सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा क्यान इन्फोटेक : प्रतिश्पर्धामा टिकटक र पब्जी !

बाँके । नेपालगन्जमा क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म आजना गर्न लागिएको क्यान इन्फोटेकको तयारी तीब्र पारिएको छ । क्यान इन्फोटेक प्रचारप्रसार समितिका संयोजक शरद रिजालले यो पटकको इन्फोटेक बिगतका वर्षभन्दा बिशेष हुने हुने गरी तयारी तीब्र पारेको बताए ।

विश्वमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले नेपालगन्जमा पनि ‘प्रभु पे क्यान इन्फोटेक–२०२० ईन एशोशिएसन विथ वल्र्ड लिंक’ मेलाको आयोजना गर्न लागिएको हो । क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले क्यान इन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीको सहभागिता रहने जानकारी दिए ।

पाँच दिनसम्म सञ्चालन हुने मेला अवलोकनका लागि सर्वसाधारणलाई ३० रुपैंया र विद्यार्थीलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाइनमार्फत टिकट खरीद गर्नेलाई ५ रुपैयाँ छुटको ब्यवस्था गरिएको छ । आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको छ । मेलामा पत्रकार, अपाङ्ग, अशक्त तथा ७० वर्ष उमेर काटेका नेपाली नागरिकहरुलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइने आयोजकले जनाएको छ ।

मेलाको मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने र जसअन्तरगत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी, कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने अध्यक्ष शर्माले बताए ।

कम्प्युटर, मोबाइल तथा सूचना प्रविधिको बृहद प्रदर्शनी, अनलाइन अर्निग, आइटी सचेतना, अनलाइन बिलिङ्ग लगायत बिभिन्न विषयमा दैनिक बृदत प्रदर्शनी, रोबटिक फाइट प्रतिस्पर्धा, नेपाली बैज्ञानिकद्वारा निर्मित रोबट तथा अन्य प्रविधिको प्रदर्शनी, सफ्टवेयरको विकास गर्ने ह्याकाथुन प्रतियोगिता, पब्जी, फिपा लगायतका बिभिन्न खेलहरु, एग्रीकल्चर ड्रोनको प्रदर्शनी, फेसबुक, टिकटक प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १०:००