काठमाडौं । जबरजस्ती करणी उद्योगबाट सफाइ पाएका तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन अझै समय लाग्ने भएको छ । गृह जिल्ला दाङका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न सोमबार दाङ पुगेका महराले केही दिन उतै बिताउने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएका हुन् ।
‘हिजोमात्रै उहाँ दाङ जानुभएको छ । केही दिन गृहजिल्लामै बस्ने कार्यक्रम रहेको हुँदा संसद बैठकमा उपस्थित हुनुहुन्न,’ उनका सहयोगी डिल्ली मल्लले भने, ‘दाङबाट फर्केपछि मात्रै बैठकमा जानुहुन्छ । संसद सचिवालयका कर्मचारी रोशनी शाहीलाई जबरजस्तीको प्रयास गरेको आरोपमा उनी पक्राउ परी थुनामा रहेका थिए ।
झन्डै १३४ दिनसम्म प्रहरी हिरासत र थुनामा रहेका महरा भने जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएर गत फागुन ६ गते रिहा भएका थिए । जिल्ला अदालत काठमाडौंले उनले सफाइ पाएको जानकारी फागुन ७ संघीय संसद् सचिवालयमा पठाइएको थियो । उक्त जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमासमेत जानकारी गराएपछि महरालाई संसद बैठकमा फर्किन बाटो खुलेको थियो ।
उनी असोज १८ गते पक्राउ परेका थिए । उता, रोशनी शाही भने संसद् सचिवालयका नियमित काममा फर्किएकी छन् । उनले सोमवारबाट संघीय संसद् सचिवालयमा हाजिर गरी नियमित काममा फर्किएकी संसद् सचिवालयले जनाएको छ ।
सत्यपाटी ।