सूचनाको शक्ति - The Power Of Information

        

तीन घण्टा हिँडेर विद्यालय पुग्छन् बालबालिका

प्यूठान । गौमुखी गाउँपालिका–६ लिवाङ, डाफ्लेमा रहेको बाल विकास केन्द्रमा शैक्षिक सत्र २०७६ बाट पठनपाठन सुचारु भएको छैन । बाल विकास केन्द्र खारेज भएसँगै त्यहाँ रहेका १८ जना बालबालिका शैक्षिक पहुँचबाट वञ्चित भएको बालिका रक्षा जिसीका बुबा सुन्दर जिसीले बताए ।

डाफ्लेमा २०५२ सालदेखि बाल सुधार प्राथमिक विद्यालय सञ्चालन हुँदै आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बोहोराले बताए । बालविकास केन्द्रमा पालिका अध्यक्ष, विद्यालय निरीक्षक लगायतको टिमले अनुगमन गरि विद्यार्थी नै नभएको भन्दै शैक्षिक सत्र २०७६ सालबाट पढाई बन्द गरेको बोहोराले बताए ।

प्राथमिक विद्यालय खारेजीसँगै बालबालिकाहरुले खेल्दै, सिक्दै, पढ्दै आएको बाल विकास केन्द्र खारेज गरिँदा बालबालिकाहरु पढाईबाट बञ्चित भएको अभिभावकहरुको गुनासो छ । यस क्षेत्रको बालविकास गौमुखी गाउँपालिका–४ पुँजास्थित बाल जीवन सुधार आधारभुत विद्यालयमा गाभिएकोले बालबालिकाहरु ३ घण्टा हिँडेर विद्यालय पुग्ने गरेका छन् ।

घरधुरीको बालबालिकाहरुको स्थलगत सर्वेक्षण गर्दा ४ वर्षमाथिका ५ वर्षमूनीका ३÷४ जनामात्र बालबालिका भएकाले बालविकास केन्द्र बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताए । २०७० सालमा प्रावि खारेज भए पनि बाल विकासको पढाई हुँदै आएको थियो ।

डाफ्लेका स्थानीयको भेलाले बालसुधार बालविकास केन्दलाई पूर्ववत अवस्थामा नियमित सञ्चालन गरिदिन गौमुखी गाउँपालिका, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्युठान, सामाजिक विकास मन्त्रालयमा निवेदनका साथ अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतवार ११:५५