बाँके । बाँके कारागारको क्षमताभन्दा बढी लागुऔषधका मात्रै बन्दी धेरै छन् । कारागारको क्षमता २५० रहेकोमा ३०५ जना लागुऔषधका बन्दी धेरै छन् । कारागारमा अहिले ८२६ जना बन्दी छन् । यसमा ५३ जना महिला छन् । क्षमताभन्दा तेब्बर बढी बन्दी पुग्दा कारागारभित्र खुट्टा टेक्ने ठाउँ नभएको जेल प्रशासनले जनाएको छ ।
कारागारको ग्यालरीमा समेत बन्दीहरु सुत्छन् । रातीमा ग्यालरीमा हिँड्ने बाटोसमेत हुँदैन । दिउँसो ओछ्यान उठाउने भएकाले हिँड्न मिल्छ । जेलर देवेन्द्र श्रेष्ठले बन्दीको संख्या बढ्दै जादा कारागार अति नै सांघुरो भएको बताए । बाँके कारागार १५० जना क्षमताको हो । तर, भित्र केही संरचनाहरु बनाएर अढाई सय क्षमताको पुर्याइएको थियो ।
बाँकेमा दैनिकजसो आउने लागुऔषधका बन्दीले गर्दा कारागार खचाखच भइरहेको छ । जेलर श्रेष्ठका अनुसार, कारागारमा लागुऔषधका ३०५ जना, कर्तव्य ज्यानका १६२, जबरजस्ती करणीका १४० र डाँकाचोरीका ६२ बन्दी छन् । बाँके कारागार रिफरल सेन्टरको रुपमा विकास हुँदा बन्दीको चाप अझ बढ्ने गरेको छ ।
अन्यत्र जिल्ला कारागारबाट बिरामी बन्दीलाई बाँकेमा पठाउने गरिन्छ । बाँकेमा ठूलाठूला अस्पताल रहेकाले उपचारको सुविधा रहेको छ । कारागारमा बन्दीको चाप बाँकेमात्रै होइन, देशभरी नै रहेको छ । सरकारले जिल्लाको दुई ठाउँमा क्षेत्रीय र खुल्ला कारागार बनाउन थाले पनि द्रुतगतिमा काम हुन सकेको छैन । यी दुई कारागार बन्दा बाँके कारागारमा अलि सहज हुने जेलर श्रेष्ठले बताए ।
सत्यपाटी ।