सूचनाको शक्ति - The Power Of Information

        

मास्क अभाव भएपछि सात दिनमै बेइजिङमा खुल्यो नयाँ उद्योग

एजेन्सी । यसअघि चीनले कोरोना भाइरस संक्रमितहरुका लागि ६ दिनमै एक हजारभन्दा बढी बिरामी अटाउन सक्ने अस्पताल निर्माण गरि विश्वलाई चकित पारेको थियो । यसैगरी देशभर फेस मास्कको पनि अत्यधिक अभाव भएपछि बेइजिङले केबल सात दिनमै नयाँ उद्योग निर्माण गरि फेरि पनि सबैलाई अचम्मित पारेको छ ।

चिनियाँ सरकारले यसअघि कोरोना प्रकोपविरुद्ध लड्न कुनै कसर नछाडिने वचन दिएको थियो । उक्त उद्योगले एक महिनामा करोडसम्मको मास्क उत्पादन गर्न सक्ने बताइएको छ । शनिबार मात्र उद्योगको काम सुरु भएको हो जुन सात दिन अगाडि प्रस्ताव गरिएको थियो । दक्षिणपूर्वी बेइजिङमा अवस्थित सो उद्योगले भाइरसविरुद्ध बढ्दो मास्क अभाव पूरा गर्ने क्षमता बढाउन सक्ने बताइएको छ ।

यसमा एउटा मेडिकल डिभाइस कम्पनीसँग आपत्कालीन मास्क उत्पादनका लागि सबै उपकरण भए पनि त्यसको सञ्चालनका लागि उद्योग चाहिँ नभएको बताएको थियो । त्यसैले शुन्यदेखि सुरुवात गर्नुको सट्टा पहिले नै भएका उपकरणहरु प्रयोग गरि नयाँ उद्योग निर्माण गरिएको हो । मास्क उत्पादनका लागि सफा हावाको उच्च गुणस्तर हुन आवश्यक रहेकाले पनि बेइजिङसँग थोरै विकल्प मात्र थियो भने समय पनि कम भएकाले तुरुन्तै उद्योगको काम सुरु गरिएको चिनियाँ राष्ट्रिय सञ्चार सिजिटिएनले जनाएको छ ।

यसअघि चीनमा एकैदिन २० करोडसम्मको मास्कको माग आइरहेको खबर गरिएको थियो जुन कारोना संक्रमण फैलनुपूर्व दैनिक चार लाखसम्ममा सिमित रहने गर्दथ्यो । यस्तोमा गत हप्तामात्र चीनले सात दिनमै ५ करोड ६२ लाख मास्क आयात गरेको हो । यसअघि चिनियाँ उद्योगका कामदारहरुले बिदाको समयमा पनि ओभरटाइम काम गरि मास्कको माग धान्ने प्रयास गरिरहेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०७:३९