सूचनाको शक्ति - The Power Of Information

        

सल्ली खोलामै कुहियो ३०० क्वीन्टल चामल

सिमकोट । स्थलमार्गबाट काठमाडौं–केरुङ्ग–हिल्सा हुँदै जिल्लाको सल्ली खोला पुगेको ढुवानी अनुदानको ३०० क्वीन्टल चामल बीच बाटोमै कुहिएको छ । चामल नभएर स्थानीयले खाद्यान्नको समस्या झेलिरहेका बेला राज्य कोषको रकमले ढुवानी भएको नेपाल खाद्य संस्थानले उपलब्ध गराउने चामल प्रयोग गर्न नमिल्ने गरेर कुहिएको हो ।

चीनको बाटो प्रयोग गरेर स्थल मार्ग हुँदै आर्थिक वर्ष २०७५/०७६ आइपुग्नुपर्ने चार हजार क्वीन्टल चामलमध्ये पुस महिनासम्म टिप्परबाट सिमकोट ढुवानी भएको चामल तीन हजार ७०० क्वीन्टल चामलमात्रै जिल्ला पुगेपनि ३०० क्वीन्टल चामलबीच बाटोमै कुहिएको खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले बताए ।

यातायातको राष्ट्रिय सञ्जालमा नजोडिएको जिल्लामा नेपाल सरकारले ढुवानी अनुदानमा दिँदैं आएको चामल पुर्याउन निजी विमान कम्पनीले समयमा ढुवानी नगर्ने र राज्यलाई पनि व्ययभार बढी पर्ने भएपछि काठमाडौं–केरुङ्ग–हिल्साको मार्ग भएर केही वर्ष पहिले सरकारले उक्त मार्गबाट चामल ढुवानी गर्न थालेको थियो ।

गएको आर्थिक वर्षका लागि स्थलमार्ग हुँदैं सिमकोटका लागि ल्याउने भनिएको चार हजार क्वीन्टल चामलमध्ये ३०० क्वीन्टल चामल संस्थान र ठेकदारको लापरबाहीका कारण सिमकोटबाट झण्डै १५ कोषको दुरीको सल्ली खोलामा कुहिएको हो । गत भदौदेखि केरुङ्ग हुँदै हिल्सा पुगेको उक्त चामल असोज र कात्तिक महिना टिपरबाट सिमकोट ओसार्न थालिएको संस्थान शाखा कार्यालय हुम्लाले जानकारी दिएको छ ।

ढुवानी भएर सल्ली पुगेको चामल ठेकदार र खाद्य संस्थान जिल्ला कार्यालयले समयमै सिमकोट ढुवानी गर्नमा ध्यान नदिएकाले बाटोमै कुहिएको हो । तर संस्थानको सिमकोट कार्यालयले भने हिमपातका कारण ढुवानी हुन नसकेर चामल कुहिएको दाबी गरेको छ । ‘मंसिर महिनाको अन्तिम सातादेखि जिल्लामा निरन्तर हिमपात भएको छ ।’ शाखा प्रमुख प्रमुख विष्टले भने, ‘सिमकोट पुग्नुपर्ने बाँकी रहेको तीन सय क्वीन्टल चामल हिमपातले कुहिएको होला ।’

भारी हिमपातले सल्ली खोलाको एक निजी घरमा प्लाष्टिकको भरमा छोपेर राखिएको चामल कुहिएको उनले बताए । जिल्लाका नागरिकले एक केजी चामल पाउन गाउँबाट सिमकोटमा रहेको खाद्य संस्थानको गोदाममा झण्डै चार घण्टाको पैदलकै दुरीमा यतिठूलो संख्यामा चामल कुहिएको प्रति जिल्लाका स्थानीयले भने विरोध गरेका छन् । बल्लबल्ल एक वर्षपछि जिल्लामै पुगेको चामल स्थानीयले पैसा तिरेर किन्न नपाउने तर बीच बाटोमै कुहिनुमा चामल ढुवानीको जिम्मा लिएका ठेकेदार र संस्थानका कर्मचारीबीच मिलेमतो हुनसक्ने स्थानीयको आशंका छ ।

काठमाडौं केरुङ्गबाट आउन ६ दिन लगाएर सल्ली पुगेको चामल बाटोमा नै कुहियो भन्नु निकै दुःखद् कुरा हो,’ सिमकोट–२ का महेन्द्र बोहोराले भने, ‘हरेक वर्ष हुने चामलमाथिको राजनीतिकै कारण बाटोमै त्यत्रो चामल कुहिएको हो ।’ उनका अनुसार ठेकेदारको चरम लापरबाही र ढिलासुस्तीले स्थलमार्गबाट सल्ली खोलामा पुगेको चामल सिमकोट नपुगेर बीच बाटामै कुहिएको छ ।

हवाईमार्ग र स्थलमार्गबाट हुम्लामा चामलको ढुवानीको जिम्मा लिएका चंखेली देउती बज्यै जेभिका प्रमुख धु्रब शाहीले त्यस विषयमा आफूलाई कुनै थाहा नभएको जानकारी दिए । ‘आफ्ना कर्मचारीसँग के भएको रहेछ म सोध्छु,’ उनले भने, ‘भदौ÷असोजको वर्षा र मंसिर यता परेको भारी हिमपातले चामल कुहिएका होलान् ।’ राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका यस क्षेत्रका स्थानीयबासी दैनिक पिठ्यूँमा भारी बोकेर जिविकोपार्जन गर्दै आएका छन् । रासस

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार १०:४५