फाइल तस्वीर
बाँके । हात्तीपाइले रोग निवारणका लागि बाँकेको डुँडुवा गाउँपालिकामा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएपछि प्रदेश ५ को संसदमा खैलाबैला भएको छ । प्रदेशसभामा प्रदेशसभा सदस्य विजयकुमार यादवले तीन महिनाअघि नै म्याद सकिएको भेटिएको बताएपछि संसदमा खैलाबैला मच्चिएको हो । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य यादवले बाँकेको डुडुवा गाउँपालिका–२ मा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको बताएका थिए ।
उनले स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै बैठकमा आपत्ति जनाए । हात्तीपाइले निवारणको लागि बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा केही दिनअघि मात्रै औषधि खुवाइएको थियो । ती औषधिमध्ये बाँकेमा खुवाइएको औषधि म्याद गुज्रिएको भेटिएको हो । प्रदेश ५ को प्रदेशसभाका सदस्यहरुले हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधिको म्याद गुज्रेको भेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रदेशसभाका सदस्य सन्तोष पाण्डेले नेपाललाई औषधि प्रयोशगाला बनाइएको भन्दै त्यसलाई रोक्न माग गरे ।
गलत भ्रम नफैलाउन गाउँपालिका स्वास्थ्य शाखाको आग्रह
डुडुवा गाउँपालिकामा हात्तीपाइले रोगविरुद्धको म्याद गुज्रिएको औषधि वितरण गरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिएको घटनाप्रति डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । डुडुवाको बेतहनी स्वास्थ्य चौकी अन्तरगत वडा नंं २ का स्थानीय अज्ञाराम लोनियाको घरमा हेटराजन १०० एमजी नामक औषधिको म्याद गत २०१९ मा समाप्त भएको मितिको ट्याबलेटको पत्ता सामाजिक सञ्जालमा राखेर अरुलाई भ्रममा पार्नका लागि सुनियोजित ढङ्गले गाउँपालिकालाई बदनाम गरिएको स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।
म्याद नाघेका कुनै पनि औषधि गाउँपालिका अन्तरगत कुनै स्वास्थ्य चौकीमा नरहेको मौजदात खातामा देखिएको र त्यस्तो औषधि कसैलाई पनि वितरण नगरेको र पुरानो मौज्दात खातामा म्याद गुजे्रको औषधि नभएको स्वास्थ्य शाखाले जनाएको छ । सामाजिक सञ्जालमा यसरी समाचार आएपछि शाखा संयोजकको स्वास्थ्य टोलीले बेतहनी स्वास्थ्य चौकीमा अनुगमन गर्दा म्याद गुज्रेको कुनै पनि औषधि नभेटिएको भन्दै बुढाले उक्त घटनालाई खण्डन गर्दै अन्यत्र कतैबाट औषधि ल्याएर गाउँपालिकालाई नै बदनाम गर्ने कार्य भएको बताए ।
उनले स्वास्थ्य जस्तो संबेदनशिल विषयलाई लिएर गाउँपालिकाको नाममा गलत अफुवाह फैलाउने कार्य मानवको हितमा नभएको भन्दै यस्ता कार्य जो कोहीबाट भए पनि तत्काल रोक्न माग गर्दै सो घटनामा सत्यतथ्य पत्ता लगाउन छानविन समिति गठन गर्ने बताए । सो घटना बाहिर आएपछि जिल्ला स्वास्थ्य कार्यालयको टोलीले मंगलबार घटनास्थल बेतहनी स्वास्थ्य चौकीमा पुगेर औषधिको खोजतलास तथा अनुगमन गरेको छ । अनुगमनका क्रममा औषधि स्टोर तथा स्थानीय अज्ञारामको घरमा पुगेर समेत खोजतलास गर्दा स्वास्थ्य चौकीले वितरण गरेको कुनै पनि म्याद गुज्रिएको औषधि नभेटिएको पाइएको छ ।
लोनियाको घरमा ११ जनाको परिवारमध्ये १० जनाले औषधि सेवन गरेको र एक जनाले मात्र सेवन नगरेको दर्ता रेकर्डमा देखिएपनि बाँकी सिंगो औषधि अन्यत्रबाट ल्याएर बदनाम गर्न खोजिएको ठहर गरिएको हो । अनुगमनमा स्वास्थ्य कार्यालयका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्याय लगायतको सहभागिता थियो । हात्तीपाइलेविरुद्धको औषधि नेपाल सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालयले गाउँपालिकालाई पठाएको सम्पूर्ण रेकर्ड रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यसवर्ष हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिएको छ ।
सत्यपाटी ।