पाँच वर्षअघि रोल्पामा भेटिँदा उनी खबपु चञ्चल मगरका रुपमा चिनिन्थे । खबपुको पुरा अर्थ खड्गबहादुर पुन हो, जो अहिले रियालिटी शो कमेडी च्याम्पियन नेपालमा भाग लिन काठमाडौंमै छन् । एक साताअघि व्यंग गर्ने क्रममा उनले आफ्नै जिल्लाबाट सुरु भएको माओवादी युद्धलाई विषयवस्तु बनाए । तर त्यो खाली हसाउँन गरिएको प्रहसनमात्र थिएन, सिद्धान्त र दर्शनबाट विचलित माओवादीप्रतिको गुनासो पनि थियो ।
खबपुको क्रान्तिप्रतिको व्यंग शान्ति प्रकृया पछि बदलिँदै गएका माओवादी नेताहरु प्रतिको व्यंग थियो । माओवादीले ठूलाठूला सपना बाँडेका थिए । अभाव, अशिक्षामा पिल्सिएका रोल्पालीका लागि ती सपना यति सुन्दर थिए कि उनीहरुले जीवनमोह बिर्सिए । जीवन बदल्नका लागि बलिदानी दिन तयार भए । माओवादी युद्धको क्रममा सबभन्दा धेरै रोल्पाबाट मरे । सपनासँग जोड्दा जति सुन्दर थियो माओवादी युद्ध, त्यति नै असहज थियो यथार्थ भोग्नु ।
खबपु चञ्चल मगर त्यही यथार्थमा हुर्केका हुन् । शान्ति प्रकृयासँगै माओवादीहरु काठमाडौं छिरेपछि खबपुजस्तै धेरै रोल्पालीहरु पुरानै लयमा फर्किन बाध्य भए । युद्धपछिका दिनमा खबपु पनि एउटा आम मानिसको लयमा आए । आफ्नै खुबी र सीप प्रयोग गरेर बाँच्ने कोशिस गरे र गरिरहेका छन् । उनी भावना पोख्न गजल लेख्छन् । विरह पोख्न बाँसुरी बजाउँछन् । जीवन त उदासीमात्र हैन, रमाउनका लागि आफ्नै गाउँठाउँका भाका गाउँछन् । गाउँघरका घटना र दैनिकी जोडेर चुट्किला भन्छन् ।
बाँसुरीको धुन र चुट्किलाले एकछिन हसाउँछ जरुर, तर त्यसैले जीवन भने चल्दैन । त्यसका लागि उनले रोल्पामा स्टेसनरी पनि चलाए, जहाँ साहित्यदेखि पाठ्यक्रमका किताबसम्म बेचिए । यी सबै क्रान्तिले देखाएको सपनाभन्दा फरक अभ्यास र प्रयास थियो । यो अर्थमा खबपुका लागि क्रान्ति र समृद्धिको सपना देखाउनेहरु झुटा साबित भए । यस्तो अनुभूति गर्ने खबपु एक्लो रोल्पाली हैनन् । उनको अनुभूतिले अधिकांस रोल्पालीको पीडा र गुनासाको प्रतिनिधित्व गर्छ ।
क्रान्तिको नाममा चलेको माओवादी युद्धले पुरै देश प्रभावित पार्यो । तर यसको सुरुवात हुने जिल्लामध्ये रोल्पा किन पछि पर्न गयो ? हरेक क्रान्तिको बिज सबभन्दा पहिले एक व्यक्तिको मस्तिस्कमा अंकुरण हुन्छ । सबैभन्दा पहिले क्रान्तिको सपना माओवादीको कुन नेताको मस्तिष्कमा पलायो? यसको बहस वा खोजिनीतिको अर्थ अब खासै नरहला । तर माओवादी नेता अहिले कुन बाटोमा हिँडिरहेका छन् ? कुन मनोविज्ञानबाट निर्देशित छन् । उनीहरुको राजनीतिक उद्देश्य अब के छ? यी कुराहरुले भने अवश्य अर्थ राख्छ ।
