सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज मेडिकल कलेजको अवैध धन्दा, विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै

बाँके । एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीबाट विभिन्न शीर्षकमा निजी मेडिकल कलेजले बर्सेनि करोडौं असुल्छन् । कलेज प्रशासनले शुल्कको विषय सार्वजनिक गरे निष्कासनको धम्की दिन्छ । अभिभावक निरीह हुँदै तिर्छन् । सन्तानको भविष्य सम्झँदै तैं चुप मैं चुप रहन्छन् । नेपालगन्ज मेडिकल कलेजले पनि चिकित्सा शिक्षा आयोगको निर्देशन अवज्ञा गर्दै एमबीबीएसका विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्न थालेको छ ।

विद्यार्थी र अभिभावकलाई प्रलोभन, त्रास र धम्की दिएर कलेज सञ्चालकहरूले शैक्षिक सत्रको सुरुमै बढी शुल्क असुलेका हुन् । २९ लाखभन्दा बढी अतिरिक्त शुल्क उठाउने प्रयास गरेको नेपालदगन्ज मेडिकल कलेजले केही विद्यार्थीसँग कबुलियतनामा गराइसकेको छ । कबुलियतनामामा भर्ना, परीक्षा लगायत शीर्षकमा थप शुल्क लिने उल्लेख छ । कलेजले एमबीबीएसका विद्यार्थीबाट तीन लाख ३० हजार रुपैयाँका दरले अतिरिक्त शुल्क उठाएको छ ।

चार लाख ३० हजार रुपैयाँको दरले अतिरिक्त रकम माग गरेको कलेजले एक लाख रुपैयाँ घटाएर बढी शुल्क असुलेको अभिभावकहरूले बताए । कलेजले इन्टर्नसिप शुल्क दुई लाख रुपैयाँ, धरौटीबापत एक लाख रुपैयाँका, विश्वविद्यालय र मेडिकल काउन्सिल दर्ता शुल्क भनेर ३० हजार रुपैयाँका लिएको अभिभावकको गुनासो छ । ‘बढी रकम नदिएसम्म कलेज र होस्टल छिर्न दिइएन, बाध्य भएर तिर्नुपर्यो,’ एक अभिभावकले भने ।

चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयले कडाइ गर्न नसक्दा गत वर्षजस्तै कलेज सञ्चालकले बढी रकम असुलिरहेको ती अभिभावकले बताए । ‘अभिभावकलाई बढी पैसा नतिर्नु भनियो, सरकारले बढी पैसा नलिनु भनेर कलेजलाई कडाइ गर्न सकेन,’ उनले भने, ‘मेडिकल कलेजहरू गत वर्षजस्तै छाडा भएर पैसा उठाइरहेकाले बाध्य भएर तिर्नुपर्यो ।’ अतिरिक्त शुल्कका विषयमा कलेज सञ्चालकहरू प्रतिक्रिया दिन मान्दैनन् ।

अधिकांश मेडिकल कलेज सञ्चालक कुनै न कुनै राजनीतिक दलमा आवद्ध छन् । निजी मेडिकल एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक सुरेश कनौडिया गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारै बनेका थिए । कनोडिया पनि स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरका उम्मेदवार थिए । दलकै आडमा भएर नियमकानुन तोेडेर कलेजले रकम असुलिरहेको छ ।

कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि नेपालगन्ज मेडिकल कलेजविरुद्व बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परेको छ । कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीको उजुरी आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । बढि शुल्क माग गरेपछि उनीहरूले निर्धारित शुल्कमै भर्ना हुन पाउनुपर्ने माग गर्दै प्रशासन कायाृलयमा उजुरी दिएका हुन् ।

सरकारले निर्धारण गरेभन्दा इन्टर्नसिपका लागि दुई लाख र सेक्युरिटी डिपोजिटका लागि एक लाख गरी थप तीन लाख कलेजले मागेपछि विद्यार्थीले प्रशासनमा उजुरी दिएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र विसं २०७६÷०७७ का लागि चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस)मा उपत्यकामा ४० लाख २३ हजार २५० रुपैयाँ र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको थियो ।

शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसिप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क मागिएको गुनासो विद्यार्थीको छ । चिकित्सा शिक्षा संघर्ष समितिले विगतका सम्झौता कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क मागेको जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । संघर्ष समितिका संयोजक डा मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले चेतावनी दिए ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०९:३१