बझाङ । बझाङ सदरमुकाम चैनपुरभन्दा अलि तल देउरा बजार आउँछ । देउरा बजारको अलि पछाडि टिनको सानो छाप्रो छ । त्यही छाप्रोको बाहिरतिर सधैंजसो एकजना करिव ६५ बर्षिय वृद्ध दिउँसोतिर घाममै पल्टिएका भेटिन्छन् । घर परिवारबाहेक कसैले चासो नदेखाएका उनी आफ्नै निवासमा देउरा बजारको झप्रोमा उनका परिवारका सदस्य मात्रै थिए, उनले बोल्दा बुझिदैन्थ्यो ।
सधैं बाहिरै पल्टिरहने उनले पकपक गरेर भने, ‘मेरो नाम ओलकबहादुर राइ हो । म चार बर्षदेखि प्यारालाइसिसको बिरामी छु, उठ्न सक्दिन ।’ उनकी श्रीमतीले निर्मला राइले मजदुरी गर्न रामेछापबाट बझाङ आइपुगेको बताइन् । उनले भनिन्, ‘हाम्रो पुर्ख्यौली घर रामेछाप हो । हामी सडकको काम गर्दागर्दै बझाङ आयौं । बझाङ आएको पनि ४० बर्ष भएछ, यहि टहरामुनि बसेका छौं । बुढालाई बिरामले च्यापेको पनि चार बर्ष भइसक्यो ।’
श्रीमति निर्मलाको कुरा सकिन नपाउँदै ओलकले भने, ‘छान्ना सडक खण्डमा काम गर्दा राती सुतेको थिए, शौचालय जाँदा सिढीबाट लडे, त्यसपछि मलाई बोकेर धामीझाँक्री कहाँ लिए, तर ठिक भएन । सञ्चो नभएपछि थप उपचारका लागि बुटवल गए, प्रसा सकियो, निको भएन ।’ पहिले एउटा खुट्टामा मात्रै देखिएको समस्या पुरै शरीरभरी फैलिएको ओलकले बताए । ओलकले भने, ‘अहिले पुरै शरीर नचल्ने भएको छ, उठ्न पनि सक्दिँन ।’
प्यारालाइसिस रोगबाट ओलकमात्रै होइन उनकी छोरी लक्ष्मी पनि उसैगरी थलिएकी छन् । ओलककी श्रीमति निर्मलाले भनिन्, ‘जुम्ल्याहा बच्चा जन्मिएका थिए, एउटा गर्भमै खेर गयो, एउटाकोे खुट्टा नचल्ने भएको छ । छोरी लक्ष्मीको बाल्यकालदेखि नै खुट्टामा सङ्क्रमण भएकी लक्ष्मी १४ बर्षको उमेरसम्म उपचार अभावमै थलिएकी छन् । आर्थिक समस्याले ओलकको परिवा थलिएको छ ।
आर्थिक अभावकै कारण बुवा ओलक र छोरी लक्ष्मीको उपचारमा समस्या भएको छ । ‘उपचार गर्ने रकम नै छैन । पैसा भए पो उपचार गर्नु, उपचारका लागि आर्थिक रकम नै नभएपछि मेरो श्रीमान् र छोरी मृत्यु कुरेर बसेका छन्,’ ओलककी श्रीमति निर्मलाले भनिन् । त्यसो त उनीहरु कसैसँग अहिलेसम्म नेपाली नागरिकतासमेत छैन । नागरिकता नभएकै कारण ओलकको परिवार सरकारी सेवा सुविधाबाट समेत बञ्चित भएको छ ।
ओलककी श्रीमति निर्मलाले भनिन्, ‘अहिलेसम्म हाम्रो नागरिकता छैन । एक बर्षअघि रामेछापमा नागरिकता बनाउन जाँदा भारतीयले नागरिकता बनाएको भनेर हामीलाई नागरिकता बनाउन दिइएन । सरकारले हामीलाई नागरिकता दिएन ।गरिबहरुको कोही पनि हुँदैन भन्थे, यो देशमा हाम्रा लागि सरकार नै छैन ।’ त्यसो त उनीहरुको रामेछापमा घर जग्गा छ । तर, घरसम्म पुग्नकै लागि उनीहरुसँग रकमसमेत छैन ।
‘घर जाने त मन थियो, तर, परिवार पाल्ने खर्च छैन, कसरी घर जाउँ ? ओलकले गहँभरि आसु पार्दै भने, ‘उपचार पाएपछि केहिदिन बाँच्छु कि लागेको थियो । चार बर्षसम्म यस्तै थलिएको छु । अहिले त कालले मलाई पर्खिएजस्तो लाग्छ । छोरीको उपचार भइदिए पनि हुने थियो । मैले त उपचार पाउन सकिन, पैसा नभएर कलिलै उमेरमा छोरी पनि उपचार नपाएर मृत्यु कुरिरहेकी छ ।’ ओलकलाई आफ्नोभन्दा छोरी विरामी भएकोमा धेरै चिन्तित छन् ।
श्रीमति निर्मलाले भनिन्, ‘जंगलको जडिबुटी ल्याएर खुट्टा र शरीर सेक्छु । जडिबुटी ल्याउनेलाई समेत तिर्ने पैसा छैन । शरीर दुखेर रातभर श्रीमान् र छोरी सुत्दैनन् ।’ उनका एक छोरी र दुई छोरा छन् । जेठो छोरा मजदुरी गर्न अन्यत्रै गएका छन् । निर्मला भन्छिन्, ‘कान्छो छोराले गरेको मजदुरीले हामी पालिएका छौं । नेपालको संविधानमा स्वास्थ्य उपचारको हकको व्यवस्था भए पनि ओलक र लक्ष्मीजस्ता असहाय र गरिबहरु उपचार नपाएरै मृत्यु कुरेर बसिरहेका छन् ।
सत्यराज सिंह ।