साथै, क्रान्तिको उदगम थलो किन रोल्पा र रुकुमलाई नै किन बनाइयो ? आज खबपुको मनमा खेलेको पीडा र मस्तिष्कमा उब्जिएको पीडासँग अवस्य तादाम्यता राख्छ । निसन्देह यसको सम्बन्ध सामाजिक, आर्थिक अवस्था र राजनीतिक चेतनासँग पनि जोडिन पुग्छ । कम्युनिष्ट दर्शन र सिद्धान्तप्रति झुकाव राख्ने रोल्पालीको चेतनाले पनि रोल्पालाई माओवादी युद्धको उदगम थलो बनाउन मदत पुगेको हो । यसमा पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको योगदान छ । तर यो एउटा आधारविन्दु हो ।
राजनीतिक आस्थाका आधारमा सरकारले लगाउने झुटा मुद्धा साथै रोल्पालीले भोगिरहेको कष्ट, गरिबी, अभाव पनि माओवादी युद्धका आधार थिए । यही आधारमा अघि बढेको माओवादी युद्ध १० वर्ष चल्यो । माओवादी शान्ति प्रकृयामा आएको पनि १४ वर्ष भइसकेको छ । यहाँसम्मको यात्रामा माओवादीले जति परिवर्तन गरेको दाबी गर्छ, त्योभन्दा धेरै आफैं परिवर्तन भएको छ । सिद्धान्तबाट विमुख भएपछि सिद्धान्तका आधारमा माओवादीलाई विश्वास गर्नेहरु दुःखी हुनु स्वाभाविक हो ।
कुनै पनि स्थान विशेषको मानिस क्रान्तिमा लाग्नु उनीहरुको गल्ती हैन । त्यो सरकारको अदुरदर्शिता र असफलतासँग जोडिएको हुन्छ । रुकुम, रोल्पाका धेरै मानिसले माओवादी युद्धको समर्थन गरे । तुलनात्मक रुपमा रोल्पा रुकुमप्रति तत्कालीन राज्यसत्ता बढी आक्रामक पनि भयो । यही कारण अन्य जिल्लाको तुलनामा यी जिल्लामा धेरै सर्वसाधारणले ज्यान गुमाए । हिजो क्रान्तिको निम्ति बन्दुक बोक्न अभिप्रेरित गर्नेहरु आज सरकारमा छन् । अफसोस यसमा छ कि सत्तामा पुगेपछि माओवादी पनि पुरानै संरचनाको अंश भएको छ । राजनीतिको यो परिदृश्यमा रोल्पा, रुकुमले धेरै गुमाएर थोरैमात्र पाएको अनुभूत गरेको छ ।
ठूलो मुल्य चुकाएको रोल्पा, रुकुमले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताहरु जन्माएको छ । प्रायः हरेक सरकारमा केही थान मन्त्री पाएकै हुन्छ । नेता सरकारमा भएपछि त्यहाँका पढालेखाले राजनीतिक नियुक्ति पाएका छन् । तर यो उपलब्धी सीमित व्यक्तिका लागि हो । धेरैको नियति आज पनि उस्तै छन् । राजनीतिक स्टन्ट गर्न केही अनुपम योजना रोल्पा–रुकुम र्पुयाइएका छन् । सडक र पुलहरु बन्दैछन् । तर यी सरकार सञ्चालनका सामान्य प्रकृयाका परिणामभन्दा केही हैनन् ।
यी कामले हिजो क्रान्तिमा लाग्नेको जीवनमा तात्विक भिन्नता ल्याएको छैन । हिजो पनि गरिब रोल्पाली काठमाडौं आउँदा इँटाभट्टाको मजदुर हुन्थे । आज पनि त्यो नियति फेरिएको छैन । उनीहरु सिंहदरबारमा बसेका नेतालाई सजिलै भेट्न पाउँदैनन् । हिजो उनीहरुले आफ्नो गाँस काटेर खुवाएका नेता आज ठेकेदार र व्यापारीको भान्सा पुगेको तस्बिरसार्वजनिक हुन्छ । उनीहरु हिजो जसको निशानामा थिए, आज उनीहरुकै सुरक्षा घेरामा छन् । नेताको नियत बदलियो तर जनताको नियति यथावत छ ।
गुनासो यति हो कि हजारौको बलिदानी एकाध नेताको जीवन समृद्ध पार्न थिएन । अहिलेको राजनीतिक व्यवस्था विद्रोही माओवादी र खुल्ला राजनीतिमा रहेका राजनीतिक दलबीचको सम्झौताको परिणाम हो । १२ बुँदे सहमतिको परिणाम माओवादीले युद्धकालमा बाँडेको सपनाजस्तो हुँदैन भन्ने निश्चित थियो । यो सहमतिलाई विभिन्न माओवादी नेताले विभिन्न कोणबाट हेर्ने र व्याख्या गर्ने काम गरे । आजको दिनमा ती नेताहरु विभाजित भएर फरक–फरक राजनीतिक पसल खोलेर बसेका छन् ।
यद्यपि मूल जरो भने प्रचण्ड नेतृत्वको माओवादी नै हो, जो अहिले नेकपामा आबद्ध छ । सम्झौता अनिवार्य थियो, अन्यथा माओवादी निमिट्यान्न भएर जान्थ्यो भन्ने नेकपामा आवद्ध माओवादी समूुहको दाबी छ । माओवादीको यो विश्लेषण युद्धमा होमिएपछिको हो वा युद्धमा लाग्नुअगाडि नै थियो, यो छलफल र बहसको अर्काे पाटो हो । तर सम्झौताको बाटो हिडे पनि माओवादी यति बिघ्न स्खलित हुनुहुँदैन थियो । गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता तथा समावेशीता माओवादी आन्दोलनको देन हो । तर यी राजनीतिक परिवर्तनले मात्र जनताको जीवन परिवर्तन हुँदैन ।
हिजोको युद्धकालमा आहत भएका मनहरु यी परिवर्तन हेरेरमात्र खुसी हुन सक्दैनन् । यसका लागि सरकारले उनीहरुको जीवनशैलीमा सहजता ल्याउने काम गर्नुपर्छ । त्यसको निम्ति सफा नियत र उच्च नैतिकता चाहिन्छ । तर माओवादी नेताको नियत र नैतिकतामा माओवादी युद्धलाई नजिकबाट देखेका, भोगेकाले विश्वास गर्न छाडिसकेका छन् । हिजो संसार बदल्छौ भन्ने माओेवादीहरु, कर्मचारीको आनीबानीबाट आजित भयौं भनिरहेका छन् । उनीहरुको भनाइको आशय जनताको मतले निर्वा्चित नेताभन्दा लोकसेवा पास गरेर आएको कर्मचारी धेरै बलियो छ ।
तर यथार्थमा कर्मचारी बलियो हैन, हिजो क्रान्ति गर्नेहरुको मनोबल खस्किएको हो । जब नियत र नैतिकतामा खडेरी लाग्छ, निश्चय नै मनोबल कमजोर हुन्छ । संसार बदल्छौं भन्ने क्रान्तिकारी किन यति कमजोर भए ? यसको उत्तर सपाट छ । क्रान्ति उच्च नैतिकवानले उठाउने कदम हो । खुला राजनीतिमा आएपछि माओवादीले नैतिकता पुँजिवादीको जालोमा नराम्ररी बेरियो । खबपुको व्यंग एक थोक बोलेर अर्कै थोक गर्न उद्धत माओवादी नेताप्रति हो, सिंगो क्रान्तिप्रति हैन जहाँ खबपुजस्ता कैयौका सपनामाथि गरिएको कुठाराघात जोडिन पुग्छ ।
www.nepallive.com
भानु बोखिम ।