सूचनाको शक्ति - The Power Of Information

        

अन्योलमा सिक्टा सिँचाइ आयोजना : आकाशे पानीको भरमा ‘उर्वर जमिन’

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् ।

पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट ९ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । जीर्ण पश्चिमी नहर मर्मत गरेर बढीमा तीन घनमिटर प्रतिसेकेन्ड (क्युमेक्स)सम्म पानी सञ्चालन भएको छ । आयोजनाले कुन विधिबाट, कसरी मर्मत गर्दा नहर टिकाउ हुन्छ भन्ने यकिन गर्न सकेको छैन ।

पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ । शाखा नहरहरु निर्माण नभएकाले नहरको पानी सीधै किसानका खेतबारीमा जाने अवस्था छैन । मर्मत गरेर सञ्चालन गरेको नहरको पानी शाखा नहर र पम्पसेटबाट तानेर गरी करिब २ हजार ५०० हेक्टरमा मात्र सिँचाइ पहुँच भएको छ ।

यो कूल सिँचाइ लक्ष्यको करिब ५ प्रतिशत मात्र हो । अख्तियारले मुद्दा चलाएपछि पनि पूर्वीनहर निर्माण र पश्चिमी नहर मर्मतको काम जारी छ । नहरको केन्द्रीय अनुगमनका नाममा बर्सेनि करिब रु.डेढ करोड खर्च हुँदै आएको छ । २०७६ मंसिरसम्ममा आयोजनाको निर्माण कार्य ६० प्रतिशतमात्र पूरा भएको छ, जसमा करिब रु.१६ अर्ब खर्च भएको जनाइएको छ ।

यतिधेरै रकम खर्च भइसक्दा पनि न मूल नहर दर्बिलो छ, न अब बन्ने शाखा नहर गुणस्तरीय बन्ला भन्ने कुनै ग्यारेन्टी । नहर निर्माणका नाममा सरकारले बर्सेनि करिब रु.डेढ अर्ब छुट्टयाउने गरे पनि गुणस्तरीय काम हुन सकेको देखिँदैन । राष्ट्रिय चासोको यो आयोजनालाई चालु आर्थिक वर्ष २०७६÷०७७ मा रु.१ अर्ब ५२ करोड बजेट छुट्ट्याइएको छ ।

आयोजना र ठेकेदार कम्पनीले उक्त क्षेत्रको माटो परीक्षण नगरी हचुवामा नहर निर्माण कार्य अघि बढाउँदा सरकारले गरेको अर्बौं लगानी खेर गएको स्थानीयको बुझाइ छ । राप्ती सोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत भन्छन्, ‘माटोको प्राविधिक परीक्षणविनै हचुवामा काम गरेकाले पटक–पटक नहरमा यस्तो समस्या देखिएको छ ।’

उहाँका अनुसार भत्किएको पश्चिमी नहर मर्मत गरिए पनि टिकाउ हुने छाँट छैन । हिउँदमा टालटुल गरिएको ठाउँ पुनः बर्खायाममा भत्किने खतरा छ । मूल नहर निर्माणमा लापरबाही गर्दा नहर सञ्चालन नहुँदै पटकपटक भत्किएपछि बाँकेबासीहरुमा अब बन्ने नहर पनि मुल नहरजस्तै कमजोर हुने हुन् कि भन्ने आशंका कायमै छ ।

निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै पश्चिमी मूल नहरमा समस्या देखिएको हो । पूर्वी मूल नहरमा काम सुरु भएको भने करिब तीन वर्ष मात्रै भएको छ । यो नहरको निर्माण कार्य २०७६ मंसिर १५ गतेसम्म पूरा हुनुपर्ने थियो । तर ठेक्का सकिँदासम्म करिब ४५ प्रतिशतमात्र काम भएको छ । जसका कारण बाँकेको उर्वर जमिन आकाशे पानीको भरमा छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसार सिँचाइ सुविधा नहुँदा अझै बाँकेका करिब ४६ हजार किसान आकाशे पानीका भरमा खेती गर्न बाध्य छन् । पछिल्ला वर्षमा खडेरी र अत्यधिक वर्षाले किसान समस्यामा पर्दै आएका छन् । सिँचाइको उचित व्यवस्था नहुँदा किसानलाई खेतीबाट लागत खर्च उठाउनसमेत हम्मेहम्मे भएको छ ।

बाँकेका करिब ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । यहाँको खेतीयोग्य उर्वर जमिनमा सिँचाइ सुविधा पु¥याएर किसानको प्रतिव्यक्ति आय रु.एक हजार ४९२ बाट बढाएर रु.चार हजार ५६५ पुर्याउने लक्ष्य साथ सुरु भएको सिक्टा सिँचाइ आयोजनाको लक्ष्यअनुसार काम नहुँदा यहाँका किसानले बर्सेनि करोडौंको नोक्सानी बेहोर्दै आएका छन् ।

सिँचाइ सुविधा भएमा कृषि उपजको उत्पादन कम्तीमा दोब्बरसम्म वृद्धि हुने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कृषि वैज्ञानिक रामदास चौधरी बताउँछन् । सिँचाइ सुविधा अभावमा कृषि उपजको उत्पादन घट्दा आयात बढेको छ । भारतबाट खाद्यान्न आयात बर्सेनि करिब १५ प्रतिशतका दरले बढ्दै गएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज नाकाबाट गत आव २०७५/०७६ मा मात्र रु.६ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी आयात हुने खाद्यान्नमध्ये चामल तेस्रोमा पर्छ । गत आवमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

बालुवा र गिटीमा चुन मिसाएर बनाएको घोल भ्वाङमा हाल्ने, वर्षाका बेला भलले नहरका किनारामा पुर्याउन सक्ने क्षति रोक्ने काम गर्ने र नियमित मर्मत–सम्भार गर्नुपर्ने सुझाव विज्ञहरुको टोलीले दिएको छ । विज्ञका सुझावका आधारमा भ्वाङ परेको क्षेत्रको मर्मत सम्भार सुरु गरिएको आयोजना प्रमुख कृष्ण नेपालले जानकारी दिए ।

‘मर्मत पनि परीक्षणकै रुपमा छ । त्यसको प्रतिक्रिया हेरेर मर्मत गर्ने विधि र प्रक्रिया यकिन गर्छौं,’ आयोजना प्रमुख नेपाल भन्छन्, ‘मर्मत टिकाउ हुन्छ कि हुँदैन भन्ने अन्योल कायमै छ ।’ परीक्षणकै क्रममा पटकपटक भत्केको यो नहरको बालापुर खण्डको ६ किलोमिटर क्षेत्रमा मात्र सयौं भ्वाङ परेका छन् । नहरका अन्य स्थानमा पनि समस्या देखिएका छन् ।

पछिल्लो समयमा निर्माण कम्पनी कुमार कालिका जेभीले कामको गति तीव्र पारेकाले कारण म्याद थप भएको मितिमा काम सम्पन्न हुने सम्भावना रहेको आयोजना प्रमुख नेपालले बताए । उनका अनुसार ठेक्काको म्याद सकिएको करिब एक महिनापछि पुसको १७ गते ठेक्काको म्याद १४ महिना अर्थात् २०७७ पुससम्म थपिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १०:०५