस वर्षको होली पर्व मनाउने सङ्ख्यामा कमी आएकाले कुनै घटना नभएको बताए ।
यद्यपी उनले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी भने परिचालन गरिएको जनाउँदै होली पर्वमा सम्भावति दुर्घटना हुनबाट रोक्न उपत्यकामा करिब दुई हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘यसवर्ष कोरोनाका कारणले प्रशासनले पनि होली नमनाउन भनेपछि धेरै मानिस सडकमा छैनन्,’ उनले भने, ‘तै पनि हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौ ।’ कोरोनाको जोखिमका कारण उपत्यकाका प्रमुख ठाउँ सुनसान छन् । वसन्तपुरमा भने होली मनाउन केही मानिस जम्मा भएका छन् । प्रहरी प्रवक्ता बोगटीका अनुसार करिब ५०० को सङ्ख्यामा वसन्तपुरमा मानिस जम्मा भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि होलीमा सम्भावित सवारी दुर्घटनालाई ध्यान दिई सवारी जाँचलाई कडा पारेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको रौनक त्यति नभए पनि सवारी जाँचलाई कडा पारिएको बताए । उनका अनुसार उपत्यकामा ७५ स्थानमा सवारी जाँच गर्नका लागि करिब ५६६ ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
सत्यपाटी ।