सूचनाको शक्ति - The Power Of Information

        

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनुभन्दा उचित प्रयोग सिकाउनु ठिक

काठमाडौं । बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । इन्टरनेट, मोबाइल र उपकरणको सही सञ्चालन र उपयोगबारे आमा जानकार नभए बालबालिकाको विकासमा बाधा पुग्ने हुँदा आमाहरूलाई सूचना र सञ्चार प्रविधिको ज्ञान दिलाउने अभियानको थालनी हुनुपर्ने जानकारहरू बताउँछन् ।

बालबालिकाले अधिकांश समय इन्टरनेटमा बिताए भन्ने दुखेसो गर्ने अभिभावकको सङ्ख्या बढिरहेकोले यस विषयमा छलफलहरू चलाउनुपर्ने विज्ञहरू बताउँछन् । बालबालिकाको क्षेत्रमा काम गर्ने सिविनकी कार्यकारी निर्देशक सुम्निमा तुलाधर भन्छिन्, ‘आमाले इन्टरनेट चलाउन बन्देज गर्ने नभई के चलाउने र कति समय चलाउने भन्ने सिकाउन सके राम्रो हुन्छ ।’

मोबाइल र विद्युतीय उपकरणमा बालबालिका व्यस्त हुँदा एकाङ्की हुने अभिभावकहरू बताउँछन् । मनोविद् मिनाक्षी दाहाल उपकरणको प्रयोगका कारण गम्भीर प्रकृतिका समस्याहरू कयौँ परिवारमा आइरहेको बताउँछिन् । दाहालका अनुसार मोबाइल र इन्टरनेटको सही प्रयोग नजान्दा नेपाली समाजमा भ्वाङ सिर्जना गरिरहेको छ ।

आफै नजानी के सिकाउने ?

नेपालको जनसङ्ख्याको ७० प्रतिशतको सङ्ख्यामा इन्टरनेट जोडिएका उपकरण छन् । ठूलो सङ्ख्यामा ती मोबाइल छन् । तुलाधरका अनुसार इन्टरनेटमा महिला प्रयोगकर्तामध्ये विभिन्न हिंसामा परिरहेका कारण उनीहरूलाई सही प्रयोग सिकाउन जरुरी रहेको बताउँछिन् ।

इन्टरनेटमा पहुँच हुने महिलाहरूको सङ्ख्या बढिरहेको देखिएपनि अधिकांश सामाजिक सञ्जाल प्रयोगमा सीमित भएको बताइन्छ । उनी भन्छिन्, ‘सामाजिक सञ्जाल चलाउने महिलाहरू अभद्र बोल्ने वा व्यवहार गर्ने मानिसहरूबाट आफ्नो बचाउ गर्न जान्दैनन् । सामान्य कुरा थाहा नपाएर कति महिलाहरू हिंसामा परिरहेका छन् ।’

महिला सहभागिता कम

महिलाहरूका लागि तालिम सञ्चालन गर्ने प्रविधिमा महिला नेतृत्वकी रजिना श्रेष्ठ प्राविधिक तालिम र गोष्ठीहरूमा महिला सहभागिता न्यून रहने गरेको अनुभव सुनाउँछिन् । इन्टरनेटमा पहुँच हुने महिलाहरूको सङ्ख्या बढिरहेको देखिएपनि अधिकांश फेसबुक, युट्युव र टिकटकको प्रयोगमा सीमित भएको उनको भनाइ छ ।

प्रविधिको विकासपछि बालबालिका खेलाउने र सिकाउने विषय र विधिमा पनि परिवर्तन गर्न आवश्यक रहेको जानकारहरू बताउँछन् । निजी विद्यालयको संस्था प्याब्सनकी उपाध्यक्ष दिपिका थापा भन्छिन्, ‘मोबाइल र इन्टरनेट चलाउन बन्देज होइन, कति समय चलाउने र के चलाउने भन्ने जानकारीसहित बालबालिकालाई मोबाइल चलाउन दिनुपर्छ ।’

नेपाल सरकारले सन् २०३० सम्ममा १५ देखि २४ वर्ष उमेर समूहका सबै महिलाहरूलाई इन्टनेटको पहुँचमा पुर्याउने लक्ष्य राखेको छ । तर इन्टरनेटको उचित प्रयोगबारे महिलालक्षित कार्यक्रमहरूको कुनै खाका अहिलेसम्म सरकारसँग नहुनु मुख्य चुनौती भएको जानकारहरूको भनाइ छ ।

थापाका अनुसार नेपालका विद्यालयमा पनि सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी अध्ययन अध्यापन भइरहेको छ । थापा भन्छिन्, ‘तर त्यसको व्यावहारिक, सही र सुरक्षित प्रयोगबारे पनि उनीहरूलाई बुझाउन पर्ने अवस्था छ । यस विषयमा गहन छलफल र बहसहरू हुनपर्छ र अभिभावकहरूलाई यस विषयमा यथेष्ट जानकारी दिनुपर्छ ।’ बीबीसी

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १२:०८