सूचनाको शक्ति - The Power Of Information

        

बर्षकै सर्वोत्कृष्ट तस्बीरभित्रको हृदयविदारक कथा

काठमाडौं । बजरंगी मिश्र जम्मा दुई बर्षका थिए । हाइड्रोसेफालुस रोगका कारण उनको अकालमा मृत्यु भयो । मृत्युपूर्व उनले आमालाई हात हल्लाए । फोटो पत्रकार नभेष चित्रकारको क्यामेरामा कैद भयो त्यो नमिठो परिदृश्य । त्यहि तस्बीर यस बर्षको सर्वोत्कृष्ट भएको छ ।

आइएमई–ग्लोबल बैंक नेपाल फोटो प्रतियोगितामा चित्रकारको तस्बीर उत्कृष्ट घोषित भयो । एजेन्सी फ्रान्स प्रेस (एएफपी)का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उक्त तस्बिरलाई उत्कृष्ट घोषणा गरेको हो । उक्त तस्बीरका बिजेताले एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् ।

चित्रकारको उक्त तस्बीरसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान पायो । शिखर इन्स्योरेन्स नेपाल स्माइल विधामा सुरज श्रेष्ठको तस्बीरले जित हासिल गर्यो । अर्घाखाँची सिमेन्ट न्युज विधामा दिपेन श्रेष्ठको तस्बिरले जित्यो भने नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, डिसहोम स्पोर्टस विधामा विकास द्वारे र नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम घोषित भयो ।

प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन् । नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो । पुरस्कार हस्तान्तरणपछि निर्णायक मण्डलका सदस्य शेखर खरेलले ६ हजार फोटोबाट उत्कृष्ट फोटो छान्न निकै कठिन भएको बताए ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १७:४८