सूचनाको शक्ति - The Power Of Information

        

करमोहना गाउँमा रुवावासी

बागेश्वरी मन्दिर जग्गा प्रकरण

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । करमोहनाकी लज्जावती बढई नेपालगन्जको बागेश्वरी मन्दिरमा भेटिइन् । छिमेकी रहेका महन्त हरहरिनाथ योगीलाई भेट्न बढई करमोहनादेखि हिडेर मन्दिरसम्म आएकी थिइन् । मन्दिर परिसरमा महन्तसँग बढईले लामै कुराकानी गरिन् । बढईलाई आफ्नो जग्गाको चिन्ता थियो ।

‘अब के हुन्छ ?, सरकारले जग्गा फिर्ता लैजान्छ ?, बढईको प्रश्न थियो । बढईको घरसहितको चार कठ्ठा जग्गा सरकारले दावी गरेको बागेश्वरी मन्दिरको ८४ विगाहाभित्र पर्छ । अब के हुन्छ ? को जवाफ कतैबाट पाउन नसकेपछि महन्तसँग त्यसको जवाफ छ कि भन्ने आशा गरेर बढई मन्दिरसम्म आइपुगेकी थिइन् । के जवाफ पाउनुभयो त ? बढईले भनिन्, ‘गुरुज्यूले गए सबैको जग्गा जान्छ भन्नुहुन्छ ।’

सरकारले मन्दिरको भनेर दावी गरेको जग्गाबारेमा अब के हुन्छ ? यो बढईको मात्रै होइन, करमोहनावासीको प्रश्न बनेको छ । करमोहनावासी यतिबेला चिन्तासँगै आक्रोशित छन् । केही दिनदेखि नेपालगञ्जमा आउदै आन्दोलन गरिरहेका छन् । सरकारले जग्गासमेत रोक्का गरिसकेको छ । जग्गा धितो राखेर व्यवसायी गर्न तम्सेकाहरु पछाडी हट्नुपरेको छ । घरबास के हुन्छ ? सबैको चिन्ता छ ।

करमोहनाका अगुवा तुलाराम कुर्मी यतिबेला गाउँमा रुवावासी रहेको बताउँछन् । ‘सरकारको प्रतिवेदन बाहिर आएको छैन । पत्रपत्रिकामा ८४ विगाह जमिन सरकारले फिर्ता लैजान्छ भन्ने समाचार आएका छन् । करमोहनावासीलाई पीडा, चिन्ता र आक्रोश छ,’ कुर्मीले भने, सरकारले वास्तविकता बुझ्नुपर्छ । दुईदिन दुईजना आएर घुमेर गएको भरमा तयार गरिएको प्रतिवेदनलाई आधार मान्नुहुँदैन ।’

बागेश्वरी मन्दिरलाई तिरो तिर्दै आएका करमोहनावासी धेरैजसो रैथाने छन् भने केही पछि जग्गा किनेर बसेका छन् । बागेश्वरी मन्दिरको भनिएको केही जग्गा मूलमहन्त चन्दननाथ योगी र महन्त हरहरिनाथ योगीको नाममा गएको देखिन्छ । त्यसमध्येमा मूलमहन्त चन्दननाथले धेरैजसो जग्गा बेचिसकेका छन् भने महन्त हरहरिनाथले बेचेका छैनन् । ‘सरकारले लगे सबैको जग्गा लैजान्छ । हामीले कराएर हुँदैन, महन्त हरहरिनाथले भने, ‘म त गाउँमा गएको पनि छैन ।’

बागेश्वरी मन्दिरको सम्पति हिनामिना भएको चर्चा भएपछि सार्वजनिक, सरकारी, गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको टोली नेपालगन्ज आएर अध्ययन गरेको थियो । अध्ययन टोलीले मन्दिरको ८४ विगाह जमिन व्यक्तिको नाममा गएको निष्कर्ष निकालेर सरकारलाई प्रतिवेदन बुझाएको छ । करमोहनावासीले मन्दिरलाई करमात्रै तिरेको तर जग्गा आफ्नै भएको दावी गरेर आन्दोलन गरिरहेका छन् ।

यता नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले करमोहना जग्गा रोक्का सरकारले गरेको स्पष्ट पारेका छन् । ‘उपमहानगरपालिका, बागेश्वरी मन्दिर व्यवस्थापन समितिको यसमा कुनै हात छैन,’ बागेश्वरी मन्दिर गुठी व्यवस्थापनका समितिका अध्यक्षसमेत रहेका मेयर डा. राणाले भने, ‘मन्दिरको जग्गा व्यक्तिको नाममा पार्नेलाई कारबाही हुनुपर्छ भन्नेमा हामी लागेका छौं ।’

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार १२:४३