सूचनाको शक्ति - The Power Of Information

        

थाई चिकित्सकको दावी, ‘कोरोना भाइरसको औषधी फेला पार्‍यौं’

एजेन्सी । थाइल्याण्डका चिकित्सकले आफूहरुले बुहान कोरोना भाइरसबाट संक्रमित भएकी एक बिरामीलाई सफलतापूर्वक निको पारेको बताएका छन् । तिनले विभिन्न भाइरसको उपचारमा अहिले नै उपलब्ध औषधीलाई मिसाएर खान दिँदा बिरामीलाई सन्चो भएको जानकारी दिए ।

बैंककस्थित राजाभिथी अस्पतालका चिकित्सक डा.क्रियाङसक एतीपोर्नवानिचले अस्पतालमा उपचार गर्न चीनबाट आएकी एक ७१ वर्षे महिला भाइरसमुक्त भएको जानकारी दिए । डा.क्रियाङसकका अनुसार ती किरामी महिलालाई एचआईभीको उपचारमा प्रयोग हुने औषधी र फ्लू हुँदा खाइने औषधिको मिश्रण दिइएको थियो ।

‘म अत्यन्त जटिल अवस्थामा रहेकी बिरामीको उपचारमा संलग्न थिएँ र परिणाम सकारात्मक आएको छ । ४८ घण्टाभित्रै बिरामीको स्वास्थ्य अवस्थामा तिव्र सुधार भएको छ र परीक्षणको परिणाम पनि ४८ घण्टाभित्र पोजिटिभबाट नेगेटिभमा फेरिएको छ,’ डा.क्रियाङसकले भने । अस्पताल प्रशासनले यो खबर सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन नै आयोजना गर्‍यो ।

पत्रकार सम्मेलनमा अस्पतालका अधिकारीले निको भएको बिरामीको स्वास प्रणालीमा अहिले कुनै भाइरस नदेखिएको बताए । उता, बेइजिङका अस्पतालहरुले केही बिरामीलाई एचआईभी उपचारमा प्रयोग हुने औषधी दिएर निगरानी गरिरहेको थिए । तर यसले परिणाम बाहिर आएको छैन ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १४:१८