सूचनाको शक्ति - The Power Of Information

        

आइसीसी क्रिकेटमा नेपालको कीर्तिमानी जीत, अमेरिका आठ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो ।

यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । यसअघि जिम्बाब्वे पनि श्रीलङ्काविरुद्ध सन् २००४ मा १८ ओभरमा ३५ रनमा नै समेटिएको थियो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए । ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए । योसँगै नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला समाप्त भएको छ । प्रतियोगितामा नेपालले दुई जित र दुई हार व्यहोर्दा ओमानले चार जित हासिल गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ११:४६