
फाइल तस्वीर
बाँके । खेत, खोला र सीमसार क्षेत्रमा पाइने ‘खोले साग’ अहिले नेपालगन्जका ग्राहकले अत्याधिक रुचाउन थालेका छन् । छिपछपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलाई ‘खोले साग’ भनिन्छ । कतिपय ठाउँमा यसलाई सीम साग र पालुङ्गे साग भन्ने गर्दछन् । पछिल्लो समय नेपालगन्जमा यही ‘खोले साग’ चर्चित छ ।
कर्णाली र दाङको खोले सागले बजार पाएको छ । साग बिक्री वितरणले धेरैको रोजीरोटी चलाएको छ । ‘धेरैले रुचि मानेर किनेर लैजानुहुन्छ’, नेपालगन्जको धम्बोझीचोक नजिकै साग बेच्दै आकी सावित्री वलीले भनिन्, ‘ग्राहकलाई पुर्याउनै सकिएको छैन ।’ कर्णालीमा मात्रै नभई दाङबाट समेत आयात भइरहेको खोले सागको बिक्री राम्रो भइरहेको उनले बताइन् ।
खोलामा खेर गइरहेको खोले सागप्रति स्थानीयवासीको अत्यधिक माग रहेको छ । बजारमा सागको माग बढ्न थालेपछि गाउँका किसानले खोलाबाट संकलन गरेर बिक्री गर्दै आइरहेका छन् । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने सागको माग गर्मी मौसममा अझै धेरे हुने गर्छ । गर्मी मौसममा अन्य सागको उत्पादन कमै हुने भएकाले पनि खोले सागको माग बढ्दो छ ।
पूर्णरुपमा अग्र्या्निक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग धेरै बताइएको छ । साग बिक्री गरेर सिजन अनुसार करीब रु २० हजारसम्म कमाइ हुने गरेको वलीले जानकारी दिइन् । ‘एकपटक उम्रिएको ठाउँबाट निकाल्दा पनि निरन्तर उम्रिरहने भएकाले आम्दानी पनि भइरहन्छ,’ उनले भनिन् । उनले नेपालगन्जमात्रै नभएर बुटवलसम्म पनि साग पठाउने गरेको बताइन् ।
गाउँदेखि शहरसम्म सागको माग बढ्न थालेपछि खोलामा त्यसै खेर गइरहेको खोले साग टिपेर राम्रो आम्दानी भइरहेको साग बिक्री गर्न दाङबाट नेपालगन्ज आइपुगेकी उमा केसीले बताइन् । ‘खोलामा खेर गइरहेको सागको नेपालगञ्जमा माग बढेको छ,’ उनले भनिन् । वर्षमा खोले साग बेचेरै रु ३५ हजारसम्म कमाउने गरेको उनले बताइन् । उनका अनुसार मङ्सिरदेखि चैतसम्म खोलामा खोले साग उत्पादन हुन्छ ।
‘विशेष गरेर फागुनदेखि चैतसम्म यसको माग अत्यधिक हुन्छ,’ केसीले भनिन्, ‘चैत–वैशाखमा त यतिधेरै माग बढ्छ कि पुर्याउनै सकिन्न ।’ उनका अनुसार सङ्लो पानी बग्ने स्थानमा साग हुन्छ । पानी फोहरमैलो र रसायनयुक्त हुन थालेमा खोले साग आफैँ नष्ट भएर हराउँछ । त्यसैले यसमा कुनै रसायन प्रयोग हुँदैन । मल विषादी प्रयोग नगरिने हुँदा अग्र्यानिक पनि हुन्छ । साग खाँदा कब्जियत, कुपोषण र आँखाको समस्या भएकालाई प्रत्यक्ष फाइदा पुग्ने उपभोक्ताको विश्वास गर्दछन् ।
सत्यपाटी ।