सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरीमा पारदर्शीताको प्रश्न : बरामद गरेको लागुऔषध खोई ?

बाँके । प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारहतार पत्रकार सम्मेलन या प्रेस विज्ञप्तीमार्फत सार्वजनिक गर्छ । तर, त्यही लागुऔषध नष्ट गर्दा प्रमाण भेटिदैन । बरामद लागुऔषध नष्ट गर्ने कानूनी प्रक्रिया लामो भए पनि प्रहरीसँग अहिलेसम्म नष्ट गरिएको न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिन्छ ।

फलस्वरूप बाँके प्रहरीले बरामद गरेको लागूऔषध बिक्री वितरण गर्ने गरेको आरोप खेप्दै आएको छ । बरामद गर्दा प्रहरीले पत्रकारलाई साक्षीकारूपमा बोलाउने गरेको छ । तर, नष्ट गर्दा अहिलेसम्म पत्रकारलाई साक्षी राखेको रेकर्ड छैन । यसैले पनि बरमद गरिएको लागूऔषधको कारोबारमा प्रहरी संलग्ता रहेको प्रष्ट हुँदै आएको छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा लागूऔषध नष्ट गर्न समिति नै गठन गरिएको हुन्छ । उक्त समितिलाई समेत अहिलेसम्म लागूऔषध प्रहरीले नष्ट गरे नगरेको कुनै जानकारी छैन । कानून अनुसार कुनै पनि लागुऔषध बरामद भइसकेपछि त्यसलाई प्रक्रिया पु¥याएर नष्ट गर्नुपर्छ ।

तर, वार्षिकरुपमा ठूलो परिणाममा लागुऔषध बरामद् भए पनि अहिलेसम्म नष्ट गर्ने काममा पारदर्शिता देखिएको छैन । बरामद सबै लागुऔषध कानूनी प्रक्रिया पूरा गरेर अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, कानून व्यवसायी पत्रकार र प्रहरीलगायत सबैको रोहबरमा नष्ट गर्नुपर्छ । यद्यपी बाँकेमा यस्तो समिति कागजमै सिमित छ ।

लागूऔषध नष्ट गर्ने समयमा यो समितिको सहभागीता प्रहरीले कहिले पनि गराउँदैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं बाँकेमा आउने कुनै पनि प्रहरी प्रमूखले अहिलेसम्म बरामद गरेको लागूऔषध नष्ट गरेको सार्वजनीक भएको छैन । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लागूऔषध नष्टका बिषयमा आफू अनभिज्ञ भएको बताए ।

यद्यपी उक्त समितिको संयोजक प्रजिअ नै हुने प्रावधान छ । संयोजक नै अनबिज्ञ भएपछि समितिका अन्य पदाधिकारीलाई प्रहरीले बारमद गरेको लागूऔषध नष्ट गरेको थाहा हुने कुरै भएन । प्रजिअ खड्काले भने, ‘यस बिषयमा मलाई थाहा छैन । नष्ट गर्दा बरामद गरिएको लागुऔषध दुरुपयोग हुने नहुने हामीलाई थाहा हुँदैन । प्रहरीलाई नै सोध्नुपर्छ ।’

प्रहरीले कुनै पनि लागुऔषध बरामद गरिसकेपछि हतारमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गर्ने गर्छ । तर, त्यही लागुऔषध नष्ट गरेको प्रमाण भेटिँदैन । बरामद लागुऔषध नष्ट गरिएको प्रहरीसँग न त कुनै आधिकारिक प्रमाण छ, न त सार्वजनिक नै गर्ने गरिएको छ । बाँके प्रहरीले पटक–पटक लागुऔषध बरामद गर्दै आएको छ ।

बरामद गरिएको लागुऔषध नष्ट भने गरेको कुनै खबर सार्वजनिक हुँदैन । प्रहरीले अहिलेसम्म कति आगुऔषध बरामद गर्यो त्यसको रेकर्ड प्रहरीसँगै छैन । कति परिमाण नष्ट गरिएको भन्ने प्रहरीलाई नै जानकारी हुँदैन । प्रहरीको बनावटी जवाफ हुन्छ, ‘सबै नष्ट भयो ।’ घरेलु मदिरा बरामद गर्दा सार्वजनीक गर्ने प्रहरी लागूऔषध नष्ट गर्दा सार्वजनीक गर्दैन ।

नष्ट गरेको प्रमाण सार्वजनिक नहुने भन्दै बाँकेका प्रहरी प्रमुख एव. प्रहरी उपरीक्षक बीरबहादुर ओलीले अहिलेका एसपी वीरबहादुर ओलीले बरामद गर्दा र नष्ट गर्दा पत्रकारलाई बोलाउनुपर्ने कानूनी प्रावधान नभएको दाबी गरे । तर, उनले आइतबार मात्रै कानून विपरित पत्रकारलाई साक्षी राखेर लागूऔषध बरामदका बारेमा सूचना दिए ।

यद्यपी अहिलेसम्म नष्ट गर्दा पत्रकारलाई साक्षी राखेको रेकर्ड देखिदैन । उनले भने, ‘अहिलेसम्म लागूऔषध नष्टका बारे सूचना बाहिरएका छैनन् अब म यो पछिल्लो समयमा बरामद भएका लागूऔषध नष्ट गर्दा पनि त्यसैगरी पत्रकारलाई साक्षी राख्छु र सूचना दिन्छु ।’ वर्षेनि लागूऔषध कारोबारको पारो उक्लिदै गए पनि नियन्त्रणमा प्रहरी असफल हुँदै छ ।

प्रहरीले ब्राउनसुगरसहित चरेश, अफिम तथा लागूऔषध ट्याब्लेटहरू पनि ठूलो मात्रामा बरामद गर्ने गरेको छ । तर, पक्राउ परेको लागूऔषध कसरी, कहाँ र कहिले नष्ट गरिन्छ या कहाँ जान्छ ? यस विषयमा अधिकांशलाई थाहै हुँदैन । महंगो मूल्य पर्ने लागुऔषध प्रहरीबाट दुरुपयोग भएको हुनसक्ने सर्वसाधारणको आशंका छ ।

नष्ट गरेको प्रमाण किन सार्वजनिक गरिएन त ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन । यसले बरामद भएको लागुऔषध प्रहरीबाटै पुनः प्रयोगकर्तासम्म पुग्ने गरेको आम नागरिकको आशंका छ । ‘बरामद्को प्रमाण सार्वजनिक हुन्छ । तर नष्ट गर्न थुप्रै निकायहरु संलग्न हुने भएकाले सार्वजनिक नगरेर प्रहरीबाटै विक्री वितरण भएको हुनसक्न एक सर्वसाधारणले बताए ।

उनले भने, ‘बरामद गर्दा सार्वजनीक गर्ने प्रहरीले नष्ट गरेको कुनै प्रमाण देखाउन नसक्नुले प्रहरीबाटै पुनः प्रयोगकर्तासम्म पुगेको हुनुपर्छ । नत्र नष्ट गर्ने समयमा सार्वजनिक गर्न प्रहरीलाई कसले रोक्यो ?’ सामान्य हिसाबमा हेर्ने हो भने पनि बरामद् गरेको लागुऔषध सार्वजनिक गर्न हुने तर नष्ट गरेको सार्वजनिक गर्न नहुने भन्ने छैन ।

पारदर्शीताका साथ नष्ट गर्दा बरामद् लागुऔषधको विषयमा कसैले प्रश्न उठाउन सक्दैनन् । कानूनी प्रक्रिया पूरा गरिसकेपछि बरामद लागुऔषध नष्ट गरिन्छ यसमा दुईमत छैन तर पारदर्शी भएर गर्नु उपयुक्त विधि हो । ‘अहिलेसम्म जुन प्रक्रियामा नष्ट भए पनि अबदेखि पारदर्शीता देखाउँदा राम्रै हुन्छ,’ बाँके प्रहरीका एक अधिकारीले भने ।

प्रहरीले बरामद गरेको लागुऔषध सीमित व्यक्तिहरुको रोहबरमा नष्ट गरिने भनिए पनि कति परिमाणमा नष्ट गरियो ? कुन कुन लागुऔषध नष्ट गरियो ? बरामद भएको अनुपातमा नष्ट गरियो कि गरिएन ? यस विषयमा प्रहरीले कुनै प्रमाण दिन नसक्नुले पारदर्शितामा प्रश्न उठाउने प्रशस्त ठाउँ भेटिन्छ ।

आगूऔषधका प्रयोगकर्ता तथा कारोबार गर्ने गरिव, अशिक्षितमात्रै होइन, शिक्षित, उच्च घरानाका किशोर युवाहरु बढी यस्तोमा लागेको तथ्यांकले देखाएको छ । प्रहरीको कमजोर सक्रियताकै कारण पढ्ने लेख्ने उमेरका किशोर किशोरीहरु मात्रै नभएर वयस्कहरु पनि लागूऔषधको दलदलमा फसिरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ०८:११