सूचनाको शक्ति - The Power Of Information

        

१८७ नेपाली वुहानबाट शनिबार काठमाडौं उड्ने

काठमाडौं । नेपालले चीन वुहानस्थित कोरोना प्रभावित क्षेत्रबाट उद्धार गर्ने नेपालीहरुको लागि शनिबार दिउँसो ४ बजेर ४५ मिनेटमा उडानका लागि प्रस्ताव गरेको छ । बुधबार नेपालले चिनियाँ पक्षलाई उद्धार उडानका लागि विस्तृत विवरण पठाउँदै त्यससम्बन्धी दिउँसो पौने ५ बजे (चिनियाँ समयअनुसार साँझ ७ बजे) समय प्रस्ताव गरेको हो ।

चीनले उद्धार उडानका लागि तीन दिनअघि नै बिस्तृत विवरण पठाउन नेपाललाई आग्रह गरेको थियो । सोही अनुसार नेपाली पक्षले बुधबार चीन सरकारलाई विवरण पठाएको हो । बेइजिङस्थित नेपाली राजदूतवासका उप–प्रमुख सुशील लम्सालले चिनियाँ पक्षले अहिलेसम्म यस विषयमा निर्णय दिइनसकेको बताए । चीनमा कोरोना भाइरसको महामारी फैलिएको हुबेइ प्रान्तमा रहेका १८७ जना नेपालीले उद्धारका लागि आग्रह गरेका उपप्रमुख लम्सालले बताए ।

‘अहिलेको अवस्थामा चीनले उद्धारका लागि गरिएको उडानहरु राति अबेर गर्दै आएको छ । चिनियाँ पक्षबाट केही ढिलो गरी उडान अनुमति प्राप्त हुने सम्भावना रहेको छ,’ लम्सालले भने, ‘हामीले चीनलाई उडानका विस्तृत विवरण प्रस्तुत गरेका छौं । चिनियाँ पक्षले शनिबार रातिकै समय दिने सम्भावना छ ।’ नेपाल सरकारले चीनमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान पठाउने तयारी गरेको छ । लम्सालले नेपालबाट उद्धार टोलीमा चालक दलका १५ र चार जनाको चिकित्सक टोली रहने बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०८:०६