सूचनाको शक्ति - The Power Of Information

        

‘कोरोना’ले निम्याउँदै आर्थिक मन्दी

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै जोखिममा पर्ने देखिएको छ । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वकै सबैभन्दा ठूलो व्यापारिक मुकुकको रूपमा रहेको चीनमा फैलिएको यो सङ्क्रमणले अर्थतन्त्रलाई नकारात्मक रूपमा असर पार्न सुरु भइसकेको छ ।

यो सङ्क्रमणको प्रभाव बढ्दै जाने हो भने यसले विश्व अर्थतन्त्रमा मन्दी निम्तिन सक्ने आँकलनसमेत गरिएको छ । डिसेम्बर ३१ तारिखका दिन चीनको वुहान प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण देखियो । अहिले करिब ५ हप्ताको अवधिमा यो भाइसरको सङ्क्रमण १८ हजार मानिसमा फैलिसकेको छ । यो अवधिसम्म करिब ३५० जनाको मृत्युसमेत भइसकेको छ ।

अहिले यो भाइरस २ दर्जन मुलुकमा फैलिएको समेत बताइएको छ । भाइरसको सङ्क्रमणलाई थप फैलन नदिन अमेरिकी, युरोपेली र एसियाली मुलुकहरुले समेत चीनसँग हुने व्यापारिक र पर्यटकीय साझेदारी करिब करिब बन्द गरेका छन् । यिनै कारणले अन्ततः विश्व अर्थतन्त्रलाई नै मन्दीमा लैजाने विज्ञहरुले अनुमान गरेका हुन् ।

अहिले विश्वमा कोरोना भाइसरको सङ्क्रमणको प्रभाव यति धेरै छ कि यसले विश्वका कतिपय चर्चित मुद्दाहरुलाई समेत ओझेलमा पार्यो । शनिबार मात्रै बेलायतले युरोपेली युनियन परित्याग गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव अघि बढिरहेको छ । तर ती समाचारहरु यसको अगाडि फिक्का भइरहेका छन् ।

के के हुँदैछ ?

कोरोना भाइरसको प्रकोपपछि अहिले विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन अवस्थाको घोषणा र्गयो । योसँगै चीनलाई विश्वभरबाट ‘एक्ल्याउने’ क्रम सुरु भएको छ । वालस्ट्रिट जर्नल लेख्छ, ‘यो वर्षको सुरुदेखि नै चीनसँगको व्यापार घट्न सुरु भएको छ । अमेरिका, युरोप र एसियाली मुलुकका सरकार चीनबाट आएका आगन्तुकलाई रोक्न नयाँ नियम लागू गरिरहेका छन् ।

अमेरिकी विमान कम्पनीहरुले हालै मात्र चीनसँगको उडान रोके, अमेरिकी नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन् । सिङ्गापुरले पनि चीनबाट आउने पर्यटकमाथि प्रतिबन्ध लगाएको छ ।’ अहिले चिनियाँ सामान उपयोग गर्दासमेत कोरोना भाइरसको सङ्क्रमण हुन्छ भन्ने मानसिकता बन्न थाल्यो । त्यसैले नयाँ वर्ष मनाउन स्वदेश गएकाहरु फर्किएका छैनन् ।

चीन गएकाहरुलाई अर्को देश जान रोक लगाइएको छ । यही कारण थाइल्यान्डले आफ्नो आर्थिक वृद्धिको लक्ष्यलाई समेत घटाएको छ । उसले यो वर्ष २० लाख पर्यटक घट्नसक्ने र १.६ बिलियन डलर आम्दानी गुम्नसक्ने प्रक्षेपणसमेत गरेको छ । कोरोनाकै कारण अहिले चीनमा रहेका बहुर्राष्ट्रिय कम्पनीहरुले अस्थायी रूपमा आफ्नो कारखाना र सामान प्रदर्शनी तथा बिक्री गर्ने आउटलेटहरु समेत बन्द गरेका छन् ।

विश्वचर्चित इलेक्ट्रोनिक कम्पनी एप्पलले वुहानमा रहेको आफ्नो कारखाना फेब्रुअरी महिनासम्मका लागि बन्द गर्ने घोषणा गरेको छ । यही कारणले १० हजारभन्दा बढी बेरोजगार भएका छन् । वुहान नै चीनको त्यो ठाउँ हो जहाँबाट कोरोना भाइरसको उत्पत्ति भएको थियो ।

कसरी निम्तन सक्छ मन्दी ?

आपूर्ति शृङ्खलामा भएको अवरोध र पर्यटन क्षेत्रमा देखिएको निराशाका कारण अहिले विश्व अर्थतन्त्र मन्दीमा जानसक्ने आँकलन गरिएको हो । त्यसमाथि यो वर्ष चीनको आर्थिक वृद्धिदर निकै तल आउनसक्ने प्रक्षेपण गरिएको छ । यसको ‘रिप्पल इफेक्ट’ पनि विश्व अर्थतन्त्रमा पर्ने विश्लेषकहरुले अनुमान गरेका छन् । यसले मन्दीलाई थप बढाउनसक्ने उनीहरुको तर्क छ ।

अहिले विश्वको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक चीन नै हो । सन् २०१९ को ११ महिनामा मात्रै चीनले ४.१४ ट्रिलियन अमेरिकी डलर बराबरको व्यापार गरेको थियो । चीनले तयारी सामान मात्रै विश्व बजारमा पठाउँदैन । अमेरिकी, युरोपेली र कतिपय एसियाली राष्ट्रमा रहेका बहुर्रा्ष्ट्रिय कम्पनीहरुको कच्चा पदार्थको निर्यातकर्ता देश पनि चीन नै हो ।

चीनबाट मुख्य रूपमा कृषि तथा पशुजन्य उत्पादन, खाद्यान्न, खनिज, केमिकल, प्लास्टिक, रबर, विभिन्न धातुका सामान, लत्ताकपडा तथा गार्मेन्ट जस्ता सामानको निकासी जसलाई विश्व बजारले उपभोग्य वस्तु र कच्चा पदार्थको रूपमा प्रयोग गर्छन् । चीनबाट निर्यात हुने तयारी वस्तुहरु ठप्प हुँदा एकातर्फ विश्वभरको होलसेल तथा खुद्रा व्यापार रोजगारी गुम्न सक्छ भने अर्कोतर्फ विश्वभरकै आपूर्ति पक्ष कमजोर हुँदा मुद्रास्फीति बढ्न सक्छ ।

उता चीनको कच्चा पदार्थमा निर्भर रहेका मुलुकहरुमा औद्योगिक उत्पादन ठप्प हुनसक्छ । यसको प्रभावस्वरूप औद्योगिक क्षेत्रका मजदुरहरु पनि रोजगारविहीन हुन सक्छन् भने कच्चा पदार्थको मूल्य महँगो हुँदा यसले विश्वकै उत्पादन लागतलाई समेत बढाउन सक्छ । चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता मुलुक पनि हो । सन् २०१८ मा चीनले २४० विलियन डलरको तेल आयात गरेको थियो जसमा रुस, साउदी अरब, अङ्गोला, इराक, ओमन, ब्राजिल, इरान, कुवेत, भेनेजुएला, अमेरिका लगायतका मुलुकहरु छन् ।

चीनको वुहान क्षेत्रमा मात्रै प्रमुख २ वटा तेलका डिपो छन् । ती डिपोबाट हुने कारोबार अहिले बन्दप्रायः छ । तर भाइरसको सङ्क्रमण सुरु भएपछि अहिले तेल उत्पादक राष्ट्रहरुले उत्पादन गरेको तेलको माग नहुने अवस्था सिर्जना भएको छ जसका कारण तेलको भाउमा निरन्तर गिरावट आएको छ । त्यसैकारण तेल उत्पादक राष्ट्रहरुले आकस्मिक बैठक बोलाएका छन् । चीनको मन्दीपछि तेलको मागमा आएको कमी र चिनियाँ मुद्रा कमजोर हुने भयले अहिले सुनको माग उच्च भइरहेको छ ।

जसका कारण अमेरिका–इरान युद्धको बेलाजस्तै अहिले सुनको भाउले नयाँ रेकर्ड राखेको छ । यसले गर्दा विश्व बजारमा अस्थिरताको सङ्केत बजारमा देखिन थालेको छ । सोही अस्थिरताका कारणले विश्वभरकै अन्तर्रा्ष्ट्रिय स्टक बजारहरु सबै राता भएका छन् । आर्थिक मन्दी भनेको व्यापार, रोजगारी र उपभोको स्तरमा आउने सुस्तता हो । यो अर्थतन्त्रको माग र आपूर्ति पक्षको असन्तुलनका कारण निम्तन्छ । चीनको मन्दीले अहिले माग र आपूर्ति पक्ष दुवैलाई असन्तुलित बनाउने खतरा छ ।

चीनबाट जति तयारी वस्तुहरु बाहिर जान्छन्, यो सङ्क्रमण रहिरह्यो भने जान सक्दैन, यो आपूर्ति पक्षको असन्तुलन हो । चीनमा जति वस्तुहरु आयात हुन्थ्यो त्यो पनि यो अवस्थामा हुन सक्दैन, यो माग पक्षको असन्तुलन हो । अर्थतन्त्रको एउटा क्षेत्रमा देखिएको सुस्तता र सङ्क्रमण अर्को क्षेत्रमा फैलँदै जाँदा यस्तो मन्दी सुरु हुन्छ । बजारमा ससाना असन्तुलनहरुलाई बजारले नै सुल्झाउँछ । तर जब त्यसलाई बजार आफैँले सुल्झाउन सक्दैन तब त्यसले अर्थतन्त्रलाई नै असर गर्न थाल्छ । अहिलेको अवस्था निरन्तर रहिरहे यसलाई विश्व अर्थतन्त्रले धान्न सक्दैन कि भन्ने अनुमान विश्लेषकहरुले गरेका हुन् ।

के भन्छ चीन ?

चीन भने कोरोना भाइरसको बारेमा गरिएका प्रचारहरु ‘अतिरञ्जित’ भएको बताउँदै आएको छ । उसले अमेरिकी विमान कम्पनीहरुले चीन उडानमा लगाएको रोकप्रति आक्रोश व्यक्त गरेको छ । ‘अहिले चीनका बारेमा धेरै भ्रम फैलाइएको छ । हामीले कोरोना भाइरसको सङ्क्रमण रोक्ने सक्दो प्रयास गरेका छौँ । हामीले कोरोनाकै उपचारका लागि एक सातामै हजार शैय्याको अस्पताल बनायौँ,’ चिनियाँ अधिकारीहरुको भनाइ उद्धृत गर्दै वालस्ट्रिट जर्नल लेख्छ । अहिले कोरोना भाइरस सङ्क्रमितको मृत्युदर २ प्रतिशत मात्रै भएको र उसले यो सङ्क्रमण केही समयका लागि मात्रै रहने उसको दाबी छ ।

तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु के दाबी गर्छन् भने चीनले जाडोयामको बिदाइको पर्खाइमा छ जससँगै कोरोनाको पनि बिदाइ होस् । १५ वर्षअघि सार्स नामक सङ्क्रमणले यसैगरी चीनलाई हल्लाएको थियो । त्यो स्वास प्रश्वाससँग सम्बन्धित नै रोग थियो । विश्लेषकहरुले कोरोनाकै कारण यो वर्षको पहिलो त्रैमासमा चीनको आर्थिक वृद्धि २ प्रतिशतमा सीमित हुने दाबी गर्दै आएका छन् । यो वर्षको आर्थिक वृद्धि पनि घटेर ४ प्रतिशतमा झर्नसक्ने उनीहरुको अनुमान छ ।

 

#वालस्ट्रिट जर्नल

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १०:२